इतिहासमै बढी मुद्दा दर्ता
काठमाडौं : आर्थिक वर्ष २०७६/७७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रेकर्ड ब्रेक गरेको छ। लकडाउनका बाबजुत पनि २०७६ साउन १ देखि २०७७ असार मसान्तसम्ममा चार सय ४१ मुद्दा दर्ता दायर गरेको छ। आयोगको स्थापनाको ३० वर्षको इतिहासमा यो आर्थिक वर्ष सबैभन्दा बढी मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।
आर्थिक अनियमिता, नक्कली शैक्षिक प्रमाण पत्र, अकुत सम्पत्ति आर्जन, घुस÷रिसवत, सरकारलाई हानी नोक्सानीमा अख्तियारले मुद्दा दायर गरेको छ। आर्थिक वर्ष २०७५/७६ मा ३५१ वटा मुद्दा विशेष अदालतमा दर्ता भएका थिए। जसमध्ये घुस (रिसवत) मा १४७, नक्कली शैक्षिक प्रमाण पत्रतर्फ ८८, सार्वजनिक सम्पत्तिको हानी नोक्सानीतर्फ ३९, गैरकानुनी लाभ हानीतर्फ ३३, राजस्व हिनामिनातर्फ १०, गैरकानुनी सम्पत्ति आर्जनतर्फ १२ र विविध विषयका २२ मुद्दा छन्। यो कुन कुन शीर्षक कति मुद्दा दर्ता भए भन्ने पूर्ण विवरण तयार भइनसकेको अख्तियारले जनाएको छ।
यसवर्ष अख्तियारले बालुवाटारस्थीत ललिता निवासको सरकारी, सार्वजनिक तथा गुठी जग्गा हिनामिनामा तत्कालीन उपप्रधानमन्त्रीसहित ३ मन्त्री, ६ विशिष्ट श्रेणीका पदाधिकारी, कर्मचारी, व्यापारीसहित एक सय ७५ जनाविरुद्ध चलाएको छ। जग्गा अतिक्रमण प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी, पूर्वमन्त्री एवं पूर्वसचिव छविराज पन्त, अख्तियारकै पूर्वप्रमुख आयुक्त दीप बस्त्यात, पूर्वसचिव दिनेश अधिकारीविरुद्ध मुद्दा चलिरहेको छ। ललिता निवासको उनीहरूको मिलोमितोमा १३६ रोपनी सरकारी जग्गा व्यक्तिको नाम कायम गरिएको थियो। यो आर्थिक वर्षको सबैभन्दा ठूलो मुद्दा हो। इतिहासमा उपप्रधानमन्त्रीलाई मुद्दा चलाइएको पहिलो प्रकरण हो।
अख्तियारमै लामो समय बसेका जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालविरुद्ध मुद्दा हालिएको छ। कृषि विकास बैंक, न्यूरोड शाखाका तत्कालीन शाखा प्रबन्धक प्रेमहरी ढुंगेल र नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी रमेशराज बिष्टसमेत ८ जनाविरुद्ध ४ करोड ४२ लाख आर्थिक अनियमितामा मुद्दा दायर गरिएको छ।
कार्यालय सहयोगीको ९ करोड अकुत सम्पत्ति
मालपोत कार्यालय चाबहिलका (हाल निलम्बित) कार्यालय सहयोगी राजेन्द्र बस्नेतविरुद्ध अकुत सम्पत्ति आर्जनमा मुद्दा चलाइएको छ। उनीविरुद्ध अवैध रूपमा सम्पत्ति आर्जन गरेको कसुरमा ८ करोड ९८ लाख बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा चलाइएको छ। गैरकानुनी सम्पत्ति (अकुत) आर्जन गरेको कसुरमा मालपोत कार्यालय कलैया दरबन्दी भई मालपोत कार्यालय सिमरामा कार्यरत नायव सुब्बा मदनप्रसाद गुप्तासहित ९ विरुद्ध १४ करोड ८१ लाख ८९ हजार बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ।
