एकैदिन ८ मुद्दा : तीन स्टिङ अपरेसन, २३ जना विरुद्ध मुद्दा

एकैदिन ८ मुद्दा : तीन स्टिङ अपरेसन, २३ जना विरुद्ध मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै दिन आठ वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ भने तीनवटा स्टीङ अपरेशन चलाएर तीन जनालाई घुससहित पक्राउ गरेको छ।  प्रहरी अधिकृतको नागरिकता र शैक्षिक प्रमाण पत्र नक्कली, नगरपािलकाका तत्कालिन कार्यकारी अधिकृतको आर्थिक अनियमितता, नगरपालिकाका उपसचिवको अकुत सम्पत्ति, मालपोत कार्यालय डिल्लीबजारका प्रमुखको घुस प्रकरणसहितका २३ जनाविरुद्ध मुद्दा मंगलबार मुद्दा दायर गरिएको छ।

अख्तियारका अनुसार नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक(डीएसपी )रमेश बहादुर सिंहको नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको खुलेको छ। उनीविरुद्ध नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्म मिति सच्याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ। सिंहले जिल्ला प्रशासन कार्यालय, बझाङबाट प्राप्त नेपाली नागरिकताको प्रमाण र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्म मिति सच्चाई ढाँटी झुठ्ठा विवरण उल्लेख गरी प्रहरी प्रधान कार्यालय नक्सालबाट विज्ञापन भएको प्रहरी निरीक्षक पद ओहदाको लागि दरखास्तसाथ पेश गरी सरकारी लाभ सुविधा लिएको पाइएको आरोप पत्रमा उल्लेख छ। उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।

त्यस्तै सप्तकोशी नगरपालिका सप्तरीका तत्कालीन निमित्त कार्यकारी अधिकृत राजेन्द्र प्रसाद दाहालसहित ६ जनाउपर आर्थिक अनियमितताको आरोपमा मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुले सार्वजनिक खरिद ऐन र नियमावलीविपरीत कानूनी प्रकृया छली अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। नगरपालिकाका सवइन्जिनियर रामकान्त चौधरी र इन्जिनियर सुदिप चौधरी,सुन्दर कन्स्ट्रक्सनका प्रोप्राइटर राजकुमार यादव, शान्ति निर्माण सेवाका प्रोप्राइटर नारायणप्रसाद यादव र भष्मरवि निर्माण सेवाका सञ्चालक श्यामकान्त चौधरीलाई प्रतिवादी बनाएको छ।

सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को प्रावधानको गलत व्याख्या गरी नगरपालिकाबाट गरिने १४ लाख ९९ हजारको कामलाई आफ्नै एकल बोर्डको निर्णय गरी ३ भाग लगाई कोटेशनमार्फत ३ वटा निर्माण व्यवसायीलाई दिएको र ३ वटै निर्माण व्यवसायीहरुले नगरपालिकासँग गरेको सम्झौताविपरीत लागत इष्टिमेटबमोजिम कार्य सम्पन्न नगरी गुणस्तरहीन कार्य गरेको पाइएको छ।

नगरपालिकाका सवइन्जिनियर रामकान्त चौधरी र इन्जिनियर सुदिप चौधरीले लागत इष्टिमेटबमोजिम कार्य सम्पन्न भैसकेको भनी झुठ्ठा प्रतिवेदन तयार गरी पेश गरेको देखिएको छ भने निमित्त कार्यकारी अधिकृत दाहालले सोही प्रतिवेदनलाई स्वीकृत गरी भुक्तानीका लागि आदेश दिई भुक्तानी आदेशानुसार सम्झौताबमोजिमको रकम नगरपालिकाले निर्माण व्यवसायीहरुलाई भुक्तानी दिई हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँसगढी नगरपालिका नगरकार्यपालिकाको कार्यालय, बर्दियामा शिक्षा युवा तथा खेलकुद शाखामा उपसचिव मनप्रसाद रेग्मीविरुद्ध ‘अकुत सम्पत्ति’ आर्जनमा मुद्दा चलाएको छ। उनीविरुद्ध ४ करोड ५४ लाख ३३ हजार विगो कायम गरिएको छ।

२४ वर्ष सार्वजनिक सेवामा रहेका रेग्मीले ७ करोड ३१ लाख ४५ हजार कमाएको देखिएको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए। अख्तियारका अनुसार सो अबधिमा २ करोड ७७ लाख ११ हजार बैध आर्जन गरेका थिए।

रेग्मी २०५३ कार्तिक २२ मा जिल्ला शिक्षा कार्यालय मुगुमा विद्यालय निरीक्षकबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिए। २०७१ मंसिर १ मा उपसचिव बढुवा भएका थिए। हाल उनी नगरपालिका नगरकार्यपालिकाको कार्यालय, बर्दियामा शिक्षा युवा तथा खेलकुद शाखामा उपसचिव अधिकृत ९औँ पदमा कार्यरत रहेका छन्।

