सहसचिवसहित १३ जनाविरुद्ध मुद्दा
काठमाडौं : भूमिसुधार कार्यालय नवलपरासीका तत्कालीन प्रमुख मालपोत अधिकृत (हाल सहसचिव) टिकाराम ज्ञवालीसहित १३ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ करोड ५ लाख ४२ हजार विगो कायम गर्दै उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नक्कली जग्गा धनी खडा गरेर ३२ विघा २ कठ्ठा १७।२५ घुर जग्गा विक्रीवितरणमा उनीहरुको संलग्नता रहेको अख्तियारले जनाएको छ ।
नवलपरासी साविक सनई गाविस वडा नं ८ख कित्ता नम्बर १२१, २५१, २९७ समेतका जग्गाहरु हदबन्दी रोक्का रहेकोमा नक्कली जग्गाधनी खडा गरी बिक्री गरेको भन्ने समेत व्यहोराको उजुरीमा अनुसन्धान हुँदा उनहरुले भ्रष्टाचार गरेको देखिएको अख्तियार प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए ।