असारे विकासको हतारोले बालकको ज्यान गयो

असारे विकासको हतारोले बालकको ज्यान गयो

राजविराज : असारे विकासको हतारोले सावधानी नअपनाइ विकास निर्माणको काम गर्दा भत्किएको घरले किचेर सप्तरीमा बिहीबार एक बालकको मृत्यु भएको छ । सडकमा माटो सम्याउने र बसाउने काम गरिरहेको रोलरको कम्पनले खडक नगरपालिका–१ सिस्वामा अचानक एक घरको पर्खाल लडेर बालक च्यापिंदा स्थानीय ८ वर्षीय उमेश मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

    
असारको अन्तिम समयमा नगरपालिकाकै रोलर र स्काभेटर प्रयोग गरी हतार–हतार काम गर्न खोज्दा सामान्य सावधानी पनि नअपनाएकोले बालकको ज्यान गएको भन्दै स्थानीयवासीले वडा अध्यक्ष सिंहेश्वर मण्डलसहित उपभोक्ता समितिका पदाधिकारीलाई कारवाही गर्न माग गर्दै प्रदर्शन गरेका छन् । घटनास्थलमै बालकको शव राखी प्रदर्शन गरिरहेका स्थानीयवासीले खडक नगरपालिकाबाट लापरवाहीयुक्त काम भएकोले वडा अध्यक्ष, उपभोक्ता समितिका पदाधिकारीमाथि समेत कडा कारवाही गर्न माग गरेका हुन् । 
    
स्थानीयवासीले अति कम्पन दिने भ्याब्रेटर रोलर बस्तीमै चलाउँदा सर्वसाधारणलाई सूचित नगरेको र बालक च्यापिंदासमेत मजदुरले वास्ता नगरेको बताए । वडा अध्यक्ष मण्डलले मजदुरी काम गर्ने नजिकका मान्छे छविल मण्डललाई ३० लाखको आरसीसी सडक ढलानको योजना दिएर सुरुदेखि नै लापरवाही गर्दै आएको स्थानीय वृजनारायण साहले आक्रोश व्यक्त गरे ।
    
काम गर्ने बेलामा उपभोक्ता समितिका जिम्मेवार पदाधिकारी कोही पनि उपस्थित नरहेको र काममा खटाइएका चालक, मजदूरहरुले समेत पर्खाल भत्किएर बालक च्यापिँदा वास्ता पनि नगरेको स्थानीयवासीले बताए । रोलर मेसिनको कम्पनको असरका कारण वर्षायाममा पानीले भिजेर कमजोर बनेको पिलर नभएको घरको पर्खालको गारो भत्किएर बालकमाथि नै खसेको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेकटर रामराजा केशरीले बताए ।
    
प्रदर्शनकारीले कारवाही र क्षतिपूर्तिको माग राखी शव उठाउन नदिएपछि घटनास्थलमा ठूलो सङ्ख्यामा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय कडरवोना, इलाका प्रही कार्यालय कल्याणपुर र सशस्त्र प्रहरीको टोली पुगेको छ । चालकलाई पक्राउ गरी हदैसम्मको कारवाही गर्ने र अन्य आवश्यक प्रक्रियाको लागि पहल गर्ने बताए पनि प्रदर्शनकारीले वडा अध्यक्ष मण्डल र उपभोक्ता समितिका अध्यक्ष मण्डललाई पक्राउ गरी कारवाही  हुनु पर्ने अडान राखिरहेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.