निर्दयीले निमोठेका कोपिला

निर्दयीले निमोठेका कोपिला

राजकरण महतो/जनकपुरधाम, दिवाकर भण्डारी/बारा, प्रदेश १ व्यूरो। विराटनगर : प्रदेश १ का पहाडी जिल्लाभन्दा तराईका जिल्लामा बलात्कारपछि हत्या भएका घटनाको तथ्याङ्क उच्च छ। त्यसमा पनि बालिकाको हत्या र मृत्यूको कारण बलात्कार देखिने धेरै घटनामा खुल्ने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ। 

दश वर्ष अघि सम्मको तथ्याङ्कलाई केलाउँदा पहाडी जिल्लामा बालिका बलात्कारका घटना भेटिए पनि त्यसपछि हत्या सम्मको घटना इलाम बाहेकका जिल्लामा भेटिदैन। इलाममा गत चैतमा सूर्योदय नगरपालिका– १३ की १७ वर्षीया आकृति राईको बलात्कारपछि हत्या भएको थियो। स्थानीय ज्योति माविमा चलिरहेको कक्षा ११ को आन्तरिक परीक्षा दिन घरबाट हिंडेकी उनको हत्या गरेर खाल्डोमा पुरेको अवस्थामा चैत्र ४ गते शव फेला परेका थियो। इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईका अनुसार घटना सार्वजनिक गर्छु भनेपछि आकृितको हत्या गरेको हत्यामा संलग्न २१ वर्षीय रोशन राईले प्रहरी समक्ष स्विकारेका थिए।

प्रदेश १ को सुनसरीमा बालिकाको बलात्कार पछि हत्याको घटना बढी देखिन्छ। धरान–१६ की १३ वर्षीया बालिका अनुशा राई २०७३ फागुन १६ गते मृत भेटिएकी थिइन्। धर्मपुत्री बनाएर राखिएकी राईको बलात्कारपछि हत्या गर्ने एक दम्पत्ती अहिले जेलमा जन्मकैदको सजाय काटिरहेका छन्।

घटनामा संगल्गन बलिमान राई र उनकी श्रीमती पदमकुमारी राईलाई गत २०७५ माघमा अदालतले जन्मकैदको सजाय सुनाएको थियो। बालिकाको हत्या भएको दुई वर्षपछि अभियोग प्रमाणित भएर निजहरू जेल गएका हुन्। 

निकै न्युन आर्थिक अवस्थाको परिवारबाट धर्मपुत्री बनाउने भन्दै राई दम्पत्तीले ती बालिकालाई घरमा लगेका थिए। हत्यापछि छिमेकीलाई समेत थाहा नदिई दाहसंस्कार गर्न लागेपछि स्थानीयले शंका गरेपछि अनुसन्धान सुरु भएको थियो।

२०७३ फागुनमै सुनसरीको चाँदवेला–९ स्थित वर्छवामा १३ वर्षिया बालिकाको विभत्स हत्या गरी ह्युमपाइपभित्र फालिएको अवस्थामा शव फेला परेको थियो। मृतक अनिताक मुडियारीको बलात्कारपछि हत्या भएको पोष्टमार्टम रिपोर्टमा देखियो। २०७३ साल मंसिरमा सुनसरीको लौकही–२ स्थित घरबाट खेततिर निस्किएकी १५ वर्षीया राधाकुमारी यादव खेतमै मृत फेला परिन्। घाँटीमा सल बाँधिएको अवस्थामा अर्धनग्न भेटिएकी उनको पोष्टमार्टम रिपोर्टमा भने बलात्कार लेखिएन। तर बलात्कार भएको पीडितका परिवारको दाबी छ।

मोरङमा छिमेकीको घरमा टिभी हेर्न गएकी १० वर्षीय बालिका रुपमती दासको सिघीया खोलामा हत्या भएको अवस्थामा शव फेला पर्यो। २०७५ माघ १२ गते उनको हत्या भएको मोरङ प्रहरीले जनाएको छ। उनको बलात्कारपछि हत्या गर्ने छिमेकी नै थिए। प्रहरीले घटनामा संलग्न विराटनगर–८ का २५ वर्षीय आवत अन्सारी र १८ वर्षीय चन्दु महतोलाई पक्राउ गरेको छ। 

धनुषाको हरिहरपुरस्थित मगरटोलकी ९ वर्षीया बालिका रेश्मा रसाइलीलाई २०७५ फागुन २ मा बलात्कारपछि जलाएर हत्या गरियो। छिमेकीको छोरीको विवाह भोजको निम्तो थियो रेश्मा परिवारलाई। उनी परिवारका साथ भोज खान गएकी थिइन्। अरू फर्केर घर आए। तर उनी नाचगानमा रमाइरहेकी थिइन्। लाइन झ्यापै गएर अँध्यारो भयो। त्यसको मौका छोप्दै विवाहमा मामाघर आएका बटेश्वर गाउँपालिका–४ का २२ वर्षीय निरज जर्घामगरले बालिकालाई फ्रुटी किनिदिने भन्दै पसल लगे। अनि नजिकैको उखुखेतमा लगेर बलात्कार गरे। पोल खुल्ने डरले बालिकाको घाँटी थिचेर हत्या गरिदिए। प्रमाण नष्ट गर्न उखुको पतकरले शव जलाइदिए। बिहान बालिकाको शव आधा जलेको अवस्थामा देखेपछि उनी भागे। लुकिछिपी बसिरहेका निरज विदेह नगरपालिका–२ दुहबीबाट फागुन ६ गते पक्राउ परे। अहिले उनी जेलमा छन्।
बालिकाका काका देवराजले भन्छन्, ‘त्यो घटनाले घाँसदाउरा गर्न जान पनि चेलीबेटी डराइरहेका छन् ।’

आठ महिने बालिका पनि शिकार

महोत्तरी औरही–१ की आठ महिने सोनाली चौधरीलाई खेलाउने बहानामा भंगाहा सीतापुर–६ जमुनियाका २५ वर्षीय भरत साहले बेपत्ता बनाए। १० भदौ २०७५ मा शव भेटिएपछि फरार साहलाई प्रहरीले कात्तिक ४ गते पक्राउ ग¥यो। हत्या गर्नु अघि साहले दुधे बालिकासँग दुष्कर्म गरेका थिए।

उता धनुषाको औरही गाउँपालिका–२, परवाहाका रामअशिष यादवको १० वर्षिय छोरी मनिता यादवको सामूहिक बलात्कार पछि हत्या गरियो।
दशैंको पूजा हेर्न घर नजिकैको दुर्गा मन्दिर गएकी मनिता फर्किइनन्। भोलिपल्ट घरदेखि एक किलोमिटर पश्चिममा रहेको धान खेतमा शव नांगो अवस्थामा फेला प¥यो। शवको पोष्टमार्टम पछि बलात्कार भएको पुष्टि भयो। घटनामा संग्लग्न सोही गाउँका ३२ वर्षे विनोद मुखिया र पर्वाहाका ३० वर्षिय नथुनी पाण्डे हाल जेलमा छन्।

तीन महिनासम्म निरन्तर बलात्कार

धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने किशोरी २०७५ फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कंदै थिइन्। अकस्मात् उनीहरूका अगाडि तीनजना चढेको मोटरसाइकल रोकियो। बहिनी डराएर भाग्न सफल भइन्। ‘दिदीलाई नशालु पदार्थ सुँघाएर बेहोश बनाइयो। आँखामा कालोपट्टी बाँधी अपहरण गरे’, पीडित किशोरीले भनिन्, ‘मुर्दारहरूले तीन महिनासम्म बलात्कार गरे।’
पीडितका अनुसार हातखुट्टा बाँधेर सुई लगाइन्थ्यो अनि बेहोस बनाएर राखिन्थ्यो। उनी तीन महिनापछि भागेर जनकपुर आउन सफल भइन्। महोत्तरी लोहारपट्टी नगरपालिका–२ सुखैनियाका २२ वर्षीय रवानी राइन कवारीसहित चारविरुद्ध किशोरी अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको मुद्दा दर्ता छ।
प्रलोभनको शिकार

बाराको कलैया उपमहानगरपालिका–६ बरेवा टोलमा ६ वर्षिया बालिका रियाकुमारी साहको २०७० चैत २७ मा बलात्कारपछि हत्या गरियो। भारत मोतिहारी घर भई कलैयास्थित माइतीमा बस्दै आएकी पार्वती साहकी छोरी रियालाई स्थानीय ३६ वर्षिय संजिव बिक्रम साहले चकलेट खान दिई फकाएर बरेवा दरवारमा लगि बलात्कार गरी हत्या गरेका थिए।

कलैया उपमहानगरपालिका–८ मदर्शा टोलकी ८ वर्षिया बालिका कञ्चन ठाकुरको पनि २०७१ चैत २२ मा बलात्कारपछि हत्या भयो। बहिनी गौरीकुमारी ठाकुरसंग चाउचाउ किन्न घरबाट निस्किएकी उनलाई बारा पिप्राविर्ता घर भई मदर्सा टोलमा डेरा गरी बस्ने २८ वर्षिय गुल्लु भनिने अरविन्द लाल दास र १७ वर्षिय पवनकुमार मिश्रले बलात्कार गरी हत्या गरेका थिए। घटनाका अभियुक्त हाल जेलमा छन्।
२०७१ फागुन ८ गते कलैया उपमहानगरपालिका–६ मोतीबाघमा नारायण साह कलवारकी ७ वर्षिया छोरी पूजाकुमारी साहको पनि बलात्कारपछि निर्मम हत्या भयो। कलैया–५ स्थित तरकारी बजारबाट स्थानीय २८ वर्षिय कन्हैयाकुमार गुप्ताले निजलाई १० रूपैयाको नोट दिई फकाएर मोतीबाघमा लगि बलात्कार गरे। घटना खुल्ने डरले घाँटी थिचेर हत्या प्रयास गरे। अचेत अवस्थामा भेटिएकी बालिका साहलाई उपचारका लागि काठमाडौस्थित कान्ति बाल अस्पताल लगिएको र घटनाको १७ दिनपछि बालिकाको मृत्यु भयो। घटनाका अभियुक्त हाल जेलमा छन्।

२०७५ मंसिर ५ गते बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१७ स्थित जंगलमा एक बालिकाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। करिब १४ वर्षिया बालिकालाई जंगलको बीचमा लगि बलात्कार पश्चात हत्या गरी फालेको अवस्थामा शव भेटिया। मृतक बालिका र घटनामा संलग्न ब्यक्तिको पहिचान हुन सकेन।
‘नाबालिकाहरू आफ्नो बचावमा प्रतिकार गर्न सक्दैनन्। उनीहरूलाई सजिलै समात्न र लुकाउन सकिने हुनाले पनि बलात्कार र यौन हिंसाका घटना बढेका छन्,’ महिला अधिकारकर्मी उर्मिला यादव भन्छिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.