पहिरोले अवरुद्ध बिपी र मध्यपहाडी सडक खुल्यो
सिन्धुली : लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण अवरुद्ध बिपी र मध्यपहाडी लोकमार्ग खुलेको छ। दुवै राजमार्गको सिन्धुलीखण्डमा अवरुद्ध सडक शनिबार दिउँसोपछि खुलेको हो।
सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ कुडुलेमा र फिक्कल गाउँपालिका-२ मा पहिरो खसेपछि अवरुद्ध मध्यपहाडी लोकमार्ग संचालनमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता श्यामकुमार खत्रीले जानकारी दिए।
‘सडकमा खसेको पहिरो जेबीसी लगाएर हटाएपछि शनिबार दिउँसोबाट दुबैतर्फी संचालनमा आएको छ,’ उनले भने। सडक खुलेसँगै अलपत्र परेका सवारीसाधन र यात्रु गन्तव्यतर्फ गएका छन्।
मध्येपहाडी लोकमार्ग अवरुद्ध हुँदा सिन्धुली, उदयपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बुलगायतका पहाडी जिल्लाबाट काठमाडौं जाने र आउने सयौं सवारी साधन तथा पैदलयात्रु अलपत्र परेका थिए।
यसैबीच बिपी राजमार्ग अन्तरगत सिन्धुलीको सुनकोशी गाउँपालिका-१ कमारेफाट र वडा नम्बर ६ को कानढुंग्रीमा लेदो खस्दा अवरुद्ध बिपी राजमार्ग सन्ञ्चालनमा आएको छ। ‘सडकमा आएको पहिरो र लेदो हटाइएपछि उक्त राजमार्ग पनि संचालनमा आएको छ। अहिले सवारी साधन निर्वाध रुपमा सञ्चालन भएका छन्।