कांग्रेस महाधिवेशन कार्यतालिका कार्यान्वयन हुनेमा नेताहरु नै छैनन् ढुक्क
काठमाडौं : नेपाली कांग्रेसले कोरोना कहरकैबीच पार्टीको महाधिवेशनका गतिविधि अगाडि बढाउने गरी कार्यतालिका परिमार्जन गरेको छ । मुलुकमा कोरोना भाइरस संक्रमण बढ्दै गइरहेका बेला प्रमुख प्रतिपक्षी कांग्रेसले भने फागुन पहिलो साता तोकिएको केन्द्रीय महाधिवेशन प्रभावित नहुने गरी आन्तरिक कार्यतालिमा परिमार्जन गरेको हो ।
कांग्रेसको सोमबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा पार्टीको १४ औं महाधिवेशन गर्ने यसअघिकै निर्णय अनुसार आन्तरिक कार्यतालिका परिमार्जन गरेको हो । कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाका अनुसार नयाँ कार्यतालिका अनुसार पार्टीको सांगठानिक संरचना समायोजनको काम साउन १५ गतेसम्म सम्पन्न गर्ने उल्लेख छ । मुलुक संघीयतामा गएको वर्षाैँ बितिसक्दासमेत कांग्रेसको सांगठानिक संरचना पुरानै अवस्थामा छ । अघिल्लो वर्ष मंसिरदेखि नै संघीयता अनुसार पार्टीको संगठन समायोजनको काम सुरु गरिए पनि अझै २६ वटा जिल्लामा विवाद छ । जसका कारण नयाँ क्रियाशील सदस्यता वितरण र नविकरणको काम सुरु हुन सकेको छैन ।
यसअघि चैतदेखि साउन २५ गतेसम्म क्रियाशील सदस्यता वितरण र नविकरणको काम टुंग्याएर अन्तिम मतदाता नामावली सार्वजनिक गर्ने कार्यतालिकामा रहेकोमा अब मंसिर २५ गतेसम्म समय तोकिएको छ । साउन अन्तिमसम्म सदस्यता वितरण र नविकरणको काम सक्ने र भदौ मसान्तसम्म केन्द्रमा नामावली पठाउने कार्यसूची रहेको छ । क्रियाशील सदस्यता छानविन समितिलाई मंसिर २५ गतेसम्म सबै विवाद टुंग्याएर अन्तिम नामावली तयार गर्न भनिएपनि कांग्रेसले अहिलेसम्म छानविन समिति भने गठन गरेको छैन ।
परिमार्जित कार्यतालिका अनुसार पार्टीको स्थानीय, क्षेत्रीय, जिल्ला र प्रदेश अधिवेशन भने पुसमा तोकिएको छ । पुष ६ गते वडा अधिवेशन, पुस ८ गते स्थानीय तहको अधिवेशन, पुस ११ मा प्रदेश सभा अधिवेशनको मिति तोकिएको छ ।
त्यस्तै प्रतिनिधिसभाको क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन पुस १३ गते हुनेछ । त्यस्तै एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा पुष १६ गते र प्रदेशहरुमा माघ ६ गते अधिवेशन गर्ने निर्णय कांग्रेस केन्द्रीय समितिले गरेको छ ।
तेस्रो पटक परिमार्जित कांग्रेस महाधिवेशनको कार्यतालिका कार्यान्वयनमा नेताहरुले नै आशंका व्यक्त गरेका छन् । ‘कोरोना महामारीकाबीच महाधिवेशनका गतिविधि अगाडि बढाउन सहज छैन,’ कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले भने, ‘पहिलो प्राथमिकता भनेको व्यक्तिको जीवन रक्षा नै हो, कोरोनाले सबै जिल्ला प्रभावित छन् । संक्रमित बढ्दै गइरहेका बेला पार्टीले महाविधेशनलाई अगाडि बढाउने भनेको छ । यो चूनौतिपूर्ण छ ।’ तर उनले कोरोनाको बहानामा महाधिवेशनलाई अनिश्चित बनाउन नमिल्ने स्पष्ट पारे ।
