महिनावारीका पीडा
महिनावारीलाई रजस्वला तथा नछुने पनि भनिन्छ। यो महिना दिनको अन्तरमा हुने भएकाले यसलाई महिनावारी भनिएको हो। महिलामा सामान्यतः महिनावारी १३-१४ वर्षदेखि नै सुरु हुन्छ र करिब ४५-५० वर्षसम्म भइरहने हुन्छन्। महिला परिपक्क भएपछि वा भनौं महिनावारी सुरु हुने भएपछि पाठेघर तथा अन्डाशयमा दुई किसिमका हर्मोन (इस्ट्रोजेन र प्रोजेस्टेरोन) को उत्पादन हुने हुन्छ। यी दुई हर्मोनले पाठेघरको संकुचन (कन्ट्राक्सन) तथा यसका भित्री तह (इन्डोमेट्रियम) बनाउन, भत्काउन तथा महिनावारी गराउनेमा ठूलो भूमिका खेलेका हुन्छन्। यी हर्मोनको उत्पादन पाठेघर र अन्डासयमा भए पनि यसको उत्पादन नियन्त्रण मष्तिस्कको हाइपोथालामस र एन्टेरियर पिट्युटरी ग्रन्थिले गरिरहेका हुन्छन्।
महिनावारीका समयमा सामाजिक विभेद त छँदै छ, स्वास्थ्यमा पनि उत्तिकै पीडा दिने गर्छन्। यस अवस्थामा अत्यधिक तल्लो पेटको दुखाइ हुने, महिनावारी नियमित नहुने, धेरै रक्त श्राव हुने तथा लामो समयसम्म रक्त श्राव हुने जस्ता समस्याले धेरैलाई पिरोलेका हुन्छन्। महिनावारीमा हुने यस्ता समस्याका कारण करिब ८० प्रतिशत महिलाले शारीरिक तथा मानसिक तनाव महसुस गर्ने गरेको अध्ययनहरूले देखाएका छन्। त्यसैले महिनावारी चाँडै सुके नि हुन्थ्यो भन्ने चाहना धेरैको हुने गरेको पाइन्छ। कति महिलाले सन्तानको रहर पुगिसकेपछि महिनावारीकै समस्याका कारण पाठेघरको शल्यक्रिया गरेर फालिदिन चाहनासमेत राख्ने गरेको छ। तर महिनावारी सुकिसकेपछि चयन हुँदैन भन्दा धेरैलाई आश्र्चय लाग्न सक्छ।
समान्यतः ४५ वर्ष पार गरिसकेपछि महिनावारी सुक्ने हुन्छ। यस अवस्थालाई मेनोपाउज भनिन्छ। मेनोपाउज हुने उमेर सबैमा एउटै हुन्छ भन्न सकिँदैन। मेनोपाउज हुने उमेरमा पनि उनको शारीरिक अवस्था, स्वास्थ्य, पोषण, वंशाणुगत तथा वातावरणीय पक्षको ठूलो भूमिका रहेको हुन्छ। मेनापाउज भएपछि वा हुने क्रममा इस्ट्रोजन हर्मोनको कमी हुने हुन्छ। त्यसै कारणले उनीहरूमा स्वास्थ्यका समस्या देखा पर्न थाल्छन् र यस्ता समस्यालाई मेनोपाउजल सिन्ड्रम भनिन्छ।
महिनावारी सुक्यो भन्दैमा वा सुक्ने बेला आयो भन्दैमा आत्तिनुपर्ने केही छैन। आफूलाई स्वस्थ राख्न स्वस्थकर बानी अपनाउनुपर्छ।
महिनावारी सुक्ने अवस्थामा वा सुकिसकेपछि शरीरमा भएको इस्ट्रोजेनका कमीले यौनांग सुक्खा हुने, शरीर तात्तिएर आउने र पोल्ने (हट फ्लस), धेरै पसिना आउने, राम्ररी निद्रा नलाग्ने, मुटु धेरै ढुकढुक भएको महसुस हुने आदि समस्याले सताउने हुन्छ। यसका कारण कति महिलालाई मुटुको समस्या आउने, तौल बढ्ने, मधुमेहको राम्रो नियन्त्रण नहुनेसमेत हुन सक्छ। हाम्रो देशमा नियमित इस्ट्रोजेन परीक्षण गर्ने गरिँदैन। यी समस्याबाट छुट्कारा नपाउने भएपछि वा समस्या बढ्दै गएपछि मात्र इस्ट्रोजेनको मात्रा परीक्षण गर्ने गरिन्छ। रगतमा इस्ट्रोजेनको मात्रा परीक्षण गरेपछि वा अहिले विशेषगरी भारतका विभिन्न सहरमा ‘होल बडी चेक अप’ गरेपछि मात्र यो समस्या पहिचान हुने गरेको पाइन्छ र अनि मात्र महिनावारी सुक्ने भएकाले रहेछ जानेर स्त्रीरोगका विशेषज्ञ आउनेहरूको जमात पनि ठूलो हँुदै गएको छ।
