साइकलमा राजकुमारी
‘आम्स्टर्डममा साइकलसँग बचेर हिँड्नुहोला। साइकल लेनको ख्याल गर्नुहोला। निकै हतारमा हुन्छन् यहाँका साइकलेहरू।’ हामीलाई सिटीमा छाड्नुअघि ड्राइभर जर्जले माइकबाट सचेत गराएका थिए।
उसको कुरोले मेरो मनको कुनामा एउटा अजिब कौतूहल जन्माएको थियो। सहरमा रेल, बस, ट्राम, गाडी र पकेटमारबाट बच्नु भनेको त बारम्बार सुनेकै हो तर साइकलबाट बच्नु है भनेको पहिलो चोटि सुन्दै थिएँ। आम्स्टर्डमको सेन्ट्रल स्टेसन नजिकैको चोकमा हामीलाई छाडेर होटलतर्फ लाग्यो जर्ज।
बिहान नौ बजेको थियो। घाम लागे पनि चिसो हटिसकेको थिएन। हाम्रो सिटी टुर गाइड समिरा सोरैयासँग साढे नौ बजे भेट्ने समय निधो भएकाले आधा घण्टाका लागि हामी सबै आफूखुसी स्टेसन वरपर छरियौ। हामी रहेको चोकको उत्तर साइडको नहरमा बीस पच्चीस जना अटाउने थुप्रै सानासाना घरजस्ता बोटहरू थिए। किनारामा बोटको टिकट पाइने एउटा टिकटघर थियो। नहरको दक्षिण दिशामा थियो ठूलो, फराकिलो र व्यवस्थित सडक। सडकको दुवैतर्फ फुटपाथसँगै थिए, रातो कलरको साइकल लेन। सडकको सवारीभन्दा साइकल लेनमा साइकलको चाप बढी देखिन्थ्यो। के बच्चा, के बूढा, के युवा सबै साइकलमा हुइँकिइरहेका थिए। सुट-पाइन्ट-टाई लगाएर साइकलमा कुद्नेहरू पनि देखिन्थ्यो। न धुलोको डर, न धुवाँको चिन्ता। जर्जले भनेझैँ साइकलहरू तँछाडमछाड गरी तीव्र गतिमा कुदिरहेका थिए।
चोकको चारैतिर बनेको साइकल स्ट्यान्डमा खचाखच थिए, साइकल। नहरसँग टाँसिएर बनेको थियो विशाल तीनतले साइकल पार्किङ भवन। सो भवनको तीनै तलामा भरिभराउ थियो साइकल।
सेन्ट्रल स्टेसनबाट छुटिरहेका ट्रेन, मुख्य सडकमा गुडिरहेका बस कार, नहरमा तैरिँदै गरेका रङरङका पानीजहाजहरूभन्दा पनि साइकल लेनमा कुदिरहेका साइकलले मेरो सम्पूर्ण ध्यान खिचिरहेको थियो। मैले यति धेरै साइकल टोकियोमा पनि देखेको थिइनँ। जापान पुग्दा संसारमा सबैभन्दा बढी साइकल यात्रा जापानीले गर्छन् जस्तो लागेको थियो। तर आम्स्टर्डमको साइकलमोह देखेपछि मेरो दृष्टिकोण फेरियो। आम्स्टर्डम उत्रेपछि मैले सबैभन्दा बढी देखेको सवारी नै साइकल थियो। सडक किनारामा जताततै बनेका साइकल स्ट्यान्डहरू, साइकल लेनमा रहेको साइकलको चाप र सबै उमेरका व्यक्तिमा देखिएको साइकलमोहले साइकल आम्स्टर्डमवासीको जीवनशैली बनेको प्रस्ट बुझ्न सकिन्थ्यो।
