चर्केको नेकपा महललाई ‘फाउण्डेसन’को भर

चर्केको नेकपा महललाई ‘फाउण्डेसन’को भर

काठमाडौं : पार्टी एकीकरणको २६ महिनापछि नेकपाको आन्तरिक जीवनमा ठूलो भुइँचालो गएको छ। त्यसको झट्का र पराकम्पले नेकपारुपी महल यतिबेला थरर् काँपिरहेको छ। निकै मिहिनेतका साथ जोडिएको र ठडिएको यो महल कुनै पनि बेला गर्ल्यामगुर्लम ढल्ने खतरा छ।

पार्टीका दुई मुख्य पिलर नै यतिखेर झण्डै फाटिएको अवस्था छ र आफ्नो भागको खरानीको हिसाबकिताब गर्दैछन्। तर पिलर चर्किन खोजे पनि, छत फाट्न थालेपनि यसको फाउण्डेसन (डिपीसी) भने भवन जोगाइराख्‍न काँध थापिरहेको छ। नेकपाका ११ भाइ पार्टी विवाद मत्थर पार्न र पार्टीलाई चिराचिरा हुन नदिन यतिबेला क्रियाशिल देखिएका छन्। यी ११ भाइको सक्रियतालाई यतिबेला वाम वृत्तमा 'नेकपा फाउण्डेसन;को रुपमा चर्चा गर्न थालिएको छ।

उन्मादमा गलत निर्णय लिएर दुर्घटना हुन नदिन दुवै पक्षका नेताहरुलाई घरघरमा भेटेर सम्झाउने र मनाउने काम उनीहरुले गरिरहेका छन्। राष्ट्रपतिसँग शीर्ष नेताहरूलाई भेटाएर असमझदारी हटाउनेदेखि दुई अध्यक्षबीचको वान टु वान वार्ता गराउने, स्थायी समिति स्थगन गरेर आन्तरिक छलफल तीव्र पार्नेजस्ता काम यतिबेला ११ भाइ युवा नेताको पहलमा भइरहेको छ। 

'फाउण्डेसनलाई अहिले लिनु वा गुमाउनु केही छैन, नेकपा जोगाउने अभियानमा सक्रिय ११ भाइ मध्येका एक नेताले भने, 'फाउण्डेसन हल्लिएन भने बांगा भएका पिलर सोझ्याउन सकिन्छ, चर्किएको भवन रेट्रोफिटिङ.वा अरु उपाय अवलम्वन गरेर भवन जोगाउन सकिन्छ ।'

नेताहरुबीचको विवादले पार्टीको भविष्य नै समाप्त हुने संकेत देखिन थालेपछि ११ भाइ सक्रिय भएका हुन्। यो अभियानमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, वर्षमान पुन, शंकर पोखरेल, प्रदीप ज्ञवाली,जनार्दन शर्मा, शक्ति बस्‍नेत, टोपबहादुर रायमाझी, मणि थापा, विष्णु रिमाल सहभागी छन्। ११ भाइले अगुवाइ गरेको अभियानमा अरु पनि यतिबेला जोडिएका छन्। उनीहरूले पार्टी विवाद व्यवस्थापनमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न थालेका छन्। पार्टीको जीवन नै संकटमा देखेपछि ११ भाइले आ आफ्नो कित्ता छोडेर पार्टी एकताको प्रयासमा जुटेका हुन्। 

पार्टीभित्रको विवाद तीव्र हुंदै गएपछि प्रधानमन्त्री केपी ओलीले शनिबार मन्त्रिपरिषदका सदस्यहरुलाई बोलाए, बालुवाटारमा। अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल समुहले राष्ट्रपतिमाथि महाअभियोग लगाउने षडयन्त्र गरिरहेको सूचना आफूले पाएको बताए ओलीले मन्त्रीहरु समक्ष । प्रधानमन्त्रीको यो भनाइसंगै नेकपाभित्रको विवादले अर्कै मोड लियो। 

पार्टी विवादमा राष्टपति पनि मुछिने खतरा देखेपछि ११ भाई मध्येका योगेश भट्टराईले जुक्ति निकाले। उनले तत्कालै नेताहरुलाई फोन गरेर राष्टपतिसँग भेटन आग्रह गरे। 'तपाईहरुले राष्टपतिमाथि महाभियोग लगाउने कुरा गर्नुभएको हो भने त्यो महाभूल हो। यदि होइन भने राष्टपतिसँग भेटेर स्पष्ट गर्नुहो, भट्टराईले नेताहरुलाई भनेका थिए। योगेशकै पहलमा अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल, खनालले आइतबार राष्ट्रपतिसँग संयुक्त भेटघाट गरे र विषयलाई थप जटिल हुनबाट जोगाए। 

