हिमाली क्षेत्र जोमसोममा पनि देखियो सलह किरा
जोमसोम : भारतको विभिन्न प्रान्त हुँदै नेपाल भित्रिएको सलह किरा हिमालमा पनि पसेको छ । केही दिनअघि तराई हुँदै पहाडी इलाकामा भित्रिएको सलह किरा बुधबार दिउँसो मुस्ताङको जोमसोम क्षेत्र प्रवेश गरेको छ ।
दक्षिण हावाको प्रभावसँगै फट्याङग्रा प्रजातीको सहल किरा यसअघि मुस्ताङको थासाङक्षेत्र प्रवेश गरेको थियो । त्यसको दोश्रो दिन मुस्ताङ सदरमुकाम जोमसोमक्षेत्रको आकाशमा देखिएको जोमसोमका स्थानीय नरेन्द्र तुलाचनले जानकारी दिए । करिव ५ सयभन्दा बढी सलहको झुन्ड जोमसोमको आकाशमा मडारियो दृष्य आफूले देखेको बताए । जोमसोमको उच्च हावाको रफ्तारले सलह अनियन्त्रित भइ आकाशमा भौतारिएर कतिपय बस्तीमाथि खस्न पुगेको उनको भनाइ थियो ।
जोमसोममा बुधबार सलह किरा बस्तीमै प्रवेश गरेपछि स्थानीयले रुचिपूर्वक नियालेको अर्का स्थानीय प्रवेश तामाङले बताए । जोमसोममा अन्नवाली भएको खेतबारी छोडेर जोमसोमको घरघरको छतमाथि बसेको उनले सुनाए । अनुकुल हावापानीको अभावमा जमिनमा खस्दा शिथिल जस्ता देखिने सलह हातमा समातेर फोटो खिच्नेको पनि तछाडामछाड देखिन्थ्यो ।
पहिलो दिन थासाङ र दोश्रो दिन घरपझोङ जोमसोम आइपुगेका सलह क्रमशः उकालो उक्लदै गरेको थासाङ गाउँपालिकाका कृषि संयोजक रामशरण सापकोटाले जनाए । उनका अनुसार छिमेकी जिल्ला म्याग्दीका विभिन्न भाग हुँदै सलह किरा मुस्ताङ पसे पनि त्यसले कृषकको बालीनालीलाई असर नपुर्याएको बताए । मंगलबार दिउँसो करिव १२ बजेदेखि ४ बजेसम्म सानो बगालमा सलह किरा मुस्ताङको थासाङको सिर्कुम, टिटी, लेते, छयो, घाँसा र ताक्लुङ गाउँहरुमा देखा परेको जानकारी दिए । तर थासाङको तल्लो क्षेत्रमा सलह आए पनि कोवाङदेखि माथि उक्लन नसकेको गाउँपालिकाका कृषि संयोजक सापकोटाले उल्लेख गरे ।
थासाङ गाउँपालिका—५ का वडाध्यक्ष सोमल हिराचनले मंगलबार मध्यान्हको समयमा पातलो मात्रामा सलह बथान खेतबारीमा भित्रिएको जानकारी दिए । उनले चिसो मौसम भएको हिमाली जिल्ला मुस्ताङमा तापक्रम बढी भएको स्थानबाट प्रवेश गर्दा आश्चार्यमा परेको हो । यस्तै रुपमा ठुलो मात्रामा सलह प्रवेश गरे मुस्ताङको स्याउ, मकै, उवा लगायतका रैथाने बालीलाई क्षति पु्र्याउन सक्ने उनको भनाइ छ । उनले सलह किराको पुर्याउने क्षति बारे स्थानीय तहले सजगता अपनाउन आवश्यक भएको बताए ।