मुस्ताङमा टिपर दुर्घटना : चालक र सहचालक गम्भीर घाइते
जोमसोम : मुस्ताङको थासाङ गाउँपालिका—३ मिसीमा बिहीबार टिपर दुर्घटना भएको छ। दिउँसो अन्दाजी ४ बजेको समयमा थासाङ—३ लेते खोलाबाट गिटी लिएर थासाङ—४ घाँसातर्फ जाँदै गर्दा बा ४ ख ५१३६ नम्बरको टिपर बेनी—जोमसोम सडक खण्डबाट करिव एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीका अनुसार गिटी बोकेको टिपर बेनी—जोमसोम मुख्य सडकबाट जंगल तल खस्दा टिपरका चालक तथा सहचालक गम्भीर घाइते भएका छन्। टिपरका चालक धादिङ जिल्ला थार्के गाउँपालिका—४ बस्ने वर्ष २३ का सुजल तामाङ र टिपरका सोही ठेगाना भएका सहचालक वर्ष १९ का समिर तामाङ गम्भीर घाइते भएका हुन्।
घटनापछि जिल्लाबाट प्रहरी नायव उपरीक्षक भट्टराईको कमाण्डमा ७ जनाको टोली, इलाका प्रहरी कार्यालयबाट ४ जनाको टोली र प्रहरी चौकी घाँसाबाट २ जनाको टोली गरी १४ जनाको प्रहरी टोली घटना स्थल पुगी उद्दार गरिएको छ। उनीहरुलाई अहिले लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि भर्ना गरिएको छ। उनीहरुको अवस्था चिन्ताजनक भएकाले थप उपचारका लागि पोखरा रिफरको तयारी भइरहेको जनाइएको छ।
दुर्घटनाका चालक सुजल तामाङको टाउकोमा गम्भीर चोट लागेको छ भने सहचालक समिर तामाङको अनुहार र टाउकोमा गम्भीर चोट लागेको प्रहरीले बताएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।