कांग्रेस केन्द्रीय सदस्य नविन्द्र राज जोशीले केन्द्रीय अधिवेशन प्रभावित नहुने गरी कार्यतालिका बनाउनुपर्नेमा जोड थिए । उनले अधिवेशनको विकल्प नरहे पनि कोरोना संक्रमणलाई नजरअन्दाज गर्न नमिल्ने बताए । ‘अहिले नयाँ सदस्यता बनाउन सकिँदैन भने आवश्यकताका आधारमा पुरानै सदस्यतामा पनि अधिवेशन गर्न सकिन्छ कि भन्ने मेरो प्रस्ताव हो,’ उनले भने, ‘लोकतन्त्रको एक्लो धरोहर कांग्रेस हो, लोकतान्त्रिक पद्धति, आचरण र व्यवहारका लागि महाधिवेशन आवश्यक छ, त्यसले मात्र पार्टीलाई चूस्त बनाउँछ ।
कांग्रेस केन्द्रीय सदस्य बीरबहादुर बलायरले महाधिवेशनबारे नेताहरु इमान्दार नभएसम्म सम्भव नहुने स्पष्ट पारे । ‘नेताहरुबीच सहमतिमै कार्यतालिका ल्याइएपनि यसको कार्यान्वयनमा सबै इमान्दार हुनुपर्छ,’ उनले भने, ‘बाहिर महाधिवेशनको कुरा गर्ने तर यसमा सहयोग नगर्ने हो भने कार्यतालिका ल्याएर मात्र केही हुन्न ।’
कांग्रेसका कतिपय नेताहरुले मौसमका कारण पनि महाधिवेशन कार्यतालिका प्रभावित हुने आशंका व्यक्त गरे । साउन र भदौमा बर्षाका कारण पहिरो र डुवानको समस्या हुने अनि पुसमा हिमाली क्षेत्रमा अत्यधिक चिसोका साथै तराईमा शितलहर चल्ने भन्दै परिमार्जित कार्यतालिकामाथि प्रश्न उठाएका छन् ।
कांग्रेसले पुस ११ गते संस्थापनइतर समूहको असन्तुष्टिका बीच महाधिवेशन कार्यतालिका सार्वजनिक गरिएको थियो । त्यसपछि नेताहरुबीच सहमतिका आधारमा माघ १३ गते केन्द्रीय समितिले आन्तरिका कार्यतालिका परिमार्जन गर्दै फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी पुरानै कार्यतालिका पारित गरेको थियो ।
सरकारप्रति असन्तुष्टि
कांग्रेसले हठात् संसद अधिवेशन अन्त्य गरेकोमा सरकारको विरोध गरेको छ । संसदमा विजिनेस हुँदाुहुँदै चालू अधिवेशन अन्त्य गरेकोमा असन्तुष्टि जनाएको हो । त्यस्तै सत्तारुढ दल नेकपाको आन्तरिक विवादमा पार्टी निरपेक्ष रहने निर्णय कांग्रेसले गरेको छ । ‘उनीहरुको झगडामा कांग्रेसका दिलचस्पी छैन,’ कांग्रेसको निर्णयमा भनिएको छ, ‘यो उनीहरुको आन्तरिक द्वन्द्व हो ।’ कोरोना नियन्त्रणमा सरकार पूर्णरुपमा असफल भएको कांग्रेसको निष्कर्श छ । पीसीआर परीक्षणलाई तीब्रता दिनुपर्ने यसअघिको पार्टीको निर्णय दोहोर्याउँदै कांग्रेसले सरकार जनताको जीवनरक्षाप्रति संवेदनशील नरहेको निष्कर्श निकालेको केन्द्रीय सदस्य संग्रौलाले बताइन् । उनका अनुसार किसानले मल नपाएको र सलहका कारण कृषकले ठूलो क्षति व्यहोर्नुपरेकोप्रति कांग्रेसले सरकारको ध्यानाकर्षण गराउँदै राहतका लागि आग्रह गरेको छ ।