ठीक साढे नौ बजे समिरा आइपुगिन्। न एक मिनेट छिटो, न ढिलो। समयको पक्का। ‘नमस्ते नेपाली साथीहरू। म समिरा सोरैया। तपाईहरूको गाइड। सगरमाथा र बुद्धको देशबाट आउनुभएका तपाईहरुलाई आम्स्टर्डममा स्वागत छ’, समिराले मुस्कुराउँदै आफ्नो परिचय दिइन्।
निकै व्यावसायिक र हँसिली रहिछन्। उनको पहिलो बोलीले नै लट्ठ पार्यो हामीलाई। उनले बुद्ध र सगरमाथाको नाम लिनासाथै छाती गर्वले ढक्क फुल्यो। कताकता समिरासँग निकटता महसुस भयो। एउटै वाक्यले हामी सबैलाई आफ्नो बनाउन भ्याइन्।‘हाम्रो नेदरल्यान्डमा मान्छेभन्दा साइकल बढी छन्। जनता सत्र मिलियन, साइकल बीस मिलियन। साइकलहरू निकै स्पिडमा आउँछन्। त्यसैले यी रातो रङको साइकल लेनमा नबस्नुहोला। साइकलले ठोकिदिएर घाइते भएका धेरै घटना छन् यहाँ’, उनले पनि जर्जले जस्तै सुरुमै साइकलसँग सजग रहन सचेत गराइन्।
चिसो सिरेटोले फर्फराएको कपाल सम्झेर आनन्दित हुन्छु। काठमाडौँलाई पनि त्यस्तै साइकल सिटी बनाउने सपना जिस्क्याउन आइपुग्छ घरिघरि।
उनको कुरो सुन्दा आश्चर्य लाग्यो। मान्छेभन्दा बढी साइकल ? साइकलबिना त कसैको जीवन नै नचल्ला जस्तो। साइकल सूचनापछि उनले हामीलाई आफ्नो पछिपछि आउन आग्रह गर्दै सेन्ट्रल स्टेसनतर्फ लागिन्। सहरको बिचोबीच भागमा रहेको यो स्टेसन मुख्य नहरको किनारैमा रहेछ। निकै ठूलो क्षेत्रफलमा फैलिएको यस स्टेसन आम्स्टर्डमलाई देशभर जोड्ने महत्वपूर्ण यातायात केन्द्रको रूपमा स्थापित रहेछ। दिनमै लाखौँ यात्रीले यात्रा गर्ने यस स्टेसनलाई सहरको रक्त सञ्चार गराउने मुख्य केन्द्रभन्दा पनि फरक नपर्दो रहेछ। समिराले केही समय यसैको परिचय दिन खर्चिइन् शब्दहरू। त्यसपछि सुरु भयो पैदल सिटी टुरको सिलसिला। हामी सबै एकै उमेरको नभएकाले सबै समिरासँग फटाफट हिँड्न सक्ने अवस्थाका थिएनौ।
हाम्रो समूहमा हिँड्दा हिँड्दै यो कुरा समिराले बुझिसकेकी थिइन्। त्यसैले केही बेरको हिँडाइपछि सहरको चोक, पुल, वा कुनै हेर्नलायक भवन भेटिनासाथ रोकिन्थिन्। त्यसबारे केही बताउँथिन्। सहरको जताततै थियो नहरै नहर। पुलै पुल। सडकै सडक। रूखै रूख। कति सफा। कति स्वच्छ। कति सुन्दर। कति व्यवस्थित। जति हेर्यो हेरूँ हेरूँ लाग्ने अत्यन्तै मनमोहक।