अध्यक्ष दाहालले हतार नगरौ भन्दाभन्दै प्रधानमन्त्री केपी ओलीले संसदको अधिवेशन  आकस्मिक रुपमा अन्त्य गर्न राष्टपति समक्ष सिफारिस गरेपछि उत्पन्न संवैधानिक तथा कानुनी अन्योलका बारेमा प्रचण्ड र नेपालले गरेको परामर्शलाई गलत रुपमा प्रचार गरिएको केन्द्रिय सदस्य विष्णु रिजालले बताएका छन्। '५ जना सचिवालय सदस्य र प्रमुख सचेतक देव गुरुङ.का साथै स्थायी समितिका केही सदस्यहरु र केही कानून व्यवसायीसंग गरेका छलफललाई महामहिम राष्टपति समक्ष फुलबुट्टा भरेर भयावह बनाएर र मरमसला हालेर पुर्याइएको रहेछ, रिजालले सामाजिक सञ्जालमा लेखेका छन्। अध्यक्ष दाहाल सहितका तीन जना नेताहरुको कुरा सुनेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले 'बेकारमा नभएको हल्ला फैलाएर मिसअन्डरस्ट्यान्डिङ बढाएको' प्रतिक्रिया दिएकी थिइन्। 
 
प्रधानमन्त्री ओलीतिर मात्र होइन, अर्को समूहमा पनि अनेक हल्ला र गलत सूचना पुर्‍याएर परिस्थिती जटिल बनाउने र अविश्‍वास बढाउने कोसिस भइरहेका छन्।'अस्ति अगेंनामा ३१ जना स्थायी नेताहरूको (दाहाल नेपाल समुह)को भेलामा पनि केही साथीहरुले अर्को पक्षले यस्तो गर्दैछ, उस्तो गर्दैछ भनेर भयंकर षडयन्त्र भइरहेको कुरा राख्नुभयो, उक्त भेलामा सहभागी एक नेताले भने, 'केहीबेर अघि म नै उपस्थित सामान्य छलफललाई साथीहरुले त भयंकर षडयन्त्र भइरहेको भन्दै  भेलामा कुरा राख्दा म नै छक्क परे।'

दुवैतिर गलत सूचना पुर्‍याउने, नेताहरुलाई उत्तेजित पार्ने, भडकाउने र पार्टी विभाजनलाई मद्दत गर्न खोज्‍नेहरू सक्रिय छन, ११ भाई मध्येका एक नेताले भने, 'गलत सूचनाले नेताहरुबीच फाटो ल्याउन मलजल गरिरहेको छ । यस्तै गलत सूचनाबाट जोगिन सक्यौ भने मात्र पनि नेताहरुबीच समझदारी बनाउन कठिन छैन ।'
 
नेकपाभित्र शक्ति, पद र प्रतिष्ठासँग यतिबेला जोडिएको अर्को पाटो हो, विधिको कुरा । अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीमाथि पार्टीले गरेका निर्णय मान्ने कि नमान्ने? विधि र प्रक्रिया अनुसार पार्टी र सरकार संचालन हुने कि नहुने? अर्को समुह(प्रचण्ड-नेपाल ) ले प्रश्न उठाएको छ। तर ओली पक्षले पनि विधि अनुसार अर्को समुहका नेताहरु चल्ने कि नचल्ने भन्ने प्रश्न गरिरहेको छ।महाधिवेशनसम्म सहमतिबाट जाने र दुई अध्यक्षबीच सहमतिमै अघि बढने भन्ने विधि पार्टीमा बसिसकेकोले त्यही विधि अनुसार तर्क संस्थापन पक्षको छ।

नेकपा यस्तो पार्टी हो, जहाँ एक जना वहालवाला र तीनजना पूर्व प्रधानमन्त्री पार्टीको सक्रिय राजनीतिमा छन्। नेताहरुबीचका व्यक्तिगत टकराव, सत्ता र शक्तिको असन्तुलन र गुटगत कार्यशैलीले एकतादेखि नै पार्टीमा समस्याहरु उत्पन्न भएका थिए। 'सिंहदरवारमा अधिकांशले फोटा झुण्ड्यासके, कुर्सीको स्वाद पनि धेरैले लिइसके, एक युवा नेताले भने, 'उहाँहरु त जुटदा फाइदा हुन्छ कि फुटदा फाईदा हुन्छ भनेर मूल्यांकन गरेर निष्कर्षमा पुग्नु होला । तर कम्युनिष्ट पार्टी, देश र आफ्नो भविष्य सम्झदै दोस्रो पुस्ताका नेताहरु गुटगत स्वार्थ भन्दा माथि एकताका पक्षमा उभिनैपर्छ। 

विश्वमा कम्युनिस्टहरू पतन हुँदै गएको बेला मदन भण्डारीले जनताको बहुदलीय जनवादमार्फत नयाँ जीवन दिएको कम्युनिस्ट पार्टीलाई झण्डै दुई तिहाई मत छ । यतिबेला कम्युनिस्ट पार्टी चिराचिरामा जाने हो भने पार्टीका लागि मात्र होइन, मुलुकले नै नोक्सानी भोग्‍नुपर्ने चिन्ता छ।सत्ता समिकरण खेलसँगै अस्थिरताको शृखंला फेरि सुरु हुनेछ।  विगतमा कांग्रेस फुटेपछि एमालेसँगै अरु दल फुटदा उत्पन्न राजनीतिक संकट,अस्थिरता र कुर्सी मोहले केही समय सिंगो संसदीय प्रजातन्‍त्र नै गुमाउनु परेको थियो।  देशको स्थिरता, जनताको आशा र भरोसा टुट्न नदिन तथा कम्युनिस्ट पार्टीको प्रभाव कायम राख्‍न यतिबेला नेताहरूले ठण्डा दिमागले सोच्‍न र निर्णय गर्न जरुरी छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.