उजिरसिंह रंगशाला : निर्माण प्रक्रियामै ढिलाइ
रुपन्देही : बुटवलमा निर्माण गर्न लागिएको उजिरसिंह रंगशालाको काम लम्बिएको छ । वातावरणीय प्रभाव मूल्यांकन ईआईएको काम समयमा हुन नसकेपछि फेरि आठ महिना थपिएको छ । बुटवल उपमहानगरपालिकाको कार्यपालिका बैठकले सम्झौताअनुसार गत जेठ मसान्तमा सकिएको ईआईएको म्याद २०७७ माघ १० सम्म थप गरेको छ ।
५ नम्बर प्रदेश सरकारले बुटवल सालघारीमा रहेको जबई मैदानलाई उजिरसिंह रंगशाला बनाउन दुई वर्ष अघिदेखि बजेट विनियोजन गरेको छ । यसअनुसार ईआईए र डीपीआरको जिम्मा बुटवल उपमहानगरपालिकालाई दिइएको थियो । डीपीआर सम्पन्न भए पनि ईआईएको काम अघि बढेको छैन । ईआईएका लागि बुटवल उपमहानगरपालिकाले ग्रिन नेपाल कन्सल्टेन्सी प्रालिसँग गत चैत ५ गते सम्झौता गरेको थियो । सम्झौताअनुसार गत जेठ मसान्तसम्म ईआईएको काम सम्पन्न हुनुपथ्र्यो ।
चैत ११ देखिको लकडाउनले मुलुकभर विकास निर्माणको काम ठप्प छ । अर्कोतर्फ प्रदेशले ईआईएको कानुन पनि ल्याएको छैन । ‘लकडाउनभन्दा पनि प्रदेश सरकारले कानुन नबनाउँदा काम अघि नबढेको हो’, उपमहानगरका सहरी पूर्वाधार विकास महाशाखा प्रमुख सुमन श्रेष्ठले भने, ‘कानुन बन्नेबित्तिकै ईआईएको काम सुरु हुन्छ ।’ ग्रिन नेपालसँग गरिएको सम्झौतामा ईआईएका विषयमा प्रदेश सरकारको कार्यक्षेत्रबारे नीतिगत रूपमा स्पष्ट भएपछि मात्र अध्ययनको काम अघि बढाउने समझदारी भएको श्रेष्ठले बताए ।
ईआईएका लागि प्रदेश सरकारबाट प्राप्त १० लाख रुपैयाँ र उपमहानगरकै पाँच लाख रुपैयाँ गरी १५ लाख रुपैयाँ विनियोजन भएको छ । रंगशाला निर्माणका लागि चालू आर्थिक वर्षमा पाँच करोड रुपैयाँ विनियोजन भएको छ । ईआईएको काम अघि बढ्दा बजेट खर्च हुन सकेको छैन । आगामी आर्थिक वर्ष २०७७÷०७८ मा रंगशालाका लागि चार करोड रुपैयाँ छुट्ट्याइएको छ ।
बुटवलको जबई मैदानमा बन्ने उजिरसिंह रंगशाला निर्माणका लागि करिब ३७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । चारैतर्फ प्याराफिट भएको रंगशाला १२ देखि २० हजार दर्शक अट्ने क्षमताको हुने गरी डिजाइन तयार गरिएको छ । रंगशाला प्रवेशका लागि चारवटा प्रवेशद्वार हुनेछन् । रंगशालाको पश्चिमपट्टि जंगल जितेश्वरी सामुदायिक वन पर्छ । वनको डाँडा र ढिकसहितको भएकाले त्यसैलाई मिलाएर प्याराफिट बनाउने गरी डीपीआर तयार गरिएको छ ।
रंगशालामा मुख्य गरेर फुटबल ग्राउन्ड हुन्छ । यसको बाहिर एथलेटिक ट्र्याक हुन्छ । रंगशाला परिसरमा भलिबल, बास्केटबल, टेनिस कोर्ट, स्विमिङ पुल लगायतका संरचना पनि बन्नेछन् । रंगशालाबाहिर भीआईपी र सर्वसाधारणका लागि छुट्टाछुट्टै पार्किङ स्थल रहनेछ ।