तटबन्ध छाडेर पार्क

तटबन्ध छाडेर पार्क

विराटनगर : विराटनगर महानगरपालिका–५ शंकरबारी चोकस्थित सुकुमबासी बस्तीमा ६० भन्दा बढी परिवार बसोबास गर्छन्। उक्त बस्तीमा २०७४ साल साउनमा आएको बाढीले क्षति पुर्‍याएपछि स्थानीय एक महिनासम्म भोकभोकै बाहिर बसे।

वर्षा कम भएर खोलामा बाढी आउन छाडेपछि उनीहरू घर मर्मत गर्न तर्फ लागे। उत्तर–पश्चिम हुँदै बग्ने केसलिया खोलामा आएको बाढी ‘ओभरफ्लो’ भएर बस्तीमा पसेको थियो। बाढीले क्षति गरे पनि कुनै राहत पाउन नसकेको स्थानीयको गुनासो छ। स्थानीय दुर्गाप्रसाद चौधरीले मानवीय क्षति नभए पनि बाढीले बगाएर लगेका कतिपय सानातिना टहराको लेखाजोखा नै नभएको बताए।

‘अहिले बाढीले खोलो उर्लिएको छ। कतिबेला के हुने हो टुंगो छैन,’ चौधरी भन्छन्, ‘हामी रातभर निदाउँदैनौं। खोलो नियन्त्रणका लागि हाम्रीले गरेको आग्रह कसैले सुन्दैन।’ उनले बाढीसँगै पानीको बहाव बढेकाले पूर्वतर्फ कटान तीव्र भएको र बस्ती जोखिममा परेको बताए।

अहिले प्रदेश १ सरकारको ठूलो लगानीमा हरित नाम दिएर पूर्वतर्फ खोलाको डिलमा धमाधम पार्क निर्माण भइरहेको छ तर खोलो नियन्त्रणका लागि तटबन्ध निर्माण भने गरिएको छैन। तटबन्ध निर्माण गर्दै खोलो नियन्त्रण गरी बस्तीलाई सुरक्षित बनाएपछि मात्रै पार्क निर्माण गर्नुपर्ने स्थानीय राधेश्याम मेहताले बताए।

‘खोलाले बस्ती बगाउने अवस्था छ। पहिले बाँध निर्माण गर्नुपर्ने हो,’ उनले भने, ‘तर बस्ती जोखिममा परिरहेका बेला धमाधम पार्क निर्माणको काम भइरहेको छ।’ मेहताका अनुसार पुरानै हिसाबमा खोलाले बाढी नाघेर ‘ओभरफ्लो’ भयो भने सुरुमा त्यही पार्क बगाउँछ। त्यसपछि बाढी बस्तीतिर पस्ने उनको भनाइ छ।

बस्तीसँगै निर्माणाधीन पार्क उच्च जोखिममा रहेको स्थानीय बासिन्दाको भनाइ छ। प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटक विकास आयोजनाअन्तर्गत ५० लाख रुपैयाँको लागतमा आर्थिक वर्षको अन्तिममा हरित पार्क निर्माण भइरहेको हो। वर्षा भइरहे पनि मन्त्रालयले उपभोक्ता समिति गठन गर्दै वैशाख २३ गते सम्झौता गरी जेठदेखि पार्कको काम अघि बढाइएको हो।

‘सुरुमा तटबन्ध बनाएर खोला नियन्त्रण गरेपछि मात्रै पार्क बनाउँदा बस्ती र पार्क दुवै सुरक्षित हुने थियो,’ पार्क निर्माण अनुगमन समितिका सदस्य डोमा मण्डलले भने। उनले असारे विकासका रूपमा अगाडि बढिरहेको पार्क निर्माणको काम अपारदर्शी रहेको गुनासो गरे। वडाध्यक्ष मीनकुमार आचार्यको विशेष पहलमा बजेट विनियोजन गरी मनोज खड्काको अध्यक्षतामा उपभोक्ता समिति गठन गर्दै एक बिघा १२ कट्ठा क्षेत्रफलमा पार्क निर्माण भइरहेको मण्डलले बताए।

