सडक स्तरोन्नतिमा लापरबाही
भोजपुर : सडक स्तरोन्नतिमा लापारबाही हुँदा भोजपुर-संखुवासभा जोडने सतीघाट दिङ्ला सडकखण्ड अवरुद्ध बनेको छ। सडकखण्डमा पहिरो जान थालेपछि यातायात ठप्प हुनका साथै उत्तरी दिङ्ला क्षेत्रका स्थानीयलाई ओहोर दोहोर गर्न समस्या भएको छ।
सवारी चलेपछि औषधि उपचार, व्यक्तिगत तथा संस्थागत कामकाजका लागि स्थानीय पैदलै सदरमुकाम खाँदबारी धाउन थालेका छन्। आकस्मिक र नियमित बिरामीलाई स्वास्थ्य चेकजाँच गराउन कष्टकर यात्रा गर्नुपर्ने बाध्यता भएको षडानन्द नगरपालिका ८ दिङ्लाका सन्तोष राईले बताए। ‘सडक बिग्रिएपछि अस्पताल धाउनै मुस्किल छ, हिँडेर जाउँ भने पुग्नै गाह्रो, नजाउ मरिएला भन्ने डर’, उनले भने।
उक्त सडक खण्डको स्तरोन्नति चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्न करिब एक करोड ८ लाख बजेट छुट्याइएको थियो। तर, समयमा ठेक्का सम्झौता नहुँदा वर्षा अघि काम हुन सकेन। स्तरोन्नतिको ठेक्का पाएको काश्यप निर्माण सेवा कम्पनीले असार १० बाट मात्रै सडकखण्डका केही स्थानमा पर्खाल लगाउन थालेको छ। षडानन्द नगरपालिकाले समयमै ठेक्का सम्झौता नगर्दा काममा ढिलाइ भएको सो कम्पनी प्रमुख विपुल खतिवडाले बताए।
असार मसान्त सकिन लाग्दा उक्त सडकखण्डको ३० प्रतिशत मात्रै काम सम्पन्न भएको छ। निर्माण कम्पनीले पुन म्याद थप्न नगरपालिकालाई निवेदन दिएको छ। तर, नगरपालिकाले भने कम्पनीले समयमा सम्झौता गर्न ढिलो गरेको बताएको छ। कोरोना संक्रमणको असर देखाउँदै ठेकेदारले सम्झौता गर्न ढिलाई गरेको मेयर बीरबल राइले बताए।
कम्पनीले म्याद थप गर्न निवेदन दिए पनि असार मसान्तसम्मको मात्रै भुक्तानी गरिने उनले जानकारी दिए।
यस्तै कुलुङ जोड्ने सडकखण्डमा केही वर्षअघि लगाइएको ग्याबिन भत्काएर सोही ठेकेदार कम्पनीले मेसिनरी वाल लगाउने काम सुरु गरे पनि अलपत्र पारिएको स्थानीयको गुनासो छ। सो खण्ड अहिले पहिरोका कारण अवरुद्ध बनेको छ। ठेकेदारलाई पर्खाल लगाउन पटकपटक ताकेता गरे पनि अटेर गर्दा पहिरोको जोखिम बढेको वडा नं ६ का वडाध्यक्ष सुजन राईले बताए।