ठिनीका पशुपालकलाई हिमचितुवाकै त्रास
जोमसोम : मुस्ताङको घरपझोङ गाउँपालिका—५ ठिनी गाउँका पशुपालक किसानमा हिमचितुवाले पटकपटक दुःख दिने गरेपछि व्यवसाय नै संकटमा पर्ने त्रास बढेको छ। पछिल्लो एक महिनामा ठिनी लेकमा हिमचितुवाले २ दर्जन बढी भेड—च्याङ्ग्रा मारेपछि उनीहरुमा निराशा छाएको हो।
ठिनी गाउँमा एक दर्जन बढीले करिव १ सयदेखि ५ सय भेडा-च्याङ्ग्रा पालेका छन्। गाउँमा आंशिक भेडा—च्याङ्ग्रा पालन गर्नेको संख्यामा पनि उत्तिकै छ। हिउँदयामको समय हिमपात र चिसो बढेपछि बस्तीमा र गर्मीयाममा गाउँ माथिकै लेकको गोठमा पुर्याइन्छ। पर्याप्त चरन क्षेत्र रहे पनि कहिले काहीँ हिमचितुवाले गोठमै आक्रमण गरी भेडा—च्याङ्ग्रालाई क्षति पुर्याउने गरेपछि व्यवसाय माथि नै संकट उत्पन्न भएको पशुपालक किसान च्याङबहादुर थकालीले बताए।
ठिनीमाथि तिलिचो पदमार्ग जाने बाटोको तेबिसा, भ्रब्सा र नमखुलेक लगायतका स्थानमा ठिनी गाउँका विभिन्न पशुपालकको याकचौरी र भेडा—च्याङ्ग्राको गोठ छ। त्यहाँ जोमसोमका केही व्यक्तिको पनि चौरी गोठ छ। गत जेठदेखि यता हिमचितुवाले लेकको गोठमै पसेर पशुपालक च्याङबहादुर थकालीको ११ वटा, भीमकुमारी थकालीको ८ वटा, पलडिसी थकालीको ५ वटा भेडाच्याङ्ग्रा खायो।गोठमा अन्यका पनि आशिंक भेडा—च्याङ्ग्रा मार्यो।
हिमचितुवाले ठिनी गाउँमै पसेर पनि गोठमा रहेका भेडा—च्याङ्ग्रा मार्ने गरेको अर्का पशुपालक किसान भीमकुमारी थकालीले बताइन्। गाउँमा पसेर ६ महिनाअघि स्थानीय मानबहादुर थकालीको ४ वटा भेडा—च्याङ्ग्रा हिमचितुवाले मारेको उनले स्मरण गरिन्। हिमचितुवा गाउँमै पसेर दलित समूदायको ६ वटा र जमुना थापा मगरको २ वटा भेडा—च्याङ्ग्रा मारेको थकालीको भनाइ छ। हिमचितुवा गाउँमै पसेर पशुको रगत खाने गरेको उनले उल्लेख गरिन्।
मुस्ताङ जिल्ला जैविक विविधता संरक्षण गर्नका लागि नेपाल सरकार तथा अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एकयापले वन्यजन्तु संरक्षणमा योगदान ददै आइरहेको छ। संरक्षित क्षेत्रमा पटक-पटक हिमचितुवा आक्रमणका कारण स्थानीय र हिमचितुवबीचको द्वन्द बढेको हो। हिमचितुवा जैविक प्रजाती भएकाले यसले पुर्याउने क्षति न्युनीकरण गर्न पशुपालक किसानलाई समस्या परेको पशुपालक किसान पलडिसी थकालीले बताए। उनले हिमचितुवाको दीर्घकालीन समस्या समाधान गर्न एक्यापले उचित क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने उल्लेख गरे।
ठिनीका पशुपालक च्याङबहादुर थकालीले मोडल फर्मको रुपमा भेडा—च्याङ्ग्रा फर्म दर्ता गराएका छन्। उनले व्यवसाय पशुपालन गर्न निलगिरी बाख्रा पालन दर्ता गराएको बताए। उनलाई पशुसेवा विज्ञ केन्द्रले अनुदानमा गोठ निर्माण गर्न ३ लाख पनि पाए। उनले ठिनी माथिको भ्रब्सामा ३ सय बाख्रा अट्ने गोठ निर्माण गरे। भ्रब्सा र तेबिसा लेकमा पशुपालकका एक दर्जन बढी गोठ भए पनि उनीहरुलाई अझै हिमचितुवाकै त्रास छ। लेकमा सबैको गरी १५ सय बढी भेडा—च्याङ्ग्रा छन्। ठिनीका पशुपालकले भेडा—च्याङ्ग्राको प्रजनन गराइ पाठा बिक्री गर्छन्।
ठिनी लेकमा एक्यापले गरेको हिमचितुवा सर्वेक्षणमा ४ वटा हिमचितुवा रहेको जनाइएको थियो। गत वर्ष मुस्ताङको घरपझोङ ठिनी र थासाङको टुकुचे र कोवाङ लेकलमा हिमचितुवाले याकचौरी मारेको थियो। हिमचितुवा पीडित पशुपालकलाई एक्यापले आशिंक राहत उपलब्ध गराउने गरेको कार्यालय प्रमुख तुलसी दाहालले बताए।