वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गरेका छन्।
ढकालले आफ्नो समूहबाट उद्योग वाणिज्य संघ समूहको उपाध्यक्षका लागि गुणनिधी तिवारी, वस्तुगत संघ समूहबाट उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ र एशोसिएट सदस्य समूहको उपाध्यक्षका लागि रामचन्द्र संघई उम्मेदवार भएको घोषणा गरेका छन्।
‘मेरो उम्मेदवारी मात्रै त्यसको पूर्णता होइन्, त्यसलाई अघि बढाउन एउटा विश्वासिलो टिमको जरुरत पर्दछ। आज हामी त्यो टिमको घोषणा गर्नका लागि यहाँ उपस्थित भएका छौं। म आज यहाँ त्यसको घोषणा गर्न चाहन्छु’ उनले भने।
साउन २६ र २७ गते हुने ५४ औंँ वार्षिक साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्दैछ। महासंघमा वरिष्ठ उपाध्यक्ष नै अध्ययक्ष बन्ने प्रावधान अनुसार शेखर गोल्छाको नेतृत्वमा नयाँ कार्यसमिति चयन हुदैँछ।
महासंघको नयाँ नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षमा ढकाल र किशोर प्रधानबीच प्रतिष्पर्धा हुने देखिएको छ। उम्मेदवारी घोषणा गर्र्दै ढकालले कोरोना भाइरस(कोभिड १९) ले सिर्जना गरेको चुनौती सबैको सामूहिक प्रयासमा पार लगाउने बताएका छन्।
कोरोनाका कारण सिर्जना भएका आर्थिक चुनौतीको सामाना गर्न व्याक्तिगत पहलले प्रयाप्त नहुने भन्दै सामूहिक एकता, विश्वास र बल चाहिने बताए। विश्वास सिर्जना गर्न, एकता पैदा गर्न र बलका रुपमा कोरोनाकै बेला महासंघको नेतृत्व चयन गर्ने अवसर आएको उनले बताए।
आफ्नो समूहमा गाउँ जिल्लादेखि नीतिगत तहसम्म पहूँच राख्ने व्यक्ति रहेको भन्दै ढकालले भने, ‘हाम्रोे टीम अनुभव र विश्वासले भरिएको छ। टीममा साना तथा मझौला व्यवसायदेखि ठूलो व्यावसायिक घरानासम्मको उपस्थिति छ।’
व्यवसायीलाई दुःख परेको बेला नजिक भएर समाधान खोजिने उनले बताए। उम्मेदवारी घोषणा गर्दै ढकालले भने,‘हाम्रो र विपक्षी टीमको तुलना गर्नुस, त्यहाँका उम्मेदवारको आगत र विगत पनि हुर्नुहोस्।’
‘उहाँहरुको मात्रै होइन्, हाम्रो पनि विगत हेर्नु्होस्। हामी तपाईको समिपमा रहेर कसरी काम गरेका थियौं।’ उनले भने,‘भने,‘उहाँहरुको काम हेरिसक्नुभएको छ नि ?’
उम्मेदवारी घोषणामा शेखर गोल्छाको नेतृत्वमा नयाँ गतिशील टिम बन्ने घोषणा गरेपनि त्यसो हुन नसकेकोमा उनले गुनासो गरे। उनले भने,‘शेखरजीलाई एउटा प्रश्न सोध्न चाहन्छु, हामीले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव किन पारित गरेका थियौं ? त्यसको मर्मलाई अहिले कसले मार्दैछ ?, त्यो के का लागि ?’
‘अहिले वरिष्ठ उपाध्यक्ष शेखरजीले नै नेतृत्व पाउनुपर्छ भनेर मैले ठूलै मेहनत नगरेको भए आज के हुन्थ्यो ? हाम्रो चाहना छ, उहाँले यो कुराको हेक्का पनि राख्नै पर्छ।’ उनले भने।
‘निजी क्षेत्र देशको समृद्धिको यात्राको दरिलो खम्बा हो। तर समृद्धिको यात्रामा यही निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षाअनुसार सम्मान पाउन सकेको छैन्, चाहिएको बेला अभिभावकको भूमिका पाउन सकिरहेको छैन।’ उनले भने।
निजी क्षेत्र आर्थिक विकास र रोजगारी सिर्जनाको बलियो इन्जिन भएको भन्दै ढकालले यो इन्जिनलाई चलाउन निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य भएको बताए।
‘औद्योगिक र व्यापारिक वातावरण बनाउन थुप्रै काम गर्न बाँकी छ,’ उनले भने,‘ ती के काम हुन भनेर हामीले पहिचान गरिसकेका पनि छौं। हामी नेतृत्वमा आउना साथ ती क्षेत्रमा काम थाल्नेछौं।’
नेतृत्वमा आएपछि घरेलु नवीकरणका लागी उद्योग बाणिज्य संघको सिफारिस चाहिने व्यवस्था मिलाइने उनले बताए। ‘नगरपालिकाको ब्यवसायिक करमा उद्योग बाणिज्य संघलाई ३०/७० को सहभागिता लागू गर्न पहल गर्नेछौं।’ उनले भने।
निम्न आय भएका संघलाई कम्तिमा बार्षिक पाँच लाख रुपैयाँको आम्दानीको श्रोत जुटाउनका लागि मोडल बनाउने तयारी भएको उनको भनाइ छ। उद्यमशीलता बिकासका तालिम दिने, एक गाउँ एक उत्पादन जस्ता कार्यक्रमलाई लागू गर्ने विषय पनि हाम्रो प्राथमिकतामा रहनेछ।’ उनले भने।
जिल्लाका नापतौल, अनुगमन, बैकिङ, राजस्व लगायतका समस्या समाधान गर्नका लागि महासंघसँग सिधै जोडिने गरी संयन्त्र बनाउने उनले प्रतिवद्धता व्यक्त गरेका छन्।
देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्रयाउन, नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यावसायीक क्षेत्रमा देखा परेका समस्या समाधान गर्न र व्यावसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लविङ्ग गर्ने उनले विश्वास दिलाए।
महासंघलाई ठूला उद्यमीहरुको मात्रै नभई साना र मझौला उद्योगी व्यापारीको पनि साझा चौतारीका रुपमा स्थापित गर्न प्रयास गर्ने उनले उद्घोष गरे। प्रकृतिले थपिदिएको चुनौतीसँग जुधेर देशको समग्र निजी क्षेत्रको मनोबल उँचो पार्ने काममा दरिलो आत्मविश्वासका साथ अघि बढ्ने उनले बताए।