अस्ताइन् कम्युनिस्टकी ‘आमा’
हेटौंडा : गाउँमा प्रायः राती, साँझ, बिहान नयाँ मान्छेहरुको उपस्थिती भइरहन्थ्यो। तर दशकौंसम्म पनि तत्कालिन राज्य प्रशासनले कम्युनिष्ट नेताहरुको मकवानपुर केन्द्रित राजनीति थाहा पाउन सकेनन्।
कम्युनिष्ट आन्दोलनलाई संरक्षण गरेर हुर्काउन महत्वपूर्ण योगदान दिएको एउटा गुमनाम ‘सेल्टरदाता’ थापाको जीवनमा पूर्णबिराम लागेको छ।। नेपाली कम्युनिस्ट आन्दोलनमा ‘आमा’ उपनाम पाएकी थापाको ७६ वर्षको उमेरमा सोमबार बेलुका हेटौंडा अस्पतालमा मृत्यु भएको हो। २०६४ सालमा मुटुको चालमा समस्या देखिएपछि उनको स्वास्थ्य बिग्रदै गएको थियो।
तत्कालिन कम्युनिष्ट नेताहरुले राज्य सत्तामा पुगेपछि सेल्टर घर पनि बिर्सिए। तीन दशकयता गुमनाम जीवन बिताउँदै आएकी उनकै घरमा २०३७ मा अखिल नेपाल महिला (अनेम) संघ स्थापनाको निर्णय भएको थियो। १४ वर्षको उमेरमा २०१५ सालमा राजदेवीका तिलकबहादुर थापासँग विवाह गरेकी थापाले खेतबारीको उब्जानीसँगै श्रीमान् र आफ्नो कमाई पनि पार्टी बचाउन सहयोग गरिन्। ‘त्यसबखत उहाँका श्रीमानको औलो विरुद्धको चेतना फैलाउने जागिर थियो। २०३६ सालमा उहाँ आफै पनि महिला स्वास्थ्य स्वयम्सेविका हुनुभयो’, नेकपाका केन्द्रीय सदस्य रामेश्वर रानले भने, ‘नेताहरू कति जना आउँछन थाहा हुँदैनथ्यो। घरमा खानेकुरा सकिएपछि छरछिमेकबाट खानकुरा पैँचो ल्याएर पनि चलाउनुहन्थ्यो।’
चितवनका सूर्य शर्माबाट २०३७ सालमा पार्टीको संगठित सदस्यता पाएकी थापाको जिम्मेवारी पार्टीको दस्तावेजको सुरक्षा गर्नु, सुरक्षित ठाउँमा पु¥याउनु, नेताहरुलाई सुरक्षित राख्नु, महिलाहरुलाई संगठित गर्नु र कक्षा चलाउनु थियो। २०३९ मा अनेमासंघ मकवानपुरको पहिलो अध्यक्ष बनेकी थापाकै संरक्षण कारण बर्तमान नेकपाका एक दर्जन केन्द्रीय नेताहरुको जीवन जोगिएको नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलको भनाई छ।
२०४६ सालमा पार्टीमाथिको प्रतिबन्ध खुलेसँगै दैनिक चहल पहल भइरहने थापाको घर सुनसान हुनथाल्यो। उनको घरमा सेल्टर लिने अधिकांस नेताहरुले उनलाई बिर्सिए। उनी पनि कुनै नेताको घरमा छिरिनन्। तर महिला स्वयम्सेवीका र सचेत कम्युनिष्ट कायकर्ताको रुपमा भने गाउँघरमा उनको सक्रियता २०४६ सालपछि पनि हालसम्म कायमै थियो। ‘उहाँको योगदानलाई पार्टीले राम्ररी कदर गर्न सकेन, उहाँकै घरलाई आ श्रयस्थल बनाएर राजनीति गर्ने नेताहरु कहाँ पुगे तर उत्तिकै योगदान दिने सहयात्री गुमनाम भइरह्यो’, नेकपा मकवानपुरकी अध्यक्ष सिग्देल भन्छिन्, ‘कम्युनिष्ट आन्दोलनमा उहाँको योगदान कतै तुलना गर्न सकिँदैन।’
मंगलबार बिहान उनको पार्थिव शरीर नेकपाका केन्द्रीय सदस्यद्वय केदार न्यौपाने, रामेश्वर राना, मकवानपुर अध्यक्ष मुनु सिग्देल लगायत नेताहरुले कम्युनिष्ट पार्टीको झण्डा ओढाए अन्त्यष्टि गरिएको थियो। उनका श्रीमान र तीन छोरा छन्।