'अख्तियारको अधिकृत' भन्दै बार्गेनिङ गर्ने ज्योतिष क्षेत्रीसहित ९ जना पक्राउ
काठमाडौं : अख्तियारको अनुसन्धान अधिकृत भन्दै ठगी गर्ने ज्योतिष अर्जुनकुमार थापा क्षेत्रीसहित ९ जना पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा प्रहरी महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले आफू ज्योषि भन्ने थापा क्षेत्री, विजय रावल, जगदिश खड्का, राजेन्द्र कुमार श्रेष्ठ, राजेश गुरुङ, शम्भु प्रसाद रेग्मी, शंकर बिक्रम खड्का, श्याम सिंह थापा र विवेक पोखरेललाई पक्राउ गरेको हो।
उनीहरुलाई काठमाडौंको गौरीघाट, गौशाला र पुरानो बानेश्वर क्षेत्रबाट नियन्त्रणमा लिई थप अनुसन्धानको लागि महानगरीय अपराध महाशाखा टेकुमा पठाइएको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।
काठमाडौ बुढानिलकण्ठ नगरपालिका चपली बस्ने जग्गा व्यवसायीसँग जग्गाको विषयमा अख्तियारमा उजुरी परेको छ भन्दै अपराधिक लाभ लिन खोजी फोनबाट सूचना कर्तालाई पटकपटक मिसकल गर्ने, फोन रिसिभ गर्दा आफूलाई अनुसन्धान अधिकृत भन्दै अख्तियारमा उजुरी परेको छ, अनुसन्धान प्रकृया अगाडि बढेको भन्दै जानकारी गराउने, अनुसन्धान प्रक्रिया रोक्ने भए मलाई भेटनुस जस्ता एसएमएस पठाउने, फोन गरी भेट्न बोलाई डर धाकधम्की देखाउने कार्यमा उनीहरु संलग्न रहेको थिए।