धज्याङ र यार्तुङमा रमाए मुस्ताङी

धज्याङ र यार्तुङमा रमाए मुस्ताङी

जोमसोम : हिमाली जिल्ला मुस्ताङ धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताले धनी छ। तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङका विभिन्न गाउँमा आआफ्नै धार्मिक तथा सांस्कृतिक महत्वका परम्परागत मौलिक चाडपर्व मनाइने गरिन्छ।

मुस्ताङको थाक सात सय क्षेत्र र थाक पाँच गाउँमा छरिएर रहेका थकाली समुदायको आफ्नै मौलिक विशेषता छ। उपल्लो मुस्ताङको लोछोदिन तथा वारागुङ क्षेत्रमा बसोबास गर्ने गुरुङ विष्ट, लोहा लगायतका समुदाय आफ्नै प्रकारको मौलिक सांस्कृतिक विविधताले प्रख्यात छन्।

मुस्ताङको वारागुङ मुक्ति क्षेत्रदेखि लोमान्थाङ गाउँपालिकाको उत्तरी कोरला नाकासम्मको ग्रामीण बस्तीमा यार्तुङ, तिजी, धज्याङ आदि पर्व उल्लासका साथ मनाइने प्रचलन छ। तल्लो मुस्ताङका थकालीले तोरन्ल्ह, तिर्मी, बाह्रवर्षे मेलाजस्ता पर्व मनाउँदै आएका छन्। जाति, समुदाय तथा भूगोलका आधारमा मनाइने यस्ता पर्वले यस क्षेत्रको जातीय पहिचान, सांस्कृतिक उत्थान र समुदायबीचको सम्बन्धलाई बलियो बनाउँदै आएको छ।

उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका गाउँमध्ये लोघेकर–३ स्थित घिलिङ गाउँमा धज्याङ पर्व मनाउने प्रचलन छ। त्यसो त वारागुङ मुक्ति क्षेत्रमा पनि यो पर्व मनाइन्छ। स्थानीयवासीले उवा, गहँुजस्ता बाली लगाएपछि धज्याङ मनाउँछन्। उवा र गहँु थन्क्याउनुअघि परम्परागत यार्तुङ पर्व मनाउने चलन छ। सामान्यतः वैशाख÷जेठमा उवा, गहँु लगाइन्छ। उक्त बाली थन्क्याउनुपूर्व साउन दोस्रो साता यार्तुङ पर्व मनाइन्छ।

उपल्लो मुस्ताङमा गाउँपिच्छे फरकफरक तिथिमा यार्तुङ पर्व मनाइने गरिन्छ। लोघेकर–घिलिङ गाउँमा करिब ६४ घरधुरी गुरुङ बस्ती छ। यहाँ पौराणिक कालखण्डदेखि निरन्तर मनाइँदै आएको धज्याङ तथा यार्तुङ पर्व विभिन्न कारणबाट ४० वर्षदेखि रोकिएको थियो। तर, घिलिङवासीले पछिल्लो समय लगातार तीन वर्षदेखि यो पर्वलाई निरन्तरता दिन थालेको स्थानीयवासी नीमा ठिने गुरुङले जानकारी दिए।

धज्याङ पर्वको शाब्दिक अर्थ हो, तारो हान्ने तारा खेल। यार्तुङको अर्थ बर्खायामको समाप्ती र हिउँदयामको सुरुआत हुन्छ। पछिल्लो समय परम्परा जोगाउन तथा पर्वको खर्र्च कम गर्न दुवै पर्व एकैसाथ मनाउन थालिएको हो। दुवै पर्वको लोघेकर–३ का वडाध्यक्ष सम्तेन धावा गुरुङले उद्घाटन गरेका थिए। स्थानीयवासी परम्परागत मौलिक भेषभूषामा सजिएर पर्वमा सरिक भएका छन्।

पर्वको बेला खेतीपाती, पशुपालन तथा अन्य व्यापार व्यवसायलगायतका सबै काम थाँती राखिने चलन छ। धज्याङ पर्वको तारो खेल सुरु हुनुअघि तारो हान्ने फ्रेमलाई परम्परागत सांस्कृतिक प्रचलनअनुसार पूजाआजा गरिन्छ। यसपछि मात्र तारो हान्ने खेल आरम्भ गरिन्छ। यस प्रकारको खेल हिमाली क्षेत्रमा परापूर्वकालमा सिकार खेल्ने क्रममा चल्तीमा थियो। सिकारका रूपमा प्रयोग हुँदै आएको तारो खेल क्रमशः सांस्कृतिक खेलको रूपमा विकसित हुँदै गएको भन्ने कतिपयको भनाइ छ। बिहानैदेखि सूर्यास्तसम्म धज्याङ –तारो हान्ने खेल हुन्छ। त्यसपछि स्थानीयको रमाइलो नाचगान सुरु हुन्छ। समाजघरमै स्थानीयको परम्परागत नाच स्याब्रोदेखि अन्य विविध सांस्कृतिक नृत्य तथा मौलिक स्थानीय गीत गाएर रमाइलो गर्ने चलन रहेको वडाध्यक्ष सम्तेन धावाले जानकारी दिए। पर्वले उपल्लो मुस्ताङको सांस्कृतिक चिनारीलाई जीवन्तता दिँदै आएको वडाध्यक्ष धावाले उल्लेख गरे। पर्वमा तीन दिनसम्म तारो खेल जार थियो। महिलाहरूले भने कौडा खेल्ने, स्वादिष्ट खानाको परिकार बनाएर खाने चलन छ। घिलिङवासीले चौथो तथा अन्तिम दिन अर्थात् पूर्णिमाको दिन धज्याङ पर्व सकेर यार्तुङ पर्व मनाउने गरेका छन्। यार्तुङ पर्वमा गाउँका युवायुवती मौलिक जातीय पहिचान झल्किने पोसाक पहिरिएर घोडा दौडमा सरिक हुने गर्छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.