जाजरकोट पहिरोमा घाइते भएकालाई हेलिकप्टरबाट उद्दार : उपचारका लागि सुर्खेत लगियो
जाजरकोट : गत शुक्रबार जाजरकोटको बारेकोटमा बाढीपहिरोमा परी गम्भीर घाइते भएका दुई जनालाई हेलिकप्टरबाट उद्दार गरिएको छ। पहिरोमा परी घाइते बारेकोट ४ का ५६ वर्षीय लालबहादुर नेपाली र बारेकोट ६ धुमाखोलामा आएको बाढीले बगाउँदा घाइते भएका सात वर्षीय रामचन्द्र चलाउनेलाई नेपाली सेनाको हेलिकप्टरले उद्दार गरेको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले जानकारी दिए।
बिहीबार राती आएको पहिरोले बारेकोट ४ सार्कीटोलका दुई घर बगाउँदा सात जनाको मृत्यु भएको थियो। पाँच जना बेपत्ता छन्। प्रहरी, सेना र स्थानीयले बेपत्ताको खोजी कार्य शनिबार बिहानैदेखि गरिरहेको भए पनि बेपत्ता भेटिन नसकेको डिएस्पी श्रेष्ठले बताए। नेपाली सेनाको उद्दार टोली घटना स्थल पुगेर पहिरोमा पुरिएकाको खोजी गरिरहेको छ।
खराब मौसमका कारण उद्दारमा कठिनाइ भएको बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र शाहले बताए। बारेकोट १ कोट्ली, बारेकोट ५ तोल्खान, कालाखोली, भैलोखान, वडा नं ४ गोठगाउँ, जिरी, मैना लगायतका बस्ती पहिरोको उच्च जोखिममा रहेकाले स्थानीय विद्यालयमा राखिएको उनले बताए। ती गाँउका करिब दुई सय घरधुरी पहिरोको जोखिममा परेको अध्यक्ष शाहले बताए। पानी परिरहेकोले स्थानीय त्रसित छन्।