तुलसीपुर उपमहानगरका जनप्रतनिधिको तीन वर्ष
दाङ : तीन वर्से कार्यकाल पूरा भएको अवसरमा तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधिले समीक्षा गरेका छन्। तीन वर्षको समयमा धेरै उत्कृष्ट काम भएको र केही अधुरा रहेको उल्लेख उनीहरुको निष्कर्ष छ।
उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेले तीन वर्षमा तीन उत्कृष्टसहित नगरमा नमुनायोग्य काम भएको बताए। ‘यो अवसर नगरबासीमा खुसी साटासाट गर्नुपर्ने अवसर हो’, उनले भने। पदभार ग्रहण गरेको ३ वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले ३ वटा क्षेत्रमा तुलसीपुर उपमहानगरपालिका उत्कृष्ट भएको जानकारी दिए।
‘२० वर्षदेखि रिक्त रहेको स्थानीय तहको कार्य सम्पादन तथा मूल्यांकनमा मुलुकभर अन्तिम स्थानमा हुने उपमहानगरपालिका जनप्रतिनिधि आएपछि, उत्कृष्ट भएको छ’, उनले भने। नेपाल सरकार सहरी विकास मन्त्रालयले प्रत्येक वर्ष गर्ने नागरिकको सेवामा उत्कृष्ट नगरपालिका घोषणा, स्मार्ट सिटीको अवधारणमा सुरु भएको अनलाइन सिस्टम मार्फत सबै वडामा पञ्जीकरण सेवा सञ्चालन गरेमार्फत् उत्कृष्ट उपमहानगरपालिका र युवा राष्ट्रिय परिषद्ले युवा मैत्री नगर तुलसीपुर उपमहानगरपालिकाको रुपमा सरकारले घोषणा गर्दै ५ लाख नगदसहित सम्मान भएको नगरप्रमुख पाण्डेले बताए।
‘हामीले तीन वर्षमा तीन उत्कृष्ट कार्य गर्यौँ’, उनले भने, ‘कति हामीले सुरु गरेका नीतिहरु संघ र प्रदेश सरकारले समेत अबलम्वन गरेका छन्। यो पनि हाम्रो उपलब्धि हो।’
महिला मैत्री लैङ्गिक नगरपालिकाको अवधारण अनुसार सबै वडामा स्वास्थ्य संस्था सञ्चालन गरिएको, सामुदायिक शिक्षा सुधारमा काम गरिएको मेयर पाण्डेले जानकारी दिए। उनले साधारण शिक्षा बाट प्राविधिक शिक्षा सञ्चालन गर्न ८ वटा विद्यालयमा लागु गरिएको बताए।
पहिलो चरणमा मेट्रो र बहुप्राविधिक शिक्षालय अन्तर्गत वन विज्ञान सुरु भएको छ। विभिन्न वडाका गरेर ३२ वटा सामुदायिक विद्यालयलाई मर्ज गरिएको छ।
नगरले विकास निर्माणका कामलाई अघि बढाउनका लागि विकास प्राधिकरणको अवधारणा अघि सारेको छ। तुलसीपुर उपमहानगरपालिकाले विकास प्राधिकरण गठन गरेपछि अन्य पालिकाले पनि त्यसलाई पछ्याएको उनले बताए।
विकास प्राधिकरण स्थापना भएपछि ८० किलोमिटर सडक निर्माण गरेको उनको भनाइ छ। नगरप्रमुख पाण्डेका अनुसार तीन वर्षको अवधिमा केही योजना भने अझै अपुरा रहेका छन्। स्मार्ट सिटीदेखि नमुना पुस्तकालय, ट्रेड टावर र पार्किङ बनाउने योजना अझै अधुरो रहेका छन्।
साउन देखि ‘नो क्यास’
उपमहानगरपालिकालाई आगामी आर्थिक वर्ष अर्थात् साउन १ गतेदेखि डिजिटल प्रविधिमा लैजान योजना रहेको नगरप्रमुख पाण्डेले बताए। ‘नगरमा कागजको प्रयोग र नगद कारोबारलाई पूर्णरुपमा बन्द गर्ने तयारी भएको बताए। उनले भने, ‘त्यसका लागि प्रक्रिया अघि बढिसकेको छ, नगद कारोबार बन्द गर्नका लागि बैंकसँग पनि सहमति भइसकेको छ।’