सार्वजनिक सेवामा देखी २०७६ चैत्र मसान्त सम्मको अवधिलाई जाँचअवधिमा रेग्मीले आफु एवं श्रीमती पम्फादेवी पाण्डेय र छोरी सन्ध्या रेग्मी समेतका नाममा दर्ता कायम रहने गरी घर जग्गा खरिदमा रजिष्ट्रेशन शुल्क, घर मर्मत संभार तथा जग्गा विकास निर्माण लगायतमा ४ करोड ८७ लाख ४३ लगानी गरेको देखिएको छ। त्यस्तै घर निर्माण लागत ) फिनिसिङ्ग र फर्निचर एवं घरमा जडित तथा रहेका इलेक्ट्रोनिक्स उपकरणहरु समेत) मा ६२ लाख ३८ हजार , जीवन बिमा प्रिमियम शुल्क वापत १ लाख ७७ हजार ¸ शेयर खरिदमा १ लाख ४९ हजार ¸ शैक्षिक खर्चमा २७ लाख ११ हजार ¸ सवारी साधन खरिदमा ८९ लाख २६ हजार , लाभकरमा १० लाख ६६ हजार , कर्जा चुक्ता प्रायोजनार्थ १८ लाख ६६ हजार, सुन खरिदमा १ लाख ५१ हजार ¸ बैदेशिक निजी भ्रमणमा २ लाख ६५ हजार र विभिन्न बैंक खाताहरुमा अन्तिम मौज्दातमा २८ लाख ४९ हजार समेत गरि अनुसन्धानमा लिइएको जाँचअवधिमा सम्पत्ति सिर्जना तथा लगानी गर्नमा रेग्मीले ७ करोड ३१ लाख ४५ हजार खर्च तथा लगानी गरेको देखिएको छ।

रेग्मीले सार्वजनिक सेवामा रही आर्जित पारिश्रमिक वचतबाट ३५ लाख २८ हजार , उनको वैध आयले खामेको जग्गा बिक्रिबाट १ करोड ४३ लाख ५२ हजार ¸ जीवन वीमाबाट १ लाख ९२ हजार ¸ श्रीमती पम्फादेवी पाण्डेयको आय ३१ लाख ५० हजार , विभिन्न बैंक तथा वित्तिय संस्थाबाट लिएका कर्जा २९ लाख ६४ हजार ¸ शेयर नगद लाभाँश ६७ हजार ¸ सवारी साधन बिक्रिबाट २५ लाख ५८ हजार , कृषिबाट ६ लाख ५७ हजार , विप्रेषणबाट १ लाख र वैदेशिक तालीमबाट १ लाख ३८ हजार समेत गरी अनुसन्धानमा लिएको जाँचअवधिमा २ करोड ७७ लाख ११ हजार मात्र आय आर्जन गरेको देखिँएको छ।

उनको आर्थिक गतिविधि चार करोड चौवन्न लाख तेत्तिस हजारको आय भन्दा वढी खर्च गरेको रकम बराबरको सम्पत्तिको स्रोत खुल्न नआएबाट वैध आयको तुलनामा चार करोड चौवन्न लाख तेत्तिस हजार बराबरको सम्पत्ति गैर कानुनी रुपमा आर्जन गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ। उनीविरुद्ध २ वर्ष कैद तथा रेग्मीले आर्जन गरेको स्रोत नखुलेको सम्पत्ति श्रीमती पम्फादेवी पाण्डेय र छोरी सन्ध्या रेग्मी समेतका नाममा राखेको पाइएकोको उनीविरुद्धलाई जफत गर्ने प्रयोजनार्थ प्रतिवादी कायम गरी विशेष अदालत दायर गरिएको छ।

त्यस्तै भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत उपसचिव गोविन्द प्रसाद अधिकारीसहित ७ जनाविरुद्ध घुस मुद्दा चलाइएको छ। उनीविरुद्ध ८ लाख ५० हजार विगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

जग्गाको कित्ताकाट गर्न आदेश गराई दिए बापत सेवाग्राहीसँग डिल्लीबजारका मालपोत अधिकृत रघुवंश कंडेल, ना.सु. क्रमश उद्वव सापकोटा, नारायण प्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दिपक खनालले घुस लिएका थिए। ८ लाख ५० हजार घुससहित उनीहरु ६ जनालाई अख्तियारले नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा डिल्लीबजारका प्रमुख मालपोत अधिकृत उपसचिव अधिकारीको संलग्नता देखिएपछि उनीसहित सातै जनालाई मुद्दा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। उनीहरुले मिलोमतोमा काठमाडौं टोखामा रहेको र बैना गरेका बिभिन्न कित्ता जग्गाको प्लट मिलान गरी कित्ताकाट गर्न नापी कार्यालयलाई आदेश दिने प्रयोजनका लागि घुस मागेर सेवाग्राहीलाई दुस्ख हैरानी पारेको थिए। उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम सजायको मागदाबीसहित विशेष अदालत आरोप पत्र दायर गरिएको छ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय, काठमाडौंका नायव सुब्बा लक्ष्मण रायमाझी र लेखापढी ब्यवसाय गर्ने खेमराज सापकोटाविरुद्ध घुसमुद्दा दायर गरेको छ। सवारी पास बनाई दिन्छु भनी प्रशासन कार्यालयमा बोलाएर उनीहरुले घुस लिएका थिए। सापकोटाले नायव सुब्बारायमाझीलाई फोन गरी काम छिटो छरितो गरी दिन्छु भनी सेटिङ्ग मिलाइरहेको अवस्थामा उनीहरु अख्तियारको पञ्जामा परेका थिए।