खोलाको कटानका कारण बढेको जोखिमका बारेमा जनप्रतिनिधिदेखि मुख्यमन्त्री शेरधन राईसम्मलाई जानकारी गराइसकिएको स्थानीयको भनाइ छ।

पार्क निर्माणस्थलमा केशलिया खोलाले गरिरहेको कटान देखाउँदै स्थानीय।

पार्क निर्माण उपभोक्ता समितिका सदस्य सनोज मण्डलले आफूखुसी हिसाबमा उपभोक्ता समितिका अध्यक्ष खड्काले काम अघि बढाएको आरोप लगाए। ‘समितिमा रहेका हामीले लागतदेखि सबै स्टमेट हेर्न माग्दा पनि उपलब्ध गराइएको छैन,’ उनले भने, ‘मनोमानी हिसाबमा भइरहेको निर्माणको क्रममा कति खर्च भइसक्यो र कसरी काम सम्पन्न गर्नुपर्ने हो भन्ने थाहै छैन।’

सबै हिसाबकिताब देखाउन आलटाल गरिएकाले शंका उब्जिएको मण्डलको भनाइ छ। उनका अनुसार कमसल सामग्रीको प्रयोग र लापरबाहीपूर्ण तथा गुणस्तरहीन कामका कारण निर्माणको सुरुमै पार्क निर्माण विवादित बनेको थियो।

खोला नियन्त्रणको माग पटक–पटक गर्दा पनि सुनुवाइ नभएको स्थानीय अशोक मण्डलले बताए। वडाध्यक्ष आचार्यले तटबन्ध बनाउँदै खोला नियन्त्रण गरेर बस्ती र पार्क सुरक्षित बनाउन गरिएको पहल खेर गएको बताए। ‘सरकारले खोला नियन्त्रण गर्नेभन्दा बजेट दिँदैन। मन्दिर र पार्क बनाउन दिन्छ।’ तटबन्ध निर्माणमा आफ्नो वडाको क्षमताले नभ्याउने आचार्यको भनाइ छ।

पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष मनोज खड्काले आन्तरिक एवं बाह्य पर्यटकलाई घुमफिर गर्ने एवं बालबालिकालाई खेल्ने ठाउँको अभाव पूरा गर्न पार्क बनाउने काम भइरहेको बताए। यसलाई निकट भविष्यमा ‘पिकनिक स्पट’ का रूपमा विकास गर्ने उनको दाबी छ। खड्काले खोला नियन्त्रण नगरेसम्म बस्ती र पार्क सुरक्षित हुन भने नसक्ने बताए। उनले भने, ‘मलाई खोला नियन्त्रणका लागि गर्नुपर्ने तटबन्धका बारेमा कुनै जानकारी छैन। तर मुख्यमन्त्रीबाट यसका लागि जतिसक्दो चाँडो प्रक्रिया सुरु गर्ने आश्वासन प्राप्त भएको छ।’

कटानको समस्या समाधानका लागि अहिलेसम्म कुनै योजना भने नपरेको खड्काले बताए। धमाधम भइरहेको पार्क निर्माणको सबै हिसाबकिताब पारदर्शी रहेकाले यो वा त्यो बहानामा विवाद गर्नुको कुनै अर्थ नरहेको उनको दाबी छ।

पार्क निर्माण स्थलमा कम्पाउन्ड वाल, चौतारो, शौचालय बनाउने र वालको बुट्टा काट्ने काम भइरहेको जानकारी दिए। उपभोक्ता समितिका सदस्यले भने बिमसहित ६ वटा रड राखेर पिलर उठाउँदै वाल बनाउनु पर्नेमा त्यसअनुरूप काम नभएको आरोप लगाए। मन्त्रालयका पर्यटन विकास आयोजना प्रमुख टपबहादुर श्रेष्ठले धमाधम पार्कको काम भइरहेकाले खोट लगाउने ठाउँ नभएको दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.