खेतमा गएका दम्पती बेपत्ता, खोलाले बगाएको आशंका
दोलखा : उत्तरी दोलखाको बिगु गाउँपालिका-२ का दम्पती बेपत्ता भएका छन् । बेपत्ता दम्पतीलाई ओराङमा खोलाले बगाउँएको आशंका गरिएको छ । ओराङ टाइबा निबासी करिब ६५ वर्षीय रामजी विक र उनकी श्रीमती करिब ६० वर्षीया बुद्धिमाया विक बेपत्ता भएको र उनीहरुलाई टाइबाखोलाले बगाउँदा सोमबारदेखि बेपत्ता भएको आफन्त उद्धव विकले जानकारी लिए ।
सोमबार बिहान करिब ११ बजे घरभन्दा पारी रहेको खेतका लागि हिँडेका दम्पती बेपत्ता भएको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ । इप्रका सिंगटीका निरीक्षक सुनजित तामाङले बेपत्ता भएको पुष्टि भए पनि खोलाले नै बगाएको दसी प्रमाण नभेटिएको बताए ।
घटनास्थल पुगेका असई कैलाशकुमार श्रेष्ठको टोलीले टाइबाखोलादेखि तातोपानी दोभानसम्म खोजी गर्दा नभेटिएको जनाएको छ । दम्पतीका ४ छोरी रहेको र सबैजनाको विवाह गरिसकेको कारण उनीहरूलाई बोलाएर थप अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक तामाङले जानकारी दिए।