सामानसहित तस्करको समूह पक्राउ
विराटनगर : मोरङका अलगअलग स्थानबाट प्रहरीले बुधबार बिहान तस्करीका सामानसहित पाँचजनालाई पक्राउ गरेको छ । 'लकडाउन' का समयमा भारतबाट भन्सार छली गरेर अवैध रुपमा सामान ल्याउँदै गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
'लकडाउन'मा दुई देशीय सीमा नाकामा आवतजावत बन्द गरिएको छ । नाका 'सिल' भएपनि सुरक्षाकर्मीलाई छल्दै नेपालबाट भारत र भारतबाट नेपालतर्फ सामान तस्करी गर्ने क्रम भने रोकिएको छैन ।
विराटनगर महानगरपालिका-१६ भट्टीमोडबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-१५ का २५ वर्षीय मुन्ना मण्डल र २८ वर्षीय मोहम्मद सोरहा रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।
साइकलमा उनीहरु भारतबाट आउँदै थिए । दुईवटै साइकल चेकजाँच गर्ने क्रममा फेन्सी सामान र कपडा तस्करी गर्ने गरेको पाइएको थियो । दुईजनाबाट भन्सार छली गरेर ल्याएका ४४ हजार मूल्य बराबरका सामान बरामद भएको राईले
बताए ।
त्यस्तै प्रहरीले भारतदेखि अवैधरुपमा पानीपुरी, कपडा तथा किराना मालसामान ल्याउँदै गर्दा एकजनालाई पक्राउ गरेको छ । विराटनगर-१६ दरैयाबाट पक्राउ पर्नेमा २६ वर्षीय अरुण साह रहेको डीएसपी राईले बताए ।
साहका साथबाट २२ हजार मूल्य बराबरको सामान बरामद भएको प्रहरीको भनाइ छ । उता मोरङको जहदा गाउँपालिका-२ जयरामचौकबाट प्रहरीले भारतदेखि टेलिभिजन सेट तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा दुईजनालाई पक्राउ गरेको छ । बिहान ६:३० बजेतिर पक्राउ पर्नेमा धनपालथान गाउँपालिका-२ का २६ वर्षीय सचिन मण्डल र जहदा-७ का ४० वर्षीय प्रशान्त मण्डललाई पक्राउ गरिएको डीएसपी राईले बताए ।
उनकाअनुसार भारतबाट आउँदै गरेको को २७ प ४७७४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा तस्करी गरेर भारतबाट ल्याउँदै गरेको अवस्थामा दुईवटा ३२ इन्चको एलइडी टेलिभिजन सेट बरामद भएको छ । सचिन मोटरसाइकलका चालक हुन् ।
पक्राउ परेकाहरुलाई उनीहरुबाट बरामद भएका मोटरसाइकल, साइकल र तस्करीका सामानसहित आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
अवैध सामानसहित पक्राउ परेका नेपाल-भारत सीमा क्षेत्रमा तस्करीको लाइन चलाउने पुराना तस्कर रहेको प्रहरीले दाबी गरेको छ । नेपालबाट भारत र भारतबाट नेपालतर्फ दैनिक रुपमा भन्सार छली गर्दै सामान कटाउने धन्दामा उनीहरुको संलग्नता रहने गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोश खड्काले बताए । 'लकडाउन' का समयमा पनि तस्करी नरोकिएपछि प्रहरीको विशेष टोली परिचालन गरेर सीमा क्षेत्रमा कडाई गर्दै निगरानी बढाइएको जानकारी उनले दिए ।