सहरमा बस, कार, ट्राम सबै उपलब्ध भए पनि मान्छेको आकर्षण साइकलमै देखिन्थ्यो। के ठूलो के सानो, के धनी के गरिब सबैमा गज्जबको साइकलप्रेम थियो। हामी भने अझैसम्म साइकल चलाउनेलाई गरिब र कमजोर ठान्ने मानसिकताबाट माथि उठ्न सकिरहेका छैनौ। सडकमा साइकल चलाउनेलाई हेप्ने मनस्थिति बदल्न सकिरहेका छैनौँ। यहाँजस्तै साइकल सिद्धान्त मात्रै अपनाउन सके पनि कति स्वच्छ हुन्थ्यो होला काठमाडौ ? कति बचत हुन्थ्यो होला विदेशीलाई तिर्नुपर्ने तेलको पैसा ? कति घट्थ्यो होला सडकको जाम ? कति स्वस्थ हुन्थ्यो होला हाम्रो शरीर ? सहर घुमिरहँदा मेरो मस्तिष्कलाई साइकलले नै गिजोलिरह्यो।
‘समिरा ! तिमी पनि साइकलमा हिँड्छ्यौ होला हगि ?’, मेरो साइकले प्रश्नले समिराको ध्यान मतिर फक्र्याे। उनी मुसुक्क हाँसिन्।‘तपाईले ठीक भन्नु भो। मसँग सहरमा एउटा कार र साइकल छ। गाउँको घरमा अर्को साइकल छ। म कतै टाढा जानुपर्दा मात्र कारमा जान्छु। सहरमा जहाँ जान परे पनि साइकल नै प्रयोग गर्छु। गाउँमा जाँदा गाउँकै साइकल चढ्छु। गाउँमा बस्नेहरूले पनि सहरमा साइकल राखेका हुन्छन्। जब उनीहरू सहर आउँछन् आफ्नै साइकल चलाउँछन्’, समिराले आफ्नो साइकलमोह बताइन्।
वाह कति मीठो कुरा !
‘तपाईंको जानकारीका लागि यो पनि बताइदिऊँ कि हाम्रो देशको राजाकी छोरीहरू तीनैजना सरकारी स्कुलमा पढ्छन् र सधैँ आफ्नै साइकलबाट स्कुल जाने-आउने गर्छन्’, समिराले निकै गर्विलो पारामा बोलिन्।
उनको कुराले मेरो मनभित्र ती राजपरिवारप्रतिको सम्मान ह्वात्तै बढेर आयो। ती राजारानीको पाउ छोएर बधाई दिऊँजस्तै भयो। केही समयअघि डेनमार्कका मन्त्री साइकलमा अफिस जाँदै गरेको फोटो न्युजमा देख्दा ती राजनेताहरूप्रति यसरी नै सम्मानले झुकेको थियो मेरो शिर। राजाका छोराछोरी साइकलमा स्कुल जान्छन् भन्ने कुरो सत्य भए पनि मलाई नै अपत्यारिलो लागिरहेको थियो। कस्तो देशको मान्छे म, कस्तो देशमा आइपुगेँ जस्तो लाग्यो।
झलझली आफ्नो देशको विगत र वर्तमानलाई सम्झेँ। जहाँ एउटा सामान्य शिक्षक आफ्नो बच्चालाई आफैँले पढाउने स्कुलमा नपढाएर महँगो प्राइभेट स्कुल पठाई गाउँमा रवाफ देखाउँछ। जहाँ राजा आफूलाई भगवान् ठान्छ र देश विकासको योजना थन्क्याएर जनतालाई दर्शन दिँदै हिँड्छ। राजाका छोरा भनाउँदाहरू दुईचार जना आवारा बोकेर नानाथरीका कुकृत्य गरिहिँड्छ। यस्तो लाग्छ- दुनियाँमा गर्न बाँकी सबै दुष्कर्म उसकै भागमा परेको छ।
गणतन्त्रका नयाँ राजाहरूको कुरा गरिसाध्य छैन। आफूलाई जनताकी छोरी हुँ, सर्वहाराको प्रतिनिधि हुँ भन्नेहरू पदमा पुगेपछि राजाभन्दा दुगुना विलासी बन्छन्। कारबाट ओर्लंदा बाटैबाट रातो कार्पेट ओछ्याउन लगाएर निर्लज्जताको हद पार गरिदिन्छन्। पदमा पुगेपछि जाति, वर्ग र कुल नै परिवर्तन भएको ठान्छन्। आफू आएको जमिन बिर्सन्छन् र नयाँ सामन्ती बनेर जनताको भावनामा खेलबाड गर्छन्।
