सुदूरपश्चिममा बढ्दै बलात्कार
धनगढी : २०७५ साल असारको १२ गते कैलालीको गौरीगंगा नगरपालिका— ११ कटानकी १९ वर्षीया माया विकको सामूहिक बलात्कार पछि हत्या भयो। उनी उक्त नगरपालिकामा करारमा तथ्यांक संकलन गर्ने कार्य गर्थिन्। विक हराएको चार दिनपछि, असार १५ गते उनको शव भेटियो। वडा नम्बर ११ मा पर्ने चपथली सामुदायिक वनको जंगलमा दुवै हात पछाडि बाँधेको अवस्थामा मायाको शव भेटियो।
विकको बलात्कारपछि हत्याको आरोपमा गौरीगंगा नगरपालिका–११ शिवपुरका ३० वर्षीय गणेश बडुवाल, सोही ठाउँका २७ वर्षीय मनोज बोगटी, ऐठाका २१ वर्षीय सुरज चौधरी, शिवपुरकै २० वर्षीय भुवन खाती र १९ वर्षका तपेन्द्र बोगटीलाई प्रहरीले पक्राउ गरी अपहरण, हत्या र बलात्कारको मुद्दा चलाएको थियो।
अदालतले सुरज चौधरी र भुवन खातीलाई बलात्कार गरी कर्तव्य ज्यान, गणेश बडुवाल र मनोज बोगटीलाई कर्तव्य ज्यानमा साबिकको मुलुकी ऐनअनुसार जन्मकैदको फैसला सुनाएको छ। उनीहरूले सामूहिक बलात्कार गरेर, मुखमा घाँस कोचेर हत्या गरेको खुलेपछि दुवैलाई जबरजस्ती करणीको महलअनुसार सजाय भएको हो।
बालिकाले, आमालाई पिसाब फेर्न नसेकेको गुनासो गरेपछि बलात्कृत भएको खुलेको हो। यद्यपि यो घटनामा ८० वर्षका सुवेदीलाई कैलाली जिल्ला अदालतले उमेरको हदबन्दी लागेको भन्दै पक्राउ परेको १२ दिनमै ५० हजार धरौटीमा रिहा गरिसकेको छ। बालिकाको शारीरिक परीक्षण प्रतिवेदनमा योनीमा यौनजन्य पदार्थ थुप्रिएको र च्यातिएको भन्ने उल्लेख छ।
कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ मै जेठको १० गते १२ वर्षीया अनाथ बालिकामाथि फरकफरक व्यक्तिबाट बलात्कार भयो। सोही नगरपालिका ४ का १९ वर्षीय नवीन साउदले जेठ १० गते आँप खान बोलाएर आफ्नै कोठामा लगेर बालिकाको बलात्कार गरे। त्यसकै दुई दिनपछि जेठ १२ गते अर्का २० वर्षका युवक चन्द्र साउदले पनि पसलमा चिनी किन्न गएका बेला बलात्कार गरे। पिसाब फेर्न गाह्रो भएको र यौनांगबाट रगत बग्न थालेपछि हजुरआमाले उनीमाथि बलात्कार भएको थाहा पाएकी हुन्। ती बालिकाका बुवा मानसिक बिरामी हुन् भने आमाको मृत्यु भइसकेको छ। दुवै जनामाथि जबरजस्ती करणीको मुद्दा चलिरहेको छ। गौरीगंगा नगरपालिकाकी उपमेयर अञ्चला चौधरी भन्छिन्, ‘अनाथ बालिकाको उजुरी दर्ता गराउन नै हम्मेहम्मे भयो।’
