महासंघको चुनावी चहलपहल बढ्यो, ढकाल र प्रधान समूह भिड्दै

महासंघको चुनावी चहलपहल बढ्यो, ढकाल र प्रधान समूह भिड्दै

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको चुनाव नजिकिँदै गर्दा चहलपहल बढ्न थालेको छ । आउँदो साउन २६ र २७ गते तय भएको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधान चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । 

ढकाल र श्रेष्ठले प्यानलै खडा गरी चुनावी प्रतिष्पर्धामा उत्रिएका हुन् । चुनाव आफ्नो पक्षमा पार्न दुवै उम्मेदवारले सक्रियता बढाएका छन् । चुनाव आफ्नो पक्षमा पार्न पूर्व अध्यक्षलाई आफ्नोमा पार्न उम्मेदवारले लबिङ गर्दै आएका छन् । 

महासंघको ५४ औं वार्षिक साधारणसभाले वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै छ । विधानमै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान अनुसार गोल्छा अध्यक्ष बन्दै छन् । गोल्छालाई खासै चुनाव लाग्नु नपर्ने भएपनि गुटको राजनीतिमा सक्रिय देखिएका छन् । गोल्छाले वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको पक्षमा खुलेर भोट माग्दै छन् । 

वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले मंगलबार आफ्नो टिमको उम्मेदवारी घोषणा गर्नेक्रममा शेखर गोल्छालाई प्रश्न गर्दै भने, 'हामीले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव किन पारित गरेका थियौं ? त्यसको मर्मलाई अहिले कसले मार्दैछ ?, त्यो के का लागि ?'
 
महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्ने प्रावधान भएपनि पछिल्लो समयमा हटाउने प्रयास भएको थियो । तर अन्तिममा उक्त संशोधन प्रस्ताव रोकिएको थियो । महासंघका अधिकांश पदाधिकारी गोल्छालाई अध्यक्ष हुनबाट रोक्न कानुन संशोधन गर्न चाहेका थिए । अन्तिम समयसम्म उपाध्यक्ष ढकालले उक्त प्रावधान नहटाउन लबिङ गरेपनि गोल्छाले अहिले भुलेको स्मरण गराए । 'जब केही महिनाअघि नेतृत्वमा बसेका अधिकांश साथीहरुले वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान हटाउनुपर्छ भन्दा त्यो प्रावधान हटाउनु हुँदैन् भनेर कसले लविङ गरेको थियो ?,उनले भने, 'भविष्यमा हामीले जे गरौंला गरौंला तर अहिले वरिष्ठ उपाध्यक्ष शेखरजीले नै नेतृत्व पाउनुपर्छ भनेर मैले ठूलै मेहनत नगरेको भए आज के हुन्थ्यो ?' ढकालले उक्त कुरा हेक्का गर्न गोल्छालाई आग्रह गरे । 

'यो चुनावमा जसले जिते पनि शेखरजी अध्यक्ष हो, चुनाव जित्नेमा हामी विश्वस्त छौं, 'चुनाव जित्ने दावी गर्दै ढकालले भने, 'जब हामी जित्छौं, हामी उहाँको टीमको सदस्य हौं । सायद उहाँका लागि यो साधारण जानकारी मात्रै होइन यो एउटा सन्देश पनि हो ।'

कठिन अवस्थामा रहेको महासंघलाई एक ढिक्का बनाएर लैजान आवश्यक भएको उनले बताए । आफ्नो उम्मेदवारी घोषणा गर्नेक्रममा चार महिनाअघि उनले गोल्छाको नेतृत्वमा व्यावसायिक र गतिशिल टीम बन्ने घोषणा गरेका थिए । 'यो टीम उद्योग वाणिज्यको क्षेत्रमा, सरकारसँग पोलिसी डाइलगको क्षेत्रमा, सरोवारवाला र  साझेदारसँग साझेदारी गर्ने सवालमा एक र एक जोडेर दुई होइन्, एक र एक जोडेर एघार बन्नेछ,' उनले भने ।  

ढकालले आफ्नो समूहबाट उद्योग वाणिज्य संघ समूहको उपाध्यक्षका लागि गुणनिधी तिवारी, वस्तुगत संघ समूहबाट उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ र एशोसिएट सदस्य समूहको उपाध्यक्षका लागि रामचन्द्र संघई उम्मेदवार भएको घोषणा गरेका छन् ।

'मेरो उम्मेदवारी मात्रै त्यसको पूर्णता होइन्, त्यसलाई अघि बढाउन एउटा विश्वासिलो टीमको जरुरत पर्दछ । आज हामी त्यो टीमको घोषणा गर्नका लागि यहाँ उपस्थित भएका छौं । म आज यहाँ त्यसको घोषणा गर्न चाहन्छु,' उनले भने । 

