भक्तपुरमा सलह फाट्टफुट्टमात्रै
क्तपुर : काठमाडौं उपत्यका प्रवेश गरेको सलह भक्तपुरमा फाट्टफुट्टमात्रै देखिएका छन् । भक्तपुरका चारवटै नपामा सलह देखिएका छन् तर कतैबाट पनि क्षति भएको जानकारी नआएको कृषि ज्ञान केन्द्र भक्तपुरका प्रमुख निर्मल गोडारले जानकारी दिए ।
उनका अनुसार भक्तपुरको आकाशमा सलहको झुण्ड भने देखिएको थियो । उक्त झुण्डले सूर्यविनायक भएर उडान भरेको उनको भनाइ थियो । उनले हावाको गति कम भएको र वर्षा भएको कारण भक्तपुरमा फाट्टफुट्टमात्रै सलह कीरा देखिएको हुनसक्ने अनुमान लगाए ।‘भक्तपुरमा पनि सलह देखिएको छ तर फाट्टफुट्टमात्रै’, प्रमुख गोदारले भने, ‘यहाँका चारवटै नपामा सलह देखिए पनि क्षति भएको भन्ने जानकारी आएको छैन ।’
उनका अनुसार भक्तपुरको आकाशबाट उडान भरेको सलहको झुण्ड काठमाडौंको टोखास्थित झोर महाँकाल जंगलतर्फ लागेको छ । उनले सलहबाट हुने क्षतिको सम्भावना नटरेकाले चारैवटा नपाका कृषि शाखा प्रमुखहरुको उपस्थितिमा बैठक बसी सलह कीराबाट हुने क्षतिविरुद्ध प्रतिकार्य गर्ने निर्णय भएको जानकारी दिए ।‘सलहले गर्ने क्षतिको रोकथाम गर्न नगरस्तरीय प्रतिकार्य समूह गठन गर्ने निर्णय गरेका छौं’, उनले थपे, ‘उक्त प्रतिकार्य समूहले नै सलह कीरा नियन्त्रण तथा रोकथामको कार्य गर्नेछ ।’
उनका अनुसार सलह कीरा देखिए पनि भक्तपुरमा आत्तिहाल्नुपर्ने अवस्था छैन तर त्यसलाई नियन्त्रण गर्न पूर्वतयारी भने गर्नुपर्छ । सलह साधारण फट्यांग्र्रा प्रजातिभित्रै पर्दछ । कृषि प्राविधिकहरुका अनुसार यसका सिंग छोटा हुन्छन् । यसको पछाडिका खुट्टा बलिया र मोटा हुन्छन् । यो कीरा समूहमा बस्न मन पराउने भएकाले क्षति पनि धेरै हुने उनीहरुको भनाइ छ । सलह कीरा लामो समयसम्म हावामा उड्न सक्ने बताइन्छ । सलहले एक ठाउँबाट अर्को ठाउँ गर्दै त्यहाँ भएका सम्पूर्ण हरियो वनस्पतिहरु छोटो समयमा नै सखाप पारी खाइदिन्छ । एक दिनमा लगभग १३० किलोमिटरसम्म हुल बनाएर सलह हिँड्ने बताइन्छ ।
संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनको तथ्याङ्कअनुसार साधारणतया एउटा सलहले प्रतिदिन दुई ग्रामसम्म खान सक्छ । एक किलोमिटरको हुलमा हुने सलहको करिब चारदेखि आठ करोड संख्याले ३५ हजार जनालाई एक दिनमा पुग्ने खाना नष्ट गर्न सक्ने उक्त संगठनले भनेको छ ।