अछामका ४४ जनाले जिते कोरोना
अछाम : अछाममा हालसम्म ४४ जनालाई कोरोना निको भएको छ। स्वास्थ कार्यालय अछामका सुचना अधिकारी देव जोशीका अनुसार जिल्लाका दुई बयलपाटा अस्पताल, जिल्ला अस्पताल र स्थानीयतहका आइसोलेसन रहेका ४४ जना कोरोना निको भएर घर फर्किएका हुन्।
अस्पतालमा आइसोलेसन बेड संख्या कम भएका कारणले संक्रमितलाई स्थानीयतहले बनाएका क्वारेन्टाइनमै राख्ने गरिएको जोशीले बताए। अछाममा हालसम्म ३ सय १३ जनामा कोरोना देखिएको छ। बिहीबार ३७ जनामा कोरोना पुष्टि भएसँगै सक्रमितको संख्या ३ सय १३ पुगेको हो।
दुईजना वडा अध्यक्ष र एकजना स्वास्थकर्मीमा समेत कोरोना पुष्टि भएको छ। स्वाब संकलन र क्वारेन्टाइन व्यवस्थापनमा जुटेका स्वास्थकर्मी र वडाध्यक्षमा कोरोना देखिएको हो। स्वास्थ कार्यालय अछामका जिल्लाका दश वटा स्थानीयतहमध्ये सबैभन्दा बढी ८६ जना संक्रमित रामारोशन गाउँपालिकामा रहेका छन् । त्यसैगरी साँफेबगर नगरपालिकामा ८५, मेल्लेख गाउँपालिकामा ६२, मंगलसेन नगरपालिकामा ३३, चौरपाटी गाउँपालिकामा २५, कमलबजार नगरपालिकामा ६, पञ्चदेवल बिनायक नगरपालिकामा ६, तुर्माखाँद गाउँपालिकामा ५, बान्नीगढी जयगढ गाउँपालिकामा ४, र ढकारी गाउँपालिकामा १ जना संक्रमित रहेका छन्।
जिल्लाका विभिन्न क्वारेन्टाइनमा १ हजार ३ सय २ जना रहेका छन्। जिल्लाबाट हालसम्म २८ सय १३ जनाको पीसीआरका लागी स्वाब संकलन गरी पठाइएकोमा १५ सय ९६ जनाको रिर्पोट आएको छ। त्यसमध्ये ३ सय ७ जनाको रिर्पोट पजिटिभ आएको स्वास्थ कार्यालय अछामले जनाएको छ।