खोला बीचमा घर, वर्षभरी डर

खोला बीचमा घर, वर्षभरी डर

राजकरण महतो र सुवास गोतामे/धनुषा, गोविन्द महतो / जनकपुरधाम : बर्दिबास-ढल्केबर बीचको राजमार्ग नजिकै एउटा गाउँ छ, सुन्दरपुर। नाम सुन्दर छ तर, त्यहाँका बासिन्दाको पीडा धेरै दुःखद छ। ७० घर टहरामा फैलिएको सुन्दरवासी अहिले रातमा निदाउन सकेका छैनन्। कुन बेला बाढी आउला र बगाउला भन्ने त्रास उनीहरूमा छ। बडहडी नदीको कटानले ढेड दशकदेखिको बासस्थानको भविष्य सक्किने हो कि भन्ने विलापमा उनीहरू छन्।

अधिकांस घरटहरा खरले छाएको र माटोले लिपेका छन्। बाढीकै वितण्डाले पटक-पटक पीडित बनेका सुन्दरपुरबासीसंग पक्की घर बनाउने आँट छैन। कारण, उनीहरूको आर्थिक अवस्था धेरै नाजुक छ। बिहानको हातमुख जोडेपछि बेलुकीको जोहो कसरी गर्ने ? भन्ने चिन्तामा उनीहरू सधैं रुमलिदैं आएका छन्।

चुनावका बेला सबै पार्टीका उमेदवारले उनीहरूलाई सक्कली लालपूर्जा र खोलाको स्थायी बाँध बनाउने आश्वासन बाँड्छन्। तर, नेताका ती आश्वासन भाषणमै सीमित हुने गरेको छ।अन्नपूर्णकर्मी सम्बादाता समाचार संकलनको सिलसिलामा सुन्दरपुर पुग्दा घेरिए। उनीहरूलाई लाग्यो, सरकारले राहत लिएर आयो। पीडाबारे खोतल्दा सुन्दरपुरबासी खुलेर आए।

लाल माया विक

६९ बर्षको भएँ। घरको अघि र पछिबाट खोला बग्छ। बाढी आउँदा रातविरात घर छोडेर भाग्नु पर्छ। ज्यानै नरहे यो सम्पत्तिको के काम ? ’तर बुढी भएँ भाग्न सक्दिन, बाढीले लान्छ भन्छन्, अब केही भए गाउँलेले नै डोर्‍याएर जोगाउलान्।

चटाई बेच्यो, नुनतेल, चामल किन्यो, खायो। सजिलो छैन, बाँच्नलाई। बाढी आएपछि सबै गाउँलेहरू एक ठाउँमा बसेर दिनरात काट्छौं। खोलाको बीचमा घर छ, यताबाट पनि छेक्छ उताबाट पनि छेक्छ, कता भाग्नु ?

सुकमाया विक

दिउँसो आए त ठीकै हो राती आए के गर्नु ? ज्यान जोगाउन मुश्किल छ। पाँच जनाको परिवार छ, खोलामा बास छ। डर, त्रास र गरिबीले कहिल्यै छोडेन। बाढीको आवाज आएपछि आङ सिरिङ्ग हुन्छ। छोडेर जाउँ, कहाँ जाउ ? लालाबाला हुर्काउनै पर्‍यो। यसपालि ठूलो बाढी आउने भनेको छ, खोलाले बगायो भने खोलामा बग्दैं बग्दैं जाने हो।

देवकुमार महतो

उमेरले ५० बर्षको भएँ। सुन्दरपुर गाउँमा बसेको ११ बर्ष भयो। खोलामा अहिले कहि कहि तट्बन्ध बन्दैछ। सरकारले लाज छोप्न बनाएको बाँधको भर छैन, बालुवाकै बाँध छ। ठूलो बाढी आउँदा सबै बगाएर लान्छ होला। यहाँ डरमर्दो छ।

हामी सुकुम्बासीको एक घुर जमिन छैन। त्यसपछि हामीले खोलैमा बस्ती बसायौं। पहिले १०-२० घर मात्रै थिए, अहिले ७० घर भयो। म बडहरी गाउँबाट आएर बस्न थालेको हुँ। हामी आफ्नो दुःख सबै पार्टीलाई भन्छौं तर, जो जित्यो उसको हामीलाई सहयोग गर्ने मन हुदैंन। बाँध बनाउन माग राखेर नगरपालिकामा कयौं पटक गयौं, हुदैंन भन्दैन। तर, बजेट धेरै लाग्छ भन्दै पन्छाउँन्छ। एक धुर जमिन छैन, खोलामा नबसेर, कहाँ भागौं ?