त्यस्तै हरिपुर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, सर्लाहीमा लेखा अधिकृत भुपेन्द्र कुमार सिंहविरुद्ध मुद्दा चलाइएको छ। सर्लाहीको आब ०७६/७७ मा नगरपालिकाले उपलब्ध गराएको सूचना सन्देश स्वास्थ्य कार्यक्रम प्रशारण गरी सम्पूर्ण बिल लगायतको कागजातहरु पेस गरी भुक्तानी लिने सिलसिलामा दुस्ख हैरानी दिएर घुस मागे थिए।

त्यस्तै साविक तितिर्खी गाउँ विकास समितिका सचिव मुहानन्द खनालसहित ४ जनाविरुद्ध सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ। साविक जिल्ला विकास समिति कपिलवस्तुका सह(लेखापल गोले अलि धुनिया,उपभोक्ता समितिका अध्यक्ष अजिजुर्रहमान मुसलमान तथा सचिव पुनवासी कुर्मीलाई पनि प्रतिवादी बनाइएको छ। उनीहरुविरुद्ध ३ लाख ९१ हजार विगो कायम गरिएको छ। कुनै ठोस कार्य सम्पन्न नै नगरी जिल्ला विकास समितिको बजेटबाट सम्पन्न गरिएको कामलाई नै देखाई गाउँ विकास समितिको उपभोक्ता समितिलाई दोहोरो भुक्तानी दिई गैरकानूनी हानी पु¥याउने बदनियत प्रमाणित भएपछिसजाय हुन मागदाबी सहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

त्यस्तै मालपोत कार्यालय चाबहिलका तत्कालीन नासु चन्द्र बहादुर श्रेष्ठबिरुद्ध घुस मुद्दा दायर भएको छ।सेवाग्राहीको जग्गा लिलामी सम्बन्धी विषयको जानकारी दिन घुस रिसवत माग गरेको तथ्य पुष्टि भएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएका छ।

मालपोत कार्यालय ललितपुर, कलंकी, भक्तपुरसमेतमा सेवाग्राही तथा सेवा प्रदायक बीचमा घुस रिसवत लेनदेन गर्ने गरेको भन्ने उजुरी परेपछि उनीविरुद्ध अख्तियारले निगरानी थालेको थियो।

तीन स्टीङ अपरेशसन

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दिक्तेल, खोटाङका डिभिजन प्रमुख नारायण काजी श्रेष्ठलाई ९ लाख ३४ हजार घुसहित पक्राउ परेका छन्। अख्तियारको टोलीले लिइरहेको अवस्थामा जिल्ला खोटाङ, दिक्तेल रुपाकोट मझुवागढीस्थित वेसक्याम्प भित्र रहेको उनको निवासबाट पक्राउ गरेको हो। उनलाई घुस रकमसहित रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

निर्माणाधिन सिंचाई परियोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस लिएका थिए। घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज, बाँकेका उद्योग अधिकृत (सातौं तह) हुकुम बहादुर ओली ९६ हजार ३ सय घुुससहित पक्राउ परेका छन्। ओलीले ठेक्का पट्टाको अनुमतिपत्र (लाइसेन्स) बनाईदिने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएका थिए। ओलीलाई सेवाग्राहीबाट घुस रिसवत लिइसकेको अवस्थामा उनको कार्यकक्षबाट पक्राउ गरिएका अख्तियारले जनाएको छ। उक्त घुस रकमसहित नियन्त्रणमा लिई उनीविरुद्ध अनुसन्धान भइरहेको छ।

त्यस्तै भूमिसुधार तथा मालपोत कार्यालय, राजविराज सप्तरीमा कार्यरत नासु कृष्ण बल्लभ ठाकुर लाई पनि मंगलबार नै घुससहित पक्राउ गरेको छ। उनीलाई १३ हजार घुससहित पक्राउ गरेको हो।

ठाकुरले ट्रायल चेक गरी बढी जग्गाको श्रेष्ता कायम गरी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएका थिए। ठाकुरलाई सेवाग्राहीबाट घुस बुझी लिइसकेको अवस्थामा निजको कार्यकक्षबाट नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी विदए। उनीविरुद्ध घुस रकमसहित रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.