क्वारेन्टाइनभन्दा ओडार प्यारो

क्वारेन्टाइनभन्दा ओडार प्यारो

दैलेख/जाजरकोट : -दैलेखको दुल्लु नगरपालिका–११ का ३५ वर्षीय कर्णबहादुर थापा कोरोना संक्रमणबाट बच्न जन्मथलो फर्किए। उनलाई क्वारेन्टाइनमा राखियो। त्यहाँ उनले न उपचार पाए न त खानपिन। बसाइ व्यवस्थापनसमेत गतिलो नहुँदा जेठ १७ गते उनको क्वारेन्टाइनमै मृत्यु भयो।

-नौमूले गाउँपालिकाको भैरव माविमा बसेका २४ जनाकोरोना संक्रमित असार ११ गते क्वारेन्टाइनबाटै रातारात भागे। क्वारेन्टाइन व्यवस्थित नभएको, उपचार नपाएको, पीसीआर रिपोर्ट ढिला आएको भन्दै उनीहरू राति नै भागेका थिए। प्रहरी परिचालन गरी उनीहरूलाई पुनः क्वारेन्टाइनमै ल्याइयो।

यी प्रतिनिधिमूलक घटना मात्रै हुन्। कर्णालीमा मापदण्डअनुसार क्वारेन्टाइन नहुँदा कोरोना संक्रमण थप बल्झिएको छ। उपचार नपाएको, खानपिनमा समस्या भएको, पानी, शौचालयको असुविधा भएकोलगायत असन्तुष्टि जनाउँदै क्वारेन्टाइनमै आन्दोलन भइरहेको छ। कतिपय क्वारेन्टाइनमा बसेकाहरूले स्थानीय जनप्रतिनिधि र कर्मचारीउपर नै आक्रमण गरिरहेका छन्।

नारायण नगरको त्रिभुवन माविस्थित क्वारेन्टाइनका संक्रमितले तीन साताअघि आन्दोलन गरे। तिनलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्दा चार जना घाइते भए। गत जेठ २१ गते भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीरासिंह थापामाथि क्वारेन्टाइनमा बसेकाहरूले आक्रमण गरे। त्यसको दुई दिनपछि दुल्लु नगरपालिका–११ का वडाध्यक्ष खगेन्द्रबहादुर थापामाथि कुटपिट भयो। स्थानीय भैरव प्राविको क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले खानपिनको व्यवस्था नभएको भन्दै वडाध्यक्षलाई कुटपिट गरेका हुन्।

    दैलेखको स्कुलमा कोठामा बनाइएको असुरक्षित क्वारेन्टाइन। तस्बिर : हिक्मतबहादुर नेपाली

जाजरकोटको समस्या पनि उस्तै छ। विद्यालयमा बनाइएका क्वारेन्टाइनमा बस्दा उल्टै संक्रमण फैलिन सक्ने र थप सास्ती हुने देखेपछि भेरी नगरपालिका–१ का १३ जना गाउँकै एक ओडारमा बसेर १४ दिन बिताएर घर फर्किए। सुर्खेतबाट आएको एक समूह पनि बरु जुनीचाँदे–६ को जंगलमा रहेको ओडारमा बसे तर विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेनन्। भेरी र छेडाका विभिन्न विद्यालयका क्वारेन्टाइनबाट केही समय अघि संक्रमित भाग्न थालेपछि क्वारेन्टाइन सुरक्षाको लागि नेपाली सेना नै परिचालन गर्नु पर्‍यो। जिल्लाका भेरी, नलगाड र छेडागाडका चार क्वारेन्टाइनमा सेनाले सुरक्षा दियो। छेडागाड र भेरीका विभिन्न क्वारेन्टाइनबाट पटक पटक भागेका ४० जनालाई प्रहरीले पक्राउ गरिी पुनः क्वारेन्टाइनमै राख्यो।

भेरी, शिवालय, छेडागाड र नलगाडमा २३ दिन क्वारेन्टाइनमा बस्दा पनि पिसिआर रिपोर्ट नआएपछि क्वारेन्टाइनमा आन्दोलन नै भयो। आन्दोलन थेग्न नसकेपछि उनीहरूलाई रिपोर्ट नआउँदै घर पठाइयो। पिसिआरको रिपोर्ट समयमा नआउने र भिटिएमको अभावले अहिले १४ दिन पुगेपछि आरडिटी गरेर घर पठाउने गरिएको छ। तीन हप्ता अघिसम्म जिल्लाभर ३७ ओटा क्वारेन्टाइनमा तीन हजार बढी बसालिएकोमा अहिले घटेर तीन सय ६५ मात्र छन्।

उता सुर्खेतमा पनि क्वारेन्टाइनको अवस्था बिजोग छ। बराहताल गाउँपालिका–४ मा रहेको एक क्वारेन्टाइनमा बसेका एकनालाई सर्पले डस्यो। संक्रमण न्यूनीकरण गर्न कर्णालीमा निर्माण गरिएको क्वारेन्टाइन मापदण्ड अनुसारको व्यवस्थापन हुन सकेको छैन। त्यहाँ बसेकाहरूले विद्रोह गर्न थालेपछि स्थानीय तहले रातारात उनीहरुलाई घर पठाएका छन्।

स्थानीय तहले हतारमा घर पठाएपछि कर्णालीका अधिकांश क्वारेन्टाइन रित्तिएका छन्। कर्णाली प्रदेशका १ हजार ४ सय ८९ जना संक्रमितमध्ये १२ सय ७ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। हाल २८२ जना मात्रै उपचाररत छन्।

यता स्थानीय तहले भने केन्द्र र प्रदेश सरकारले सहयोग नगर्दा आफूहरूलाई क्वारेन्टाइन व्यवस्थापनमा समस्या भएको गुनासो गरेका छन्। दलेखको महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले भने, ‘केन्द्र र प्रदेश सरकारले सहयोग नै गरेनन्, स्थानीयलाई व्यवस्थापन गर्न कठिन भयो, आरडीटी गरेर घर पठाउन बाध्य भयौं।’

दैलेखका नारायण क्याम्पसको भद्रगोल क्वारेन्टाइन । तस्बिर : हिक्मतबहादुर नेपाली


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.