आफ्नो देश सम्झेर आफैँलाई लाज लागेर आयो। कति फरक छ यहाँका राजा र मेरो देशका नयाँ राजाहरूको सोच र संस्कार। म समिराको अगाडि ट्वाल्ल परेर उनको कुरा सुनिरहेँ। समिराले भन्दै जाँदा थाहा भयो- यहाँका मन्त्री, उच्चपदस्थ कर्मचारी सबै दैनिक कार्यालय जाँदा आउँदा साइकलमै सवार हँुदा रहेछन्। यो कुनै सरकारी नियम र आदेश होइन।
डचहरूको सरल जीवनको दैनिकी रहेछ। आवश्यक पर्दा मात्र गाडी चलाउने, नत्र भने सबै साइकलमै रमाउँदा रहेछन् उनीहरू। समिराको कुराले म छक्कमाथि तीनछक्क पर्दै थिएँ। मेरो साइकल कौतूहल देखेर समिराले सायद हाम्रो एसियाली मानसिकताको परिचय पाइसकेकी थिइन्। मेरो एकोहोरो जिज्ञासाले उनी झन् झन् उत्साहित हुँदै थिइन्।
‘सर ! हामी डचहरूको जीवनको मूल्य भनेकै विनम्रता र सरलता हो। हामी कसैलाई ठूलो र कसैलाई सानो कहिल्यै देख्दैनौँ। हामी कहिल्यै अभिमानी हुन सक्दैनौ। हाम्रा राजाले पनि आफूलाई जनताभन्दा ठूलो कहिल्यै ठान्दैनन्। सामान्य र सरल जीवन रुचाउँछन्। यही नै हाम्रो चिनारी हो। यही नै विकास र एकताको आधार’, निकै मीठो गरेर नैतिकताको पाठै पढाइन् उनले।
उनले बोलेको भाषा जस्ताको तस्तै लेखेर मेरो देशको संसद् भवनको भित्ता र मन्त्रालयको सूचनापाटीमा टाँसिदिन मन लाग्यो। पदमा पुगेपछि भुइँ न भाँडोमा हुने बकम्फुसे नेताहरूको घरको ढोकाढोकामा नागपञ्चमीमा नाग टाँसेजस्तै टाँसिदिने इच्छा जाग्यो।
सहर घुम्दै गर्दा समिरा सहरका यावत् कुराहरू देखाउँदै त्यसबारे जानकारी दिँदै थिइन्। म भने साइकलकै दुनियाँमा हराएको थिएँ। सहरमा कुदिरहेका प्रत्येक साइकलेलाई हेर्दै थिएँ म। साइकल हेर्ने धुनमा साइकलमा सवार पूरै सहरलाई हेरिरहेको थिएँ म। सहरका एक से एक सुन्दरीहरू साइकलमै कुदिरहेका थिए। गालाभरि चाउरी परेका बूढाबूढी पनि साइकलमै डुलिरहेका थिएँ। सुटेडबुटेड अधबैँसेहरू पनि साइकलमै सवार थिए। सुकिलामुकिलाहरूले साइकल चढ्दा साइकलको इज्जत नै बढेको अनुभव भइरहेको थियो। हाम्रोमा जस्तो एक दिन साइकल चढ्दा पसिना र धुलो धुवाँले बेलुका अनुहारै नचिन्लान् भन्ने डर थिएन। सहरको स्वच्छ वातावरणमा साइकल चलाउनुको मज्जा नै अर्कै थियो। साइकलकै कारण बनेको सहरको स्वच्छताको कुरै अर्को थियो।