शरीरमा इस्ट्रोजन हर्मोनको मात्र घटेकै कारणले महिनावारीमा अनियमितता आउने, योनिमार्ग सुक्खा हुने र चिलाउने, यौन चाहना नहुने, मुखमा पनि र्याल कम हुने, छाला सुक्खा हुने र चिलाउने, चाडै थकाइ लाग्ने हुन सक्छ। कसैकसैलाई टाउको दुख्ने, जीउ दुख्ने, चिडचिडाहपन बढ्ने, बढी रिस उठ्ने तथा केही डिप्रेसनमा जानेसमेत हुन सक्छ भन्ने कुरा अध्ययनले देखाएको छ। यस अवस्थामा हड्डी तीव्रगतिमा खिइने, जोर्नीका दुखाइ बढ्ने गरेको पाइन्छ। यसैको कारण स्मरण शक्ति अझ कमजोर हँुदै जाने, एकाग्रता नहुने, पिसाब रोक्न नसक्ने तथा पिसाब चुहिने, पाचन शक्ति पनि कमजोर हुने समस्या बढ्ने हुन्छ।
उमेर बढ्दै गएपछि वा बुढ्यौलीले छोप्दै गएपछि यस्ता समस्या बढ्दै जान्छन् भन्ने अधिकांशको सोचाइ हुने गरेको पाइन्छ। विशेषगरी ५० वर्षको सेरोफेरोमा रहेका तिनै महिलामा उपचार सुरु गरेपछि जुन परिवर्तन आउँछ, त्यसले निकै हर्षित भएको मैले पाएको छु। उमेर पुगेपछि अन्डासयमा रहेको ग्राफियन फोलिकल्स सकिँदै जान्छ। त्यसैले एकातिर महिलाको अन्डा उत्पादन बन्द हुन्छ र अर्कातिर इस्ट्रोजेन हर्मोनको उत्पादन पनि कम हुन्छ। यो नियमित प्रक्रिया हो। तर सबैलाई एउटै उमेरमा हुन्छ भन्न सकिँदैन। नियमित व्यायाम तथा शरीरको तौलमा सन्तुलन गर्नु, भिटामिन डी र क्याल्सियमयुक्त खाना खानु, पोसिलो, झोलिलो खानेकुरा बढी खानु, फलफूल तथा रेशादार खानेकुरा सेवन गर्नु, धूमपान तथा मद्यपान सेवन नगर्नु जस्ता स्वस्थकर बानीले यस्ता समस्याबाट केही टाढा अवश्य गराउने हुन्छ। सोयाविनमा उच्च मात्रामा फ्याटोस्ट्रोजेन तत्व पाउने भएकाले यसको सेवनले हर्मोनको सन्तुलनमा मद्दत गर्ने र ‘हटफ्लस’ हुनबाट जोगाउने जापानका विज्ञहरूको दाबी रहेको छ। त्यसैले सोयाविन तथा प्रोटिनयुक्त खाना राम्रो मानिन्छ।
महिनावारी सुरु भएपछि उमेर पुगेपछि बन्द हुने निश्चित छ। महिनावारी सुक्यो भन्दैमा वा सुक्ने बेला आयो भन्दैमा आत्तिनुपर्ने केही छैन। आफूलाई स्वस्थ राख्न स्वस्थकर बानी अपनाउनुपर्छ। यसका साथै आफूलाई समस्या देखा परेपछि वा महिनावारी सुकेपछि स्त्रीरोग विशेषज्ञसँग परामर्श लिने तथा इस्ट्रोजेनको मात्रा परीक्षण गर्नु उपयुक्त हुन्छ। इस्ट्रोजेनको मात्रा निकै कम भएकाले समस्यामा रहेका महिलाले पनि चिन्ता गर्नुपर्ने अवस्था छैन। हाम्रो देशमा पनि विभिन्न इस्ट्रोजनका डेरिभेटिभ्स तथा इस्ट्रोजन भएका औषधिहरू उपलब्ध रहेकाले सजिलै उपचार सम्भव छ। तर इस्ट्रोजन स्टोराइडल हर्मोन हो, यसका आफ्नै फाइदा र बेफाइदा रहेका छन्। विज्ञको परामर्श र अन्य आवश्यक परीक्षण नगरी यसको सेवन गर्नु हुँदैन। इस्ट्रोजेन प्रयोग गरिरहेका महिलाले पनि नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ।
-साह मोरङ सहकारी अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन्।