अत्याधुनिक सडक निर्माणका लागि सम्झौता
धनगढी : एसियाली विकास बैंकको ऋण सहयोगमा धनगढीमा अत्याधुनिक सडक निर्माणका लागि सम्झौता भएको छ । क्षेत्रीय शहरी विकास आयोजना र निर्माण कम्पनी कालिका कन्स्ट्रक्सन प्रालिबीच अबको २ वर्षभित्र धनगढीका छुट्टाछुट्टै सात वटा सडक निर्माणका लागि सम्झौता भएको हो ।
गत वर्ष जेठमा टेण्डर आव्हान गरिएका सातवटा सडक गरेर १० दशमलब १ सय ८७ किलोमिटर सडक र २० दशमलब चार सय ६६ किलोमिटर नाली निर्माण हुनेछन् ।
आयोजनाका लागि ६८ करोड पाँच लाख ९८ हजार सात सय चार रुपैयाँ लागत रहेको छ । संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीका सूचना अधिकारी इञ्जिनियर श्याम बुढाथोकीले सम्झौता भएको २१ दिनभित्र निर्माण कार्यको थालनी हुने बताए । उनले भने, 'सम्झौता मितिदेखि २१ दिनसम्म कामको तयारीका लागि निर्माण कम्पनीलाई समयावधि तोकिएको छ ।'
यहि साउन १८ गतेदेखि सडक तथा नाली निर्माणको काम अघि बढ्ने छ । यी सडक निर्माण कम्पनीले २०७७ साउन १८ गतेदेखि लागू हुनेगरी २०७९ साउन १८ गतेभित्र (दुई वर्ष) मा सम्पन्न गरिसक्नुपर्ने सो सम्झौता पत्रमा उल्लेख छ ।
पहिलो चरणमा निर्माण गर्ने सम्झौता भएका सडकमा धनगढी मेनरोड (ट्राफिक चौराहदेखि कैलाली नाला) एक किलोमिटर ३८ मिटर, गुल्मचर्च सडक दुई किलोमिटर सात मिटर, र चटकपुरदेखि क्याम्पस गेटसम्म तीन किलोमिटर ६५ मिटर रहेका छन् । त्यस्तै, धनगढी-क्याम्पसगेट-जोखरताल सडक ७० मिटर, धनगढी-खुटिया (स्याउले) सडक ८७ मिटर, हसनपुर रोड एक किलोमिटर १५ मिटर र मालपोत रोड ४३ मिटर रहेका छन् ।
अब बन्ने पूर्वाधारमा सौर्यबत्ती, फुटपाथ, ढल निकास, मिड ड्रेन, साइड ड्रेन, डिभाइडर, सोलार सडक बत्ती, अण्डरग्राउण्ड विद्युतीकरण निर्माणसहितको चार लेन र दुई लेनका सडक निर्माण हुने गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको छ ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले पहिलो चरणको काम समयमै सम्पन्न भए दोस्रो चरणको कामको प्रारम्भ गरिने बताए । उनले भने, 'हामी निर्माण कम्पनीले तोकिएकै अवधिमा काम सम्पन्न गराउनमा लागि पर्नेछौं, यसमा सबैको सहयोग आवश्यक छ ।'
एसियाली विकास बैंकको ऋण सहयोगमा सुदूरपश्चिममा नेपाल सरकारले कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी, शुक्लाफाँटा र भीमदत्त नगरपालिकामा ११ अर्ब रुपैयाँको लागत हुने गरी क्षेत्रीय सहरी विकास आयोजना लागू गरेको हो ।
संरचना आफै हटाउनेलाई सम्मान गरिने
क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गतको सडक निर्माणमा सहयोग पुर्याउने घरधनीलाई उप-महानगरपालिकाले सम्मान गर्ने भएको छ । धनगढी उप-महानगरपालिकाका प्रमुख नृपबहादुर वडले आयोजना निर्माणका क्रममा सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाएर सहयोग गर्न नगरबासीलाई आग्रह गरे। 'आफ्नो संरचना आफै हटाउनेलाई उप-महानगरपालिकाले सम्मान गर्ने योजना बनाएको छ,' नगरप्रमुख वडले भने। यस्ता घरधनीको नक्सा दर्तामा छुट, अगाडिको भत्काइएको भागमा रंग रोगन समेत गरिने छ ।आयोजना निर्माणका क्रममा सडकको क्षेत्राधिकारभित्र समेत निजी संरचना छन् ।