जिरीमा पहिरोले खाद्यान्न पसल बगायो
दोलखा : पूर्वी दोलखाको जिरी नगरपालिका-५, लिंकन बजारमा रहेको एक खाद्यान्न पसल पहिरोले बगाउँदा करिब २५ लाखको क्षति भएको छ । गएरातिको अविरल वर्षाका कारण शुक्रबार बिहान करिब ५ बजे ५० मिटर माथिबाट आएको पहिरोले खाद्यान्न पसल भएको लमु तामाङको ढुंगा माटोले बनेको २ तले घर बगाउँदा २५ लाखको क्षति भएको हो।
गौरीशंकर गाउँपालिका-६, चंखु घर भई जिरीमा पसल गरेका ६० वर्षीय सन्जुमान तामाङको पसल पहिरोले बगाएको दोलखाका डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।
मान्छेहरूलाई सुरक्षित स्थानमा सारिएको डीएसपी पोखरेलले बताए । डीएसपी पोखरेलका अनुसार मानवीय तथा चौपाया क्षति नभए पनि करिब ३ सय बोरा चामल, १० बोरा दाल, ३० कार्टुन तेल लगायतका खाद्यान्न बगाएको छ।
पहिरोले कुखुराको दाना, चियापती, पिना, चाउचाउ, ढुटो, मरमसला लगायत बगाएको डीएसपी पोखरेलले जानकारी दिए ।