कोरोना पीडित जेष्ठ नागरिक घरैमा, गाउँ सिल
ओखलढुंगा : लिखु गाउँपालिकाका ७२ वर्षीय क्यान्सरपीडित वृद्धलाई कोरोना संक्रमण भएपछि गाउँ नै सिल गरिएको छ। उनलाई असार २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। अस्पतालले उनलाई घर फर्काएपछि लिखु गाउँपालिका वडा नं २ स्थित कुवापानीको विशंखे टोलमा रहेका १७ घरधुरी सिल गरिएको हो।
क्यान्सरका कारण अवस्था चिन्ताजनक भएपछि काठमाडौंबाट उपचार गराएर उनलाई गाउँ फर्काइएको थियो। काठमाडौंमै रहँदा स्वाब दिएका उनी गाउँ फर्किसकेपछि कोरोना संक्रमण पुष्टि भएको हो। ‘संक्रमण पुष्टि भइसकेपछि संक्रमित वृद्धको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा गाउँका अरुले पनि उनीसँग भेटघाट गरेको पाइयो’, प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले भने, ‘त्यसैले गाउँलाई नै क्वारेन्टाइन बनाएर सिल गरिएको छ।’
प्रजिअ पौडेलका अनुसार वृद्धलाई संक्रमण पुष्टि भएपछि उनको गाउँमा आवतजावत गर्न प्रतिबन्ध लगाइएको हो। गाउँमा नेपाल प्रहरी र लिखु गाउँपालिकाका नगर प्रहरीले सुरक्षा दिइरहेका छन्। सिल गरिएको विशंखेटोलभित्र करिब १ सय जना रहेको लिखु गाउँपालिका वडा नं २ का वडाध्यक्ष रामहरि बुढाथोकीले जानकारी दिए। यस्तै लिखु गाउँपालिकाले सिल गरिएको गाउँमा राहत वितरण गरेको छ। गाउँपालिकाका स्वास्थ्य संयोजक दिनानाथ चौधरीले दिएको जानकारी अनुसार ३० केजीका दरले एक बोरा चामल, दाल, तेल, नुन, चिनलगायतका खाद्य सामग्री वितरण गरिएको छ।
संक्रमितलाई गाउँमै किन राखियो ?
अवस्था चिन्ताजनक भएको भनिएका क्यान्सरपीडित वृद्धलाई कोरोना संक्रमण भएपछि कमाण्ड पोष्टले गाउँमै राख्ने निर्णय गरेको थियो। उनलाई परिवारले अवस्था चिन्ताजनक भएको भन्दै गाउँ फर्काएका थिए।
वृद्ध संक्रमितको पुनः पीसीआर परीक्षण गर्ने र फेरि कोरोना पोजिटिभ आएमा थप उपचारका लागि सोचिने प्रजिअ पौडेलको भनाइ छ। अस्पतालबाट घर ल्याइएका बिरामीलाई पुनः अस्पताल पठाउन समस्या रहेकाले उनलाई घरैमा रेखेदख गरिएको बताइएको छ।
सिल गरिएको क्षेत्रमा पीसीआर गर्ने तयारी गरिएको छ। सो क्षेत्रका संभावित जोखिममा रहेका सबैको पीसीआर गरिने प्रजिअ पौडेलले बताए।