चार इन्जिनियर अढाई लाख घुसहित पक्राउ
काठमाडौं : खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्र सुन्दर मल्लसमेत ४ जना घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २ लाख ४१ हजार १६ रुपैयाँ घुससहित उनीहरुलाई पक्राउ गरेको हो।
भगवतीमाई गाउँपालिका-३ सानटडा खोला तटबन्धन निर्माण कार्य सम्पन्न भए पश्चात भुक्तानीमा सहजिकरण गरिदिने भन्दै खानेपानी कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख मल्ल र सवइन्जिनियर विरेन्द्र चन्दले सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीको आधारमा स्ट्रिङ अप्रेसन गर्दा चारै जना पक्राउ परेका हुन्।
प्रमुख मल्ललाई कार्यालय परिसरबाट र सवइन्जिनियर वीरेन्द्र चन्दलाई कार्यस्थलबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। उनीहरुलाई पक्राउ गरेपछि खानतलासी गर्ने क्रममा प्रमुख मल्लको आवासबाट त्यो रकम बरामद भएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालले जानकारी दिए। यस सम्बन्धमा अनुसन्धानको सिलसिलामा सवइन्जजिनियर रन्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डेसमेत गरी नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।