साइकलले आम्स्टर्डमलाई एउटा स्वच्छ र सुन्दर सिटी बनाएको थियो। मान्छेहरूलाई स्वस्थ बनाएको थियो। सडकलाई खुला र जाममुक्त पारेको थियो। देशको इन्धन बचाएको थियो। एउटा साइकलले राष्ट्रलाई नै यति ठूलो गुन लगाउन सक्छ भन्ने कुराको उदाहरण बनेको थियो आम्स्टर्डम। यो सहरको साइकल सिद्धान्त निकै शक्तिशाली लागिरहेको थियो मलाई। एउटा साइकलले नै यी सबै कुरो दिनसक्छ भन्ने कुरो मेरो देशको प्रत्येक जनताको मनमस्तिष्कमा पुर्याउन मन थियो मलाई।
म मनमनै सोच्दै थिएँ। यहाँको साइकलमोहले डचहरूलाई विकासको यो उचाइमा पुर्यायो। हाम्रो देशमा नेताहरूको सत्तामोहले देशलाई रसातलतिर पुर्याउँदै छ। एकैछिन आफ्नै देशको चिन्तनमा डुब्यो मन। अहिलेकै मन मुटुले देशमा केही हुने छाँट देखिनँ। मस्तिष्कमा एउटा नयाँ आइडिया फुर्यो। यहाँका राजा विलियम अलेक्जेन्डर र रानी माक्सिमाको मनको फोटो खिचेर मेरो देशका राजनेता भनाउँदाहरूको मनमा ट्रान्सप्लान्ट गरिदिने। राजकुमारी अमालिया, एलेक्सिया र एरियान साइकलमा स्कुल गइरहेको फोटो खिचेर मेरो देशका आडम्बरी युवाहरूको कोठाकोठामा झुन्ड्याइदिने।
‘लौ अब होटल जाऊँ’, कुनै साथीको आवाजले म फेरि आफ्नै दुनियाँमा फर्किएँ। समिराले मुस्कुराउँदै बिदा मागिन्। जर्ज हामीलाई लिन आइसकेका थिए। साँझको पाँच बजे सहर छोडेर होटलतर्फ लाग्यौ।
होटलको कोठामा पुगेपछि पनि साइकलकै कुराले मन खाइरह्यो। डिनर सकी श्रीमतीलाई लिएर होटलको लबीमा निस्किएँ। रिसेप्सनिस्टलाई एक घण्टाका लागि दुइटा साइकल जोहो गरिदिन अनुरोध गरेँ। आधा घण्टामै साइकल व्यवस्था भयो। दिनभरको साइकल भोक मेट्न हामी दुई निस्कियौ फेरि आम्स्टर्डम सिटीको साइकल टुरमा। लहरै बलेको सडक बत्तीले झिलिमिली थियो सहर। मौसम चिसोचिसो थियो। सडक शान्त। साइकलमा हामी दुई। सिंगो सहरको सडक हाम्रो साइकलको टायरमुनि। रातो धर्को तानेजस्तो साइकल सडकमा कुद्यौँ हामी दुई पन्छी। साइकल सिटीमा सररर साइकल चलाउँदै फेरि होटल फक्र्यौं र सहर नसुत्दै डुब्यौ मस्त निद्रामा।
आज पनि आम्स्टर्डमको त्यो साँझ मेरो सम्झनामा आइरहन्छ। काठमाडौँको सडकमा कार चलाएर हिँडेको क्षणभन्दा आम्स्टर्डमको लेनमा साइकलले बनाएका ती डोबहरू प्रिय लाग्छन्। चिसो सिरेटोले फर्फराएको कपाल सम्झेर आनन्दित हुन्छु। काठमाडौँलाई पनि त्यस्तै साइकल सिटी बनाउने सपना जिस्क्याउन आइपुग्छ घरिघरि।