बाढीले दुई बजारै बगायो

बाढीले दुई बजारै बगायो

बाह्रबिसे (सिन्धुपाल्चोक) : बाह्रबिसे नगरपालिका–५ जम्बुका दावा तामाङ विद्यालय पुनर्निर्माणको काम गर्न मानेश्वारा गएका थिए । उनी बुधबार उतै बसे । यता बुधबारै मध्यरात आएको बाढीले उनकी आमा (माइली तामाङ)लाई बेपत्ता बनायो । बाहिर भएकाले उनी जोगिए ।

‘राति एक्कासि ठूलो आवाज आयो, आमालाई फोन गरेको लागेन’, उनले भने, ‘के भएछ भनेर दौडेर आउँदा यहाँ त केही पनि बाँकी रहेनछ ।’ गाउँमा रहेका खासै कोही पनि नजोगिएको उनले सुनाए ।

राति १२ बजेतिर ठूलो आवाजसहित आएको बाढीले बस्ती तहसनहस पारेको घटनास्थलपारि रहेका उनले बताए । उनले ठूलो आवाजपछि गाउँमा ‘केही प्रलय’ भएको सोचेर राति नै आउँदा बस्ती बगरमा परिणत भएको देखेका थिए ।

अरनिको राजमार्गमा पर्ने दुई बजार बुधबार मध्यरात बाढीले बगाएको हो । जम्बुमा दुई जनाको मृत्यु भएको छ भने एकै परिवारका पाँचसहित १८ जना बेपत्ता छन् । भोटेकोसी गाउँपालिका–५ बुल्कोटमा चार जना बेपत्ता भएका छन् ।

जम्बुमा याल्मु खोलाको बाढीले १५ घरभन्दा बढी र बुल्कोटमा स्थानीय खोलाको बाढीले करिब १० घर बगाएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बाह्रबिसे–५ का २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरीको मृत्यु भएको बताए । स्थानीयले बाबुछोरीलाई बिहीबार बिहान मृत अवस्थामा फेला पारेका थिए ।

काफ्लेका अनुसार जम्बुमा बेपत्ता हुनेमा ७२ वर्षीय भीमबहादुर वाइबासहित उनको परिवारका पाँच जना छन् । जसमा ७० वर्षीया चिनीमाया वाइबा, २९ वर्षीया लीलामाया वाइबा, आठ वर्षीया पासाङडोल्मा वाइबा र दुई वर्षीया निमा डोल्मा वाइबा छन् । स्थानीय २५ वर्षीय लक्ष्मण वाइबा, १३ वर्षीया सुनमाला वाइबा, ५५ वर्षीय जनकबहादुर थिङ, २८ वर्षीया सविना तामाङ, चार वर्षका आकाश तामाङ, ५७ वर्षीय तोकबहादुर तामाङ पनि बेपत्ता छन् । त्यस्तै, २२ वर्षीया सलिना तामाङ, २५ वर्षीय सुवेश तामाङ, ६५ वर्षीया माइली तामाङ, नाम, उमेर नखुलेका एक चिनियाँ नागरिक र ५५ वर्षीय युक्तबहादुर तामाङलाई बाढीले बेपत्ता बनाएको छ ।

जाइका परियोजनाअन्तर्गत भूकम्पपछिको पुनर्निर्माणमा खटिएका दाङका इन्जिनियर २४ वर्षीय आकाश केसी, मध्य भोटेकोसी पावर कम्पनीका सेक्युरिटी ३५ वर्षका हिमेश शर्मा बिहीबार साँझसम्म बेपत्ता रहेको काफ्लेले बताए । इन्जिनियर केसी लकडाउनपछि असार दोस्रो साता मात्र घरबाट फर्किएको केसीका आफन्त वेदबहादुर बस्नेतले टेलिफोनमा अन्नपूर्णलाई बताए ।