विर्ख प्रसादको मनको बिर्को कहिल्यै खुलेन

उमेरले ६ दशक काट्नैं लाग्दा बिर्ख प्रसाद देवकोटाका दुवै आँखा बन्द भए। श्रीमति रतीदेवी नै उनका भपर्दो सहरा बनेकी छिन्। जवानीका दिन सम्झिदैं बिर्खप्रसादका आँखा रसाए। सन्तान हुर्काउँदाको कष्ट उनी झल्झल्ति सम्झिन्छन्। पेट पाल्न उनले कहिले घाम, पानी, हुरीबतास भनेनन्। तर,उनले आफ्नो लागि एक टुक्रा जमिन खरिद गर्न सकेनन्। इमान्दारितामा बाँचेका उनी अहिले धनुषाको मिथिला नगरपालिका-९ स्थित बडहरी खोलाको माझको बगरमा जीवन खोजिरहेका छन्। उनका दुई छोरा मध्ये कान्छो ज्यालामजदुरी गर्छन्, जेठो पहिलै घरबाट अलग भइसके।

बाढीले घर जोखिममा परेपछि चिन्तित बनेका बिर्खप्रसादका परिवार। तस्बिर/राजकरण महतो

‘हिजोका सम्झना मनमा झलझलि आउँदा भक्कानो फुटेर आउँछ। त्यो बेलामा बुद्धि पुगेन, अहिले पछुताइरहेका छौं,’ बिर्खप्रसादकी जीवन संगिनी रतिदेवी भन्छिन्, कम्तिमा पाँच धुर जमिन जोड्न सकेको भएँ आज खोलाको माझमा आएर जीवन काट्नु पर्दैन थियो।

माथिबाट पानी, तलबाट पानी

जनकपुरको बाह्रविघा मैदानमा वर्षातको बेला प्लाष्टिकको ओडारमा बसेकाहरू खुल्ला आकाशमुनि तीन महिना बिताइसकेका छन्। त्यहाँ बस्दै आएका कृपाल भोसलका अनुसार हावाहुरी र पानी आएको बेला झनै दुर्दशा हुन्छ। केटाकेटी जाडो भयो भनेर रातभरी रुन्छन्। माथिबाट पानी पर्‍यो कि प्लाष्टिकको ओडारमा पानी पस्छ। कहिले सर्प आउँछ। रातभरी छोराछोरीको रोइकराई सुनेर बस्नुपर्छ।

बाह्रविघा मैदानको दक्षिण-पश्चिम कुनामा लहरै दशवटा अस्थायी प्लाष्टिकको टहरा छ। एउटै पण्डाल मुनि ६-७ जनाको दरले स-साना नानीदेखि बयोबृद्ध र बयस्क उकुस-मुकुस भएर प्लाष्टिकको ओडारको भरमा घाम-पानी र हावा-हुरी झेलिरहेका छन्। ‘यो कोरोना आएदेखि कहिल्यै पेटभरी खान पाइएन, अझ लाउने त कुरै छोडौं’, कृपाल भोसलले भने, ‘टन्टलापुर घाम छेक्ने सिँयाल छैन, माथिबाट पानी पर्दा र तलबाट पानी बग्दा पानी रोक्ने ओत छैन। हामी यहाँ मर्नु सरह बाँचिरहेका छौं।’

भारतको महाराष्ट्र प्रदेश अकौला जिल्लाका ८ घरपरिवार लकडाउनपछि जनकपुरमा अलपत्र परेका तीन महिना हुँदा समेत घर फर्किन पाएका छैनन्। खुल्ला आकाशमा दिन र रात गन्दै विताइरहेका छन्। माटोको गिलास, कप, प्लेट लगायतको खुद्रा व्यापार गरेर गुजारा गर्दै आएका उनीहरूको लकडाउनले हरिविजोग छ।

प्लाष्टिकको ओडारमा ३ बच्चा र श्रीमती सहित बस्दै आएका राजकुमारले भने., ‘हाम्रो कोही छैन, भगवान भरोसा बाँचिरहेका छौं।’ प्लाष्टिको ओडारमा वर्षात सहन कठिन भएको बताउँदै ५५ वर्षिय कैलाश भोषलेले भने, ‘यहाँबाट हिंडेर घर महाराष्ट्रसम्म जान सकिएन। बजार कसरी जाउँ, किन्न पैसा छैन, दुईचार पैसा आउने व्यवसाय पनि ठप्प छ।’

ओडारमा मुरही, चिउरा र नुन खाँदैको अवस्थामा भेटिएका राजकुमार वासुदेव फुवारले भने, ‘यत्रो कष्टकर समयमा घरमा छोरीहरू कस्तो होला, के भयो होला चिन्ता लागिराछ, कतिबेला आफ्नो देश फर्कौ भइसक्यो। तर हामीलाई भारत छिर्न पनि दिइदैन ? ’

कैलाश शोलङखेले भने, ‘पुर्खादेखि नै भाँडावर्तनको कामबाटै जीवन गुजारा गर्‍यौं, नेपाल फसेपछि त जीवन नै रोकियो जस्तो लाग्दैछ।’ बस्ने, खाने, देखि पिउने पानी सम्मको अभाव झेलिरहेका घुमन्तेहरूको जीवन अहिले नरकतुल्य भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.