बजेट सक्न काम देखाउने जनप्रतिनिधिलाई विप्लवले 'जन-कारवाही' गर्ने
कालिकोट : नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले गाँउ-गाँउमा आफ्ना गतिबिधि बढाएको छ ।
असार मसान्तमा स्थानीय सरकारले गरेका विकास निर्माणको कामलाई लक्षित गर्दै विप्लव नेतृत्वको नेकपाले गाँउगाँउमा भेला, बैठक तथा एमसीसी बिरुद्ध प्रदर्शन जस्ता गतिबिधि बढाएको हो ।
नेकपाले एक हप्ता अगाडि एरिया नं. ३ को बैठक रास्कोटमा बस्यो । शनिबार एरिया नं. ४ को पचालझरनामा बैठक बस्यो । एक हप्ता अगाडि जिल्लाका ७ वटा स्थानीयमा एमसीसी बिरुद्ध विप्लवका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरे । नेकपाले जिल्लालाई ७ वटा कमाण्ड एरियामा विभाजन गरेर बठक तथा भेलाहरु निरन्तर चलाइरहेको छ ।
यस्तै विप्लव माओवादीका नेताहरुले स्थानीय सरकारले गरेको खर्च मागेर छानबिन गर्ने जनाएका छन् । एरिया एरियामा हुने बैठकमा असारमा हतार हतारमा गरिएको विकास निर्माण तथा कोरोनाको नाममा स्थानीय तहले गरेको खर्चको बिबरण माग गरी छानबिन गर्ने निर्णय गर्दै आएको छ ।
कोरोनाको बाहानामा जनप्रतिनिधि र कर्मचारीहरुको मिलोमतोमा कमिसन खान व्यापक रुपमा आर्थिक दुरुपयोग भएको निश्कर्ष निकाल्दै नेकपाले त्यसको बिबरण माग गरी छानबिन गर्ने निर्णय गरेको नेकपा जिल्ला सेक्रेटरी मनीलाल ऐडी रणदीपले बताए ।
‘गाँउका सिंहदरबारहरुले कोरोनाको नाममा व्यापक रुपमा लुट चलाए । जनताले तिरेको करबाट बनेको बजेटलाई निजी स्वार्थपुर्तिका लागि खर्च गरेका छन्,’ रणदीपले भने । जनताका नाममा जनप्रतिनिधि र कर्मचारीहरुले विपद्को मौका छोपी आर्थिक लाभ लिएको उनी बताउँछन् । उनका अनुसार कोरोनाको नामका कहाँ के कति खर्च भयो । एक एक हिसाव किताब मागिने र दोषी भेटिए जोकोहीलाई माओवादीले जन कारवाही गर्नेछ ।
स्थानीय तहले असारका महिनामा गरेको विकास निर्माणका योजनाहरुको पनि हिसाव मागिने विप्लव माओवादीले बताएको छ । असारको अन्तिममा हुने विकासे कामलाई पनि आफुहरुले निगरानी गरिरहेको माओवादी नेताहरुले बताए ।