जम्बुबाट करिब सात किलोमिटर माथि पर्ने बुल्कोटमा एकै परिवारका चार जना बेपत्ता भएका छन् । ६२ वर्षीय निमा दोर्जे तामाङ, २७ वर्षीया मञ्जु तामाङ, उनका छोरा ११ वर्षीय पासाङ नोर्बु तामाङ र सात वर्षीया साहिल तामाङलाई बाढीले बेपत्ता बनाएको हो । खोलामा बाढीसँगै बगेको लेदो र भोटेकोसी नदीमा बढेको बहावका काारण बस्तीमा थप क्षति पुगेको थियो ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पाँच जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाइएको बताए । लगातारको वर्षा र राजमार्गका दुवैतर्फ बाढी र पहिरोले सडक अवरुद्ध हुँदा उद्धार तथा बेपत्ताको खोजीमा समस्या भएको थियो । बाह्रबिसेनजिकै खागदलमा पहिरोका कारण सडक अवरुद्ध भएकाले घटनास्थलमा सुरक्षाकर्मी पुग्न केही ढिला भएको उनले उल्लेख गरे ।

‘खागदल र नयाँ पुलको अवरोधका कारण बाह्रबिसे र तातोपानी दुवै तर्फबाट घटनास्थल पुग्न समस्या भएको थियो’, उनले भने, ‘अन्ततः अर्को बाटोबाट घुमेर सुरक्षाकर्मी घटनास्थल पुगेका थिए ।’ घाइतेलाई उपचारमा पठाइए पनि वर्षा र पहिरोका कारण बेपत्ताको खोजीमा समस्या आएको उनको भनाइ छ । बेपत्ताको खोजीमा शुक्रबारदेखि थप जनशक्ति परिचालन गरिने स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले बेपत्ताको खोजी र पीडितको राहतमा कुनै कसर बाँकी नराख्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । घटनापछि सभामुख सापकोटा, बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री युवराज दुलालसहित प्रदेश सरकारको टोली हेलिकप्टरमार्फत घटनास्थल पुगेको थियो ।

बाह्रबिसे नगरपालिकाले मृतकका परिवारलाई तत्काल १÷१ लाख रुपैयाँ राहत, घाइतेको उपचारका लागि जनही १÷१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख निमफुन्जो शेर्पाले बताए ।

जो बेपत्ता छन्

भोटेकोसी गाउँपालिका–४

१. निमा दोर्जे तामाङ ६२ वर्ष

२. पासाङ नोर्बु तामाङ ११ वर्ष

३. मञ्जु तामाङ २७ वर्ष

४. साहिल तामाङ ७ वर्ष

बाह्रबिसे नगरपालिका–५

१. भीमबहादुर वाइबा – ७२ वर्ष

२. चिनीमाया वाइबा ७० वर्ष

३. लीलामाया वाइबा २९ वर्ष

४. पासाङ डोल्मा वाइबा ८ वर्ष

५. निमा डोल्मा वाइबा २ वर्ष

६. लक्ष्मण वाइबा २५ वर्ष

७. सुनमाला वाइबा १३ वर्ष

८. जनकबहादुर थिङ ५५ वर्ष

९. सविना तामाङ २८ वर्ष

१०. आकाश तामाङ ४ वर्ष

११. हिमेश शर्मा ३५ वर्ष (मध्य भोटेकोसी आयोजनाका कर्मचारी)

१२. आकाश केसी (दाङ) २४ वर्ष (जाइका परियोजनाका इन्जिनियर)

१३. तोकबहादुर तामाङ ५७ वर्ष

१४. सलिना तामाङ २२ वर्ष

१५. सुवेश तामाङ २५ वर्ष

१६. युक्तबहादुर तामाङ ५५

१७. माइली तामाङ

१८. नाम नखुलेका चिनियाँ नागरिक

मृतक

बाह्रबिसे नगरपालिका–५

२० वर्षीय निकेश बस्नेत

उनकी तीन वर्षीया छोरी

स्रोत : जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.