गुर्जोका गुरुबा
सिरहा : महोत्तरी जलेश्वरका कमलबहादुर राजलवट सरकारी जागिरे हुन्। हाल उनी आन्तरिक राजस्व कार्यालय लहान सिरहाको प्रमुख कर अधिकृत छन्। तर हिजोआज उनी सरकारी कर्मचारीभन्दा निः शुल्क गुर्जो वितरण गर्ने स्वयमसेवकका रुपमा चिनिन थालेका छन्।
उनी स्वस्थ्य रहन पछिल्लो १० वर्षदेखि आफैँ पनि जडीबुटी सेवन गर्दै आएका छन्। जडीबुटी सेवनले शरीरलाई स्वस्थ्य राख्ने उनमा विश्वास छ। उनी जडीबुटीमा बढी गुर्जो सेवन गर्छन्। त्यसैको बेर्ना उत्पादन गर्छन्। र पछिल्लो समय निःशुल्क वितरण गर्दै छन्। अध्ययनअनुसार कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन रोगसँग लड्न सक्ने शरीरको शक्ति (इम्युनिटी पावर) शरीरमा अत्यधिक हुनुपर्छ।
यसका लागि जडीबुटीको सेवन लाभदायक हुने आर्युवेदका विज्ञबाट उनले जानकारी पाए। उनी भन्छन्,‘कुनै पनि भाइरसको संक्रमण रोक्न गुर्जो उपयोगी हुने मैले आर्युवेदका विज्ञबाट जानकारी पाएँ।’ गुर्जोको स्वास्थ्य महिमा थाहा पाएपछि राजलवटले कार्यालय समय सकेर गत वैशाख दोस्रो सातादेखि यसको खेती गर्न सुरु गरे। उनले यो खेती सरकारी कार्यालयकै प्रयोगविहीन क्षेत्रफलमा गर्दै आएका छन्। शरीरमा रोगविरुद्ध इम्युनिटी शक्ति बढाउन यतिबेला गुर्जोको सेवन अत्यधिक हुन थालेको छ। गुर्जोको बढ्दो प्रयोग दरलाई थोरै भए पनि सघाउने उद्देश्यले राजलवटले आफै यसको खेती गर्न सुरु गरेका हुन्।
गुर्जोको उत्पादन सुरु गरेको जानकारी पाएपछि चिनजान हुनेले खरिद गर्न राजधानीबाट फोनमार्फत सम्पर्क गर्न थालेको उनले बताए। राजलवटले मागअनुसार केही आफूले उत्पादन गरेको र केही स्थानीयस्तरका उत्पादन संकलन गरी पठाउँदै आएका छन्। ‘उत्पादन भएको सबै पठाउन थालेपछि सबै सकिन्छ। बरु उत्पादन गर्न सुरु गर्नुपर्छ’, उनले भने,‘त्यसपछि गुर्जो माग्नेलाई बेर्ना उत्पादन गरी निःशुल्क पठाउन थालेको छु।’ उनले सुरुमा आफ्नो सरकारी निवासकै कम्पाउन्ड भित्र २ हजार गुर्जोको बेर्ना उत्पादन गरेका थिए। त्यसका लागि गाउँघरको घाँरीबाट गुर्जो संकलन गरे। एक ट्रयाक्टर माटो मगाए। बेर्ना उत्पादन गर्न उनको दाई (अवकास प्राप्त सरकारी कर्मचारी रमेशबहादुर राजलवट), छोरी काब्या राजलवट, पत्नी बिनु श्रेष्ठ र कार्यालयको कर्मचारी मनरथ उपाध्यायले कार्यालयबाहेकको समयमा सघाउने गरेका छन्।
पहिलोपटक उत्पादन गरेको बेर्नाबाट ६ सय थान बिरुवा काठमाडौं पठाएको उनले जानकारी दिए। उनका अनुसार २ सय सिंहदरबार र आन्तरिक राजस्व कार्यालयमा पठाइएको थियो। अहिले उनले ३० हजार बेर्ना उत्पादनका लागि राखेका छन्। दैनिक रुपमा २५ सयदेखि ३ हजार बेर्ना लगाउँदै आएका छन्। उत्पादन भएको देशको विभिन्न ठाउँमा ८ हजारभन्दा बढी वितरण गरिसकेको उनले जानकारी दिए।
उनी यसलाई व्यावसायिक होइन्, सेवामूलक बनाएका छन्। गुर्जोको बेर्ना उत्पादन गरी निःशुल्क वितरण गर्छन्। ‘निरोग नेपाल, निरोगी नेपाली’ नाराका साथ आफैबाट यो अभियानको थालनी गरेको उनको भनाइ छ। उनी शाकाहारी हुन्। ‘अतिरिक्त खर्च कटाएर गुर्जो उत्पादनमा लगाउँछु। लगानी धेरै लाग्दैन बिरुवा निःशुल्क पाउँछ’, उनले भने,‘प्याकिङ्ग गर्न प्लास्टिक किन्नुपर्छ। बाहिर पठाउन साथीभाइको सहयोगले पठाउँछु। न्यून खर्चमा गुर्जाका बेर्ना उत्पादन थालेका छौं।’ उनले देशैभर यसको उत्पादनको विस्तार गर्ने योजना रहेको बताए। गुर्जो निरोगिताका लागि उपयोगी भएको उनको कथन छ।
गुर्जो एक उपयोग अनेक
समान्य ज्वरोदेखि कालाजार र डेंगुजस्तो ज्वरोका बिरामीलाई गुर्जोको लहराको रस निकालेर सेवन गर्दा निको हुन्छ। आर्युवेद विज्ञका अनुसार बिहान बेलुका यसको रस सेवन गर्दा मुत्ररोग निको हुनुका साथै जण्डिस रोगमा यसको रस महमा मिलाएर सेवन गर्दा ठीक गर्छ। पाइल्समा यसको रस महसँग सेवन गर्दा निको हुनका साथै यसको पाउडर बनाएर सेवन गर्दा शरीरमा कान्ति आउने र स्फूर्ति आउछ। चर्मरोगमा यसको पाउडर र निमपानीसँग सेवन गर्दा निको हुनुका साथै अनुहारमा देखिने विभिन्न प्रकारका दाग डण्डीफोरजस्ता समस्यामा पनि यसको रस लगाउदा निको हुन्छ। यसका साथै यसको नियमित सेवनले शरीरमा रोगबिरुद्ध क्षमता अभिवृद्धि गर्छ। शरीर पोल्ने, बढी तिर्खा लाग्ने र अम्लपित्तमा पनि यसको रस सेवन गर्दा फाइदा गर्छ। तर मधुमेहका बिरामी, बालबालिका, गर्भवति महिला र सुत्केरी महिलाले यसको सेवन गर्नुअघि चिकित्सको अनिवार्य सल्लाह लिनुपर्ने विज्ञको सुझाव छ।