दैलेख प्रयोगशालामा पीसीआर परीक्षण : नौ जनाको रिपोर्ट पोजिटिभ
दैलेख : जिल्लामा पीसीआरमार्फत कोरोना परीक्षण सुरु भएको छ। पीसीआर मेसिन जडान तथा भ्यालिडेसन सफल भएपछि पहिलो परीक्षण गरेर रिपोर्ट आएसँगै पुन परीक्षणका लागि नेपालगन्जस्थित प्रयोगशालामा पठाइएको थियो।
दैलेखमा गरिएको पहिलो परीक्षणको रिर्पोट नेपालगन्ज प्रयोगशालामा पनि उस्तै आएपछि दैलेखकै प्रयोगशालाबाट अन्तिम रिपोर्ट सार्वजनिक गर्नेगरी परीक्षण थालिएको इन्चार्ज शंकर शाहीले बताए। दैलेख र नेपालगन्ज प्रयोगशालामा गरिएको नमुना परीक्षणमा एउटै रिपोर्ट आएपछि दैलेख प्रयोगशालालाई राष्ट्रिय जनस्वास्थ्य टेकुले मान्यता दिएको छ। मान्यता पाएसँगै दैलेख प्रयोगशालाबाटै अन्तिम रिपोर्ट सार्वजनिक भएको छ।
शुक्रबार स्वास्थ्य सेवा कार्यालयले जारी गरेको विज्ञप्तिमा ९ जनाको पीसीआर रिपोर्ट पोजेटिभ देखिएका छन्। एक सय १४ जनाको परीक्षण गरिएकोमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको हो। नारायण नगरपालिकाका–८ र डुङ्गेश्वर गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको कोभिड–१९ फोकल पर्सन थीरप्रसाद रेग्मीले बताए। योसँगै कोरोना संक्रमणको रेड जोन मानिएको दैलेखमा संक्रमितको संख्या ७ सय ८० पुगेको छ। संक्रमितमध्ये ६ सय ८३ जना डिस्चार्ज भएका छन्।
पीसीआर मेसिन नहुँदा दैलेखमा संकलन गरिएको स्वाब परीक्षणका लागि प्रदेश अस्पतालको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाउनुपर्ने बाध्यता थियो। रिपोर्ट आउन ढिलाई हुँदा क्वारेन्टाइन र आइसोलेसनमा बसेकाले आन्दोलन गर्न थालेपछि जिल्लामै पीसीआर ल्याब (प्रयोगशाला) स्थापना गरिएको हो। पशु सेवा अस्पताल तथा पशु सेवा कार्यालय परिसरमा नयाँ भवन निर्माण गरेर झण्डै एक करोड ३० लाख रुपैयाँको लागतमा प्रयोगशाला स्थापना गरिएको हो।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटबाट पीसीआर मेसिन खरिद गरिएको प्रतिनिधि सभा सदस्य रविन्द्रराज शर्माले बताए। निर्वाचन क्षेत्र नम्बर नम्बर १ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगर्त दैलेख बजार– महाबु कालिकोट सडकखण्ड निर्माणका लागि ५ करोड ९४ लाख ६० हजार रुपैयाँ छुट्याइएको थियो। उक्त सडक निर्माणका लागि नारायण नगरपालिकाबाट भएको टेन्डर प्रक्रियाबाट घटाघट हुँदा एक करोड ८ लाख, ८४ हजार ४ सय ४१ रुपैयाँ बचेको थियो। सोही रकमबाट मेसिन खरिद गरिएको नारायण नगरपालिकाले जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल नेपालीका अनुसार झण्डै एक करोड ६ लाख लागतमा मेसिन खरिद गरिएको हो। पीसीआर मेसिन ल्याउन मेडिसोलुसन इन्टरनेशनल प्रालि काठमाडौंले ठेक्का पाएको थियो । ‘माइक्रोपेट्टे प्लस डी–ल्याब’ ब्राण्डको पीसीआर मेसिन १२ घण्टा सञ्चालन गर्दा झण्डै तीन सय जनाको परीक्षण गर्न सकिने क्षमता भएकाले अब यस क्षेत्रका बिरामीलाई सहज हुने बताइएको छ।
पीसीआर प्रयोगशाला स्थापना गर्न भवन निर्माणका लागि पशु सेवा अस्पताल तथा पशु सेवा कार्यालयबाट बजेट व्यवस्थापन गरिएको हो। कार्यालयबाट चालू आर्थिक वर्षमा सञ्चालित योजना र कर्मचारीको तलब भत्ताबाट बचेको रकम रकमान्तर गरेर भवन निर्माण गरिएको कार्यालयका निमित्त प्रमुख भीमबहादुर विष्टले बताए। विष्टका अनुसार २१ लाख ५० हजार रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो।
पर्याप्त पीसीआर किट, भीटीएम र जनशक्ति नभएकाले प्रयोगशाला सञ्चालनमा समस्या सिर्जना भएको छ। अहिले नेपालका अन्य प्रयोगशालामा कार्यरत प्राविधिकलाई काजमा ल्याइएको छ। प्रदेश सांसद अम्मरबहादुर थापाले ल्याबमा जनशक्ति अभाव हुने बताए।'