प्रदेशको राजधानी धनगढीसँगै जोडिएको कैलारी गाउँपालिका वडा नम्बर २ की ११ वर्षीया बालिका पनि बलात्कृत भएकी छन्। जेठको ३२ गते मुखमा कपडा कोचेर बलात्कार गरेको आरोपमा सोही वडाका २९ वर्षका दीपेन्द्र चौधरी (कुस्मी) पक्राउ परेका छन्। अत्यधिक रक्तस्राव भएर बेहोस भएकी बालिकालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएपछि मात्र बलात्कारको विषय खुलेको हो। पीडकले घटना गाउँमै मिलाउने र रकमको पनि प्रलोभन आएको पीडित पक्षले बताएका छन्। बलात्कारको मुद्दा मिलाउन संघीय सांसदको दबाब आएको पीडित परिवारको आरोप छ।
महिला हिंसाको क्षेत्रमा कार्यरत ओरेक नेपालले पनि लकडाउनका बेला बलात्कारका घटना बढेको बताएको छ। ओरेक नेपालकी कार्यक्रम संयोजक बिनु रानाले कैलालीमा मात्रै लकडाउनका बेला बलात्कारका ७ वटा, सामूहिक बलात्कारका ४ वटा र बलात्कार उद्योगको १ घटना दर्ता भएको बताइन्।
वर्षैपिच्छे बढ्दै बलात्कारको ग्राफ
सुदूरपश्चिम प्रदेशमा ९ वटा जिल्ला छन्। प्रदेश प्रहरी कार्यालयअनुसार हरेक वर्ष प्रत्येक जिल्लामा बलात्कारको ग्राफ बढिरहेको छ। आर्थिक वर्ष २०७३ मा प्रदेशभरिमा जबरजस्ती करणीका ७० वटा र जबरजस्ती करणी उद्योगका ३५ र १० पाँच वटा घटना प्रहरीकोमा दर्ता भएको छ भने चालू आर्थिक वर्षमा त्यो संख्या दोब्बरभन्दा पनि बढेको छ।
चालू आर्थिक वर्षको अहिलेसम्म बलात्कारका मात्रै १६९, उद्योगका ३ र हाडनाता करणीका ३ वटा मुद्दा प्रहरी कार्यालयहरूमा दर्ता भएका छन्। गत आर्थिक वर्ष २०७५/७६ मा बलात्कारका १ सय ६३ र उद्योगका ८२ गरी २ सय ४५ मुद्दा दर्ता भएको प्रदेश प्रहरी मुख्यालयले जनाएको छ।
आर्थिक वर्ष २०७४/७५ मा बलात्कारका ९६ र उद्योगका ५६ गरी १ सय ५२ मुद्दा प्रहरीले दर्ता गरेको छ। सुदूरपश्चिमका पहाडी ७ जिल्लाको तुलनामा तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै तेब्बर बलात्कारका घटना दर्ता भएका छन्।
सुदूरपश्चिम प्रदेशका निमित्त प्रहरी प्रमुख एसएसपी मुकेश सिंह बलात्कार बढ्नुमा इन्टरनेट मुख्य कारण रहेको बताउँछन्। ‘अहिले सहरमा मात्रै होइन, गाउँमा पनि इन्टरनेटको पहुँच छ, बालबालिकाहरूले त्यसको प्रयोग नकारात्मक रूपमा गरिरहेका छन्, अभिभावकको निगरानी नभएकाले पनि बलात्कारका घटना बढिरहेका छन्’ उनले भने,‘गाउँका पुरुषहरू भारत अथवा तेस्रो मुलुकमा छन्, घरमा बालबालिकाको संगत कस्तो छ ? , उनीहरू कहाँ जान्छन् ? के गर्छन् ? भन्ने कुराको निगरानीको कमी समाजमा देखिएको छ।’
प्रहरीको तथ्यांकमा २० वर्षमुनिका युवाहरू बलात्कारमा संलग्न छन्। एसएपी सिंह भन्छन्, ‘यो उमेरमा बालबालिकालाई राम्रो ‘गार्जेनसिप’ चाहिन्छ, त्यो भएन भने अपराधका घटना बढ्छन्।’ समाजले पनि यसमा अलि बढी ध्यान दिनुपर्ने बेला आएको सिंह बताउँछन्।