पहिरोमा पुरिएर दुई जनाको मृत्यु : घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगियो
गुल्मी : गुल्मीको इस्मा गाउँपालिकामा गएको पहिरोमा परेर घाइते भएकालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ। घाइतेहरुलाई सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको हो।
इस्मा-१ हस्तिचौरको मल्दीमा गएको पहिरोमा घाइते भएका २७ वर्षकी इश्वरी खत्री , ६४ वर्षका टीका खत्री, २५ का वसन्त खत्री, २१ वर्षकी सृजना सारु र ९० वर्षकी पुतली खत्रीलाई त्रिवि शिक्षण अस्पताल माहाराजगंज पठाइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए। पहिरोमा पुरिएर वसन्त सारुका १८ महिने बालक सुरज सारु र इश्वरी खत्रीकी ७ वर्षकी छोरी अपेक्षा खत्रीको मृत्यु भएको छ। घर माथिबाट आएको पहिरोले बंगालो बगाएपछि पुरिएर ज्यान गएको हो।
यस्तै, बिहीबारै गएको पहिरोमा मुसिकोट नगरपालिका-२ को हाँडीखोलामा हरिप्रसाद घिमिरेको घुम्तीपसल पहिरोले बगाउँदा अन्दाजी ५५ वर्षीय भागीरथ घिमिरे बेपत्ता भएका छन्। उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।