खानेपानी तथा ढल व्यवस्थापन बिभाग पानीपोखरी काठमाडौंमा सिनियर डिभिजनल इन्जिनियर राजकुमार शाक्यविरुद्ध १० करोड ७७ लाख अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर गरिएको छ। मालपोत कार्यालय ललितपुरका शाखा अधिकृत बद्रीराज ढकालविरुद्ध १० करोड २७ लाख बराबरको अकुतसम्पत्ति आर्जनमा मुद्दा चलाइएको छ। अख्तियारले गाविस सचिवमा सेवा प्रवेश गरी शाखा अधिकृतको पदबाट अवकाश प्राप्त ऋषिराम अर्यालले १७ करोड ८३ लाख अकुत सम्पत्ति आर्जन गरेको भन्दै मुद्दा हालेको छ। करोड ५६ लाख ९१ हजार बिगोसहित तातोपानी भन्सार कार्यालय, सिन्धुपाल्चोकको प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतसमेत ५ जनाविरुद्ध अकुत सम्पत्ति आर्जनमा मुद्दा चलाइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीसमेत १३ जनाविरुद्ध गैरकानुनी लाभ लिएर एक आपसको मिलेमतोमा कुल २४८ जना अनाधिकृत तवरले विदेश पठाएको प्रकणमा मुद्दा चलाइएको छ। दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय, लैनचौरका तत्कालीन महाप्रबन्धक गंगा तिमसिनासमेत १० जनाविरुद्ध ठेकेदार कम्पनीसँग मिलेमतो गरी टेण्डर नगरी पुनः सम्झौता गरी संस्थानलाई ठूलो आर्थिक नोक्सानी पु¥याएकाले मुद्दा दर्ता गरिएको छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रा.डा. राजकुमार रौनियारसमेत दुईजनाविरुद्ध मुद्दा दायर गरिएको छ। वन निर्माणको मोबिलाइजेसन रकमको भुक्तानी दिँदा र विभिन्न मितिमा रनिङ बिलको भुक्तानी दिँदा प्रतिष्ठानका उपकुलपति रौनियार ८ लाख घुससहित पक्राउ गरेका थिए।
प्रहरी र शिक्षकका धरै शैक्षिक प्रमाण पत्र नक्कली भेटिएका छन्। नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक पदमा कार्यरत रमेशबहादुर सिंहको नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रमा नक्कली भएका भन्दै अख्तियार मुद्दा चलाएको छ।
१७७ स्टिङ अपरेसन
यो आर्थिक वर्ष स्टिङ अपरेसन पनि विगतमा धेरै भएका छन्। सेवाग्राहीको घुस रिसवतसम्बन्धी उजुरीका आधारमा १७७ वटा रंगेहात कारबाही गरेको छ। जसमा दुईजना विशिष्ठ श्रेणीसहित २८५ जना रंगेहात पक्राउ परेका हुन्। यो पनि इतिहासकै सबैभन्दा बढी हो। गत आवमा गरिएका १४७ वटा रङ्गेहात कारबाहीमा विशिष्ट श्रेणीदेखि सहायकस्तरसम्मका १७४ राष्ट्रसेवक कर्मचारी, सात निर्वाचित एवं मनोनित पदाधिकारी तथा २९ बिचौलिया तथा मतियारलगायत गरी जम्मा २१० व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान एवं अभियोजन गरिएको थियो।
यस वर्ष सेवाग्राहीसँग २० लाखसम्म घुस लिँदै गर्दा पक्राउ परेका छन्। अख्तियारले गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरीसहित २ जनावापतको रकम लिने÷फिर्ता गर्ने विषयमा अनुसन्धानका लागि नियन्त्रण नियन्त्रणमा लिएर मुद्दा चलाइरहेको छ। नापी कार्यालय, भैरहवाका नापीअधिकृत सरोज श्रेष्ठसमेत ६ जना १७ लाख घुससहित अख्तियारले पक्राउ गरेको थियो। अख्तियारका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले धरै मुद्दा दायर हुनु राम्रो कुरा भएको बताउँदै संख्यात्मकका साथै गुणात्मक महत्व दिनुपर्ने बताउँछन्। ‘मुद्दा अदालतमा लगेपछि ठहर हुने गरी यथेष्ठ प्रमाणसहित लानुपर्छ’, उनले भने।