जहाज चढेर आए ‘नो क्वारेन्टाइन’
बागलुङ : हवाईजहाज चढेर स्वदेश फर्किएका नेपालीलाई सिधै घर पठाउने गरिएको छ। भारतलगायत देशबाट आउने नागरिकलाई भने क्वारेन्टाइनमा राख्ने गरेको पाइएको छ।
अमेरिका, युरोप, जापानबाट आएकालाई बागलुङ बजारस्थित क्वारेन्टाइनमा नराखेर स्थानीय तह र प्रशासनले सिधै घर जान दिएका हुन्। त्यति मात्रै होइन, उनीहरू खुलेआम मोटरसाइकल चढेर बजारसमेत घुमिरहेको पाइएको छ।
जिल्लामा कोरोना संक्रमण जोखिमलाई ध्यानमा राख्दै रोजगारी गुमाएर आएकालाई सरकारी क्वारेन्टाइनमा निःशुल्क तथा होटल क्वारेन्टाइनमा सःशुल्क बस्ने व्यवस्था गरिएको छ। होटल क्वारेन्टाइनमा बस्नेले दैनिक १५ सय रुपैयाँभन्दा बढी तिरिरहेका छन्। अहिले ५० भन्दा बढी होम क्वारेन्टाइनमा छन्।
केही दिनअघि मात्र बागलुङ नगरपालिकामा अमेरिका र जापानबाट आएकाहरू सिधै घरमा आएर होम क्वारेन्टाइनमा नबसेका कारण छिमेकी त्रसित भएका छन्। तेस्रो देशबाट जिल्ला भित्रिनेको यकिन संख्या प्रशासनसँग नभए पनि बढ्दो क्रममा छ।
जिल्ला आउने अनिवार्य रूपमा १४ दिन स्थानीय पालिकाको क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ। तापनि बागलुङ नगरपालिकामा–१ रामरेखामा अमेरिकाबाट दुई जना र बागलुङ नगरपालिकामा–४ कुँडुलेमा जापानबाट आएर क्वारेन्टाइनमा नबसेको स्थानीय बताउँछन्। ‘क्वारेन्टाइनमा नबसेका कारण स्थानीयमा कोरोना फैलिएमा को जिम्मेवारी हुन्छ ? ’ उनीहरूको सोधाइ छ।
स्वदेश फिर्ता हुने बेलामा पीसीआर परीक्षण गरे होम क्वारेन्टाइनमा बस्न मिल्ने भए पनि बजार डुल्न नपाइने बागलुङ नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए। ‘अहिलेसम्म त्यसरी आएर बसेको जानकारी आएको छैन, त्यस्तो भएमा परीक्षण भए नभएको हेरेर क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ,’ खनालले भने,‘वडाध्यक्षहरुले यस्ता कुरा समयमै जानकारी दिनुपर्छ। क्वारेन्टाइनमा बस्नैपर्ने देखिएमा प्रहरीको सहयोगले भए पनि ल्याउँछौं।’
बागलुङ नगरपालिकाका १ का वडाध्यक्ष दुर्गाबहादुर बोहोरा र ४ का वडाध्यक्ष धुव्रबहादुर केसीलेले भने सिधै घर आएको सूचना पाएर सम्झाउने प्रयास गरे पनि बेवास्ता गरेको गुनासो गरे। स्थानीय कमाण्ड पोस्ट, प्रहरी प्रशासनले गम्भीरता नदेखाएसम्म यो अटेर गरेर बस्ने प्रवृत्ति कायमै रहने उनीहरूको भनाइ छ।
स्थानीय पालिका तथा वडालाई आफ्ना नागरिक बाहिरबाट आएका बारेमा सबै जानकारी हुनुपर्ने कमाण्ड पोष्ट बागलुङका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले बताए। उनले भने ‘स्थानीय तहले जानकारी गराए तुरुन्तै क्वारेन्टाइनमा राखिन्छ।’
युरोप तथा अमेरिकाबाट आएका नगरिकलाई विमानस्थलबाटै ध्यान दिनुपर्ने स्वास्थ्यकर्मी बताउँछन्। सुविधा सम्पन्न देशवाट फर्केकाहरू प्राइभेट गाडीमा नेपालबाटै आएको भन्ने झुटा विवरण पेश गर्दै घर आइपुग्ने गरेका छन्। यात्राका क्रममा प्रहरीले चेकजाँचमा समेत कडाई नगर्दा समस्या भएको छ। सुविधासम्पन्न देशबाट आएकालाई सिधै घरमा पठाउने तर रोजीरोटी भारत र खाडी मुलुकबाट आएकालाई भने पीसीआरको रिपोर्टसहित आएकालाई पनि अनिवार्य क्वारेन्टाइनमा राख्ने गरिएको छ।