'महासंघमा नयाँ नेतृत्वका रुपमा आउने हाम्रो यो टीमले कोरोनाबाट सिर्जना भएका चुनौतीलाई मात्रै परास्त गर्ने छैन, हामीले चाहेको, हामीले खोजेको आर्थिक रुपमा समुन्नत नेपाल प्राप्त गर्न पनि काम गर्नेछ,' उनले भने ।  

उम्मेदवारी घोषणा गर्र्दै ढकालले कोरोना भाइरस(कोभिड १९) ले सिर्जना गरेको चुनौती सबैको सामूहिक प्रयासमा  पार लगाउने बताएका छन् । कोरोनाका कारण सिर्जना भएका आर्थिक चुनौतीको सामना गर्न व्याक्तिगत पहलले प्रयाप्त नहुने भन्दै सामूहिक एकता, विश्वास र बल चाहिने बताए । विश्वास सिर्जना गर्न, एकता पैदा गर्न र बलका रुपमा कोरोनाकै बेला महासंघको नेतृत्व चयन गर्ने अवसर आएको उनले बताए । 

आफ्नो समूहमा गाउँ जिल्लादेखि नीतिगत तहसम्म पहूँच राख्ने व्यक्तिहरु रहेको भन्दै ढकालले भने, 'हाम्रो टीम अनुभव र विश्वासले भरिएको छ। टीममा साना तथा मझौला व्यवसायदेखि ठूलो व्यावसायिक घरानासम्मको उपस्थिति छ ।'

व्यवसायीलाई दुःख परेको बेला नजिक भएर समाधान खोजिने उनले बताए । उम्मेदवारी घोषणा गर्दै ढकालले भने,‘हाम्रो र विपक्षी टीमको तुलना गर्नुस, त्यहाँका उम्मेदवारको आगत र विगत पनि हुर्नुहोस् ।' चुनाव जितेमा सम्पर्कबाट नभाग्ने उनले उद्घोष गरे । 

'उहाँहरुको मात्रै होइन्, हाम्रो पनि विगत हेर्नु्होस् । हामी तपाईको समिपमा रहेर कसरी काम गरेका थियौं,' उनले भने, 'उहाँहरुको काम हेरिसक्नुभएको छ नि ?' 'निजी क्षेत्र देशको समृद्धिको यात्राको दरिलो खम्बा हो । तर समृद्धिको यात्रामा यही निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षाअनुसार सम्मान पाउन सकेको छैन्, चाहिएको बेला अभिभावकको भूमिका पाउन सकिरहेको छैन,' उनले भने ।

निजी क्षेत्र आर्थिक विकास र रोजगारी सृजनाको बलियो इन्जिन भएको भन्दै ढकालले  यो इन्जिनलाई चलाउन निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य  भएको बताए । 'औद्योगिक र व्यापारिक वातावरण बनाउन थुप्रै काम गर्न बाँकी छ,' उनले भने, 'ती के काम हुन भनेर हामीले पहिचान गरिसकेका पनि छौं। हामी नेतृत्वमा आउना साथ ती क्षेत्रमा काम थाल्नेछौं ।'

नेतृत्वमा आएपछि घरेलु उद्योग नवीकरणका लागी उद्योग बाणिज्य संघको सिफारिस चाहिने व्यवस्था मिलाइने उनले बताए । 'नगरपालिकाको ब्यवसायिक करमा उद्योग बाणिज्य संघलाई ३०/७० को सहभागिता लागू गर्न पहल गर्नेछौं,' उनले भने । 

निम्न आय भएका संघलाई कम्तिमा बार्षिक पाँच लाख रुपैयाँको आम्दानीको श्रोत जुटाउनका लागि मोडल बनाउने तयारी भएको उनको भनाइ छ ।  उद्यमशीलता बिकासका तालिम दिने, एक गाउँ एक उत्पादन जस्ता कार्यक्रमलाई लागू गर्ने विषय पनि हाम्रो प्राथमिकतामा रहनेछ,'उनले भने । 

जिल्लाका नापतौल, अनुगमन, बैकिङ, राजस्व लगायतका समस्या समाधान गर्नका लागि महासंघसँग सिधै जोडिने गरी संयन्त्र बनाउने उनले प्रतिवद्धता व्यक्त गरेका छन् । देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्रयाउन, नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यावसायीक क्षेत्रमा देखा परेका समस्या समाधान गर्न र व्यावसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लविङ्ग गर्ने उनले विश्वास दिलाए । 

महासंघलाई ठूला उद्यमीहरुको मात्रै नभई साना र मझौला उद्योगी व्यापारीको पनि साझा चौतारीका रुपमा स्थापित गर्न प्रयास गर्ने उनले उद्घोष गरे । प्रकृतिले थपिदिएको चुनौतीसँग जुधेर देशको समग्र निजी क्षेत्रको मनोबल उँचो पार्ने काममा दरिलो आत्मविश्वासका साथ अघि बढ्ने उनले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.