‘सुरक्षा बिथोल्ने समूह सक्रिय छ’
ललितपुर : प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले यतिबेला मुलुकको सुरक्षामा खलल पुर्याउने समूह सलबलाएको बताएका छन्। बुधबार प्रहरी परिसर ललितपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन।
पुननिर्माण प्राधिकरणको सहयोगमा करिब साढे आठ करोडमा बनेको २४ कोठे भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ‘मुलुकको शान्ति सुरक्षामा खलल पुर्याउने केही समूहको गतिविधि सलबलाएको छ’, कार्यक्रम बोल्दै ज्ञवालीले भने, ‘मुलुकाको विकास र नेपालीको भविष्यलाई अन्धकार तिर धकेल्न खोज्ने तत्वलाई छिन्नभिन्न बनाउनुपर्छ।’
उनीहरुको गतिविधिलाई जसरी पनि निस्तेज पार्ने र छिन्नभिन्न बनाउन जरुरी रहेको बताए। प्रहरीले विध्वंसात्मक गतिविधिमा आवद्धलाई नियन्त्रणमा लिएको र ठूलो मात्रामा बिस्फोट पदार्थ जफत गरेको पनि बताए। उनले भने ‘कुनै पनि आवरणमा गरीएका यस्ता गतिविधि मान्य हुने छैनन्।’
साथै प्रहरीले जनताको सेवामा अहोरात्र खटिनुपर्ने मुलुकको समृद्धिका लागि सुरक्षा अपरिहार्य भएको बताए। आफ्ना काममा खटीएको बखत ८० भन्दा धेरै प्रहरीलाई कोरोना संक्रमण भएको र केही निको भइसकेको बताए।
त्यस्तै मेट्रो प्रमुख विश्वराज पोखरेलले प्रहरीले १७ देखि १८ घन्टा खाली पेट ड्युटीमा रहेर काम गरे पनि सुत्ने ठाँउ समेत नराम्रो भएको बताए। धेरै प्रहरी कार्यालयहरुमा शौचालय, बाथरुमको उचित व्यवस्थापन नभएको गुनासो गरे। यसका लागि स्थानीय तथा प्रदेश सरकारसग सहयोगको अपेक्षा गरेको बताए।
परिसरका प्रमुख टेकप्रसाद राईले भवन २४ कोठाको बनेको बताए। २०७४ सालमा सम्झौता भएर हालै निर्माण सम्पन्न भएको उनको भनाइ छ।