ठूला विपद् आउँछन् तर चल्दैन प्रधानमन्त्री उद्धार कोषको ३ अर्ब

ठूला विपद् आउँछन् तर चल्दैन  प्रधानमन्त्री उद्धार कोषको ३ अर्ब

काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ अर्ब रुपैयाँ थन्किएर बसेको छ। ठूला आपत्तिविपत्ति आउँछ तर त्यो रकम हतपत चल्दैन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता राजेन्द्रप्रसाद पौडेल कोषमा रहेको रकम खासै खर्च नहुने बताउँछन्। ‘यो राज्यको ढुकुटी हो। आपत्विपत्मा खर्च हुन्छ’, उनी भन्छन्। गत वर्ष यो कोषबाट एक पैसा पनि खर्च नभएको उनी सुनाउँछन्।

उनका अनुसार कुनै ठूलो आपत् आयो, विनियोजित रकमले काम गरेन भने मात्रै कोषबाट खर्च गरिने हो। यो कोष प्रधानमन्त्री कार्यालयले पनि खर्च गर्दैन। विपत्का बेला माग भए आवश्यकता हरेर मात्रै उपलब्ध गराउने प्रावधान छ।

प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष प्रशासकीय कार्यविधि (नियमित) गर्ने ऐन २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सञ्चालन नियमावली २०६३ बमोजिम स्थापना गरिएको हो। यो कोषका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहन्छन्। गृह, स्वास्थ्य तथा जनसंख्या, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालयका सचिव सदस्य रहन्छन्।

बाढीपहिरो, आगलागी, भूकम्प, आँधीबेहरी, अतिवृष्टि, अनावृष्टि, पशुपक्षी तथा अन्य जीवबाट सरुवा भई आउने रोग वा सरुवा रोगको महामारी, प्राकृतिक कारणले हुन सक्ने सडक दुर्घटनाजस्ता प्रकोपबाट उत्पन्न हुने धनजनको क्षतिमा यो कोषको प्रयोग गरिने कार्यविधिमा उल्लेख छ। प्राकृतिक प्रकोपमा परेकाको उद्धार, तत्कालीन राहतका लागि अस्थायी शिविर खडा, पीडितलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, औषधि खरिद, घाइते तथा बिरामीको उपचारलगायत काममा यसको रकम प्रयोग हुन्छ।

पीडितका लागि अस्थायी आ श्रयस्थल निर्माण एवं पुनःस्थापना कार्यमा पनि यो कोष प्रयोग गरिन्छ। कोषमा नेपाल सरकारले प्रदान गरेको रकम, विभिन्न दातृ मुलुक, दातृ संस्था, स्वदेशी तथा विदेशी गैरसरकारी संस्था, राजनीतिक दल, ट्रेड युनियन, नागरिक समाज, सर्वसाधारण, पेसागत संगठनले स्वेच्छाले प्रदान गरेकोलगायत रकम जम्मा हुने गरेको छ।

कोषको रकम कर्मचारीको तलबभत्ता, सुविधा भ्रमण खर्च, कसैलाई चन्दा, उपहार, पुरस्कारका रूपमा उपलब्ध गराउन नपाउने व्यवस्था छ। प्राकृतिक प्रकोपसँग सम्बन्धित विषयबाहेक कसैलाई आर्थिक सहायता उपलब्ध गराउन नपाउने व्यवस्था पनि छ।

कोषको रकम उपलब्ध गराउँदा प्राकृतिक प्रकोपको सघनता र व्यापकता, कोषमा उपलब्ध रकमको औचित्यसमेतलाई हेरी गृह मन्त्रालयमार्फत केन्द्रीय दैवी प्रकोप उद्धार समिति तथा जिल्ला दैवी प्रकोप उद्धार समितिको सिफारिसमा मात्र प्रयोग गर्ने गरिएको छ।

प्रधानमन्त्री कार्यालयमार्फत खर्च नभए पनि केन्द्रीय दैवी प्रकोप उद्धार समिति, जिल्ला दैवी प्रकोप उद्धार समितिबाट खर्च हुँदा दुरुपयोग हुने गरेको पाइएको छ। महालेखापरीक्षक कार्यालयको प्रतिवेदनमा विपत् कोषको नगद वितरण गर्ने गरी रकम निकासा गर्दा नियन्त्रण व्यवस्था कायम गरेको नपाइएको उल्लेख छ।

‘विपत् व्यवस्थापन कोषको रकम विपत् व्यवस्थापनमा बाहेक अन्य काममा खर्च गर्न मिल्दैन। तर, उक्त कार्यको रकम अस्पताल तथा क्याम्पस र जिल्ला तथा इलाका प्रशासन कार्यालय उद्घाटनका साथै हेलिकोप्टर प्रयोग खर्च गरेको पाइएको छ’, प्रतिवेदनमा भनिएको छ। असम्बन्धित कार्यमा प्रयोग भएको हेलिकोप्टर भाडा विपत् राहतका लागि निकासा भएको रकमबाट भुक्तानी गर्नु उचित नदेखिएको प्रतिवेदनमा उल्लेख छ। विपत् व्यवस्थापनको रकम सम्बन्धित कार्यमा मात्र खर्च गर्नुपर्ने उसले जनाएको छ।

केन्द्रमा प्राप्त जिन्सीको विवरण, मूल्यसमेत खुलाई जिन्सी किताबमा आम्दानी बाँधी स्रेस्ता खडा गरेर अद्यावधिक जिन्सी अभिलेख नराखेको, जिन्सीको प्रकृति र प्रयोजनअनुरुप वर्गीकरण गरी आवश्यक स्थान व्यवस्था गरी भण्डारण नगरेको तथा सामान वितरणका लागि माग फारम प्रयोग नगरेको अवस्था छ। कर्मचारी क्षमता वृद्धि गरी जिन्सी लगत अद्यावधिक गरी संरक्षणको उचित व्यवस्था गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.