साउनका हरिया सम्झना
प्रकृतिको हरियालीसँगै हरिया सपना बोकेर आउने गर्छ हरेक वर्ष साउन नेपाली घर-आँगन, खेतबारी र परिश्रमी किसानका मनहरुमा। आकाशबाट जलधारा बर्सिन्छ धर्तीमा। माटोमा किसानको श्रम मुछिएर पसिनाले सिञ्चित हुँदा धर्ती त्यसै-त्यसै उर्बर हुन्छ ।
साउन बर्सातको महिना। बाढी पहिरोको महिना। वर्षभरिका दूषित फोहोर बगाउने महिना। सपना उमार्ने महिना। प्रकृति सजिन्छिन् कुहिरोरुपी सेतो घुम्टोमा। जता हेर्यो उतै हरियो। जता गयो उतै पानीको झमझम। मकैका पातमा ठोकिएर बज्ने पानीको मधूर संगीत।
अरु बेला कमिला हिंड्ने खहरे खोल्साको मैमत्त गड्गडाहट। जरुवाले टम्म भरिएर आफै बगिरहेका पँधेराहरु। अटी-नअटी छताछुल्ल भएर धरर-र झरिरहेका धाराहरु। आँगन, करेसा, बाटा-घाटा जताततै कुलकुलाइरहेका कुलेसा।
ऋतुपिच्छे छुट्टा-छुट्टै विशेषता र रहस्य बोकेर आउने प्रकृति वर्षा ऋतुमा पनि अनेकौ जादु छर्दै प्रकट हुन्छिन्। घरि घाम, घरि पानी, घरि कुहिरो, घरि मुसलधारे र घरि सिमसिमे वर्षा, घरि नीलो र घरि बादल भरिएको आकाश, कतै हिलो, कतै धूलो छिन-छिनमा यी र यस्ता अनेकौं रुप-रङ्ग देखाउँदै छक्क र मख्ख पार्छिन् प्रकृतिले।
साउनको रौनक ग्रामीण किसानमा हुन्छ। साउनको रमझम खेतका गरामा हुन्छ। साउनको असली रुप कुहिरोले ढाकेका वनपाखा र ग्रामीण बस्तीमा हुन्छ। साउनको झंकार झरीमा हुन्छ। साउनको गर्जन खोला-खहरेहरुमा हुन्छ। सहर त झिझ्याट मान्दो हो झरीसँग, आक्रोश पोख्तो हो हिलोसँग, डराउँदो हो कुहिरो र खोलासँग।
तर, गाउँ मस्तसँग लुकामारी खेल्छ कुहिरोसँग, रमाउँछ झरीसँग, मितेरी गाँस्छ हिलोसँग र जिन्दगीका गीत गाउँछ खोला खहरेसँग। लेकाली गाउँहरुमा असारमै धान रोपी सक्थे। बेंसीतिर भने रोपाइँ सक्न साउनको आधाउधि नै लाग्थ्यो। बारीमा अग्ला-अग्ला मकैका बोटले घरहरु पूरै छोपिन्थे।
त्यही मकैबारी हुँदै कुखुरा खोज्न स्याल घरसम्मै आइपुग्थ्यो। स्यालले कुखुरा नखाओस् भनेर हामी घरको पेटीमा उभिएर 'ल्वाहै-ल्वाहै' भन्दै नाइटो फुलुञ्जेल कराउँथ्यौं। वरपरका केटाकेटी मिलेर 'पानी पर-पर घ्याम्पा भर-भर' भन्दै आँगनमा उफ्रिन्थ्यौं। आँगनमा पानीका फोका हेर्दै रमाउँथ्यौं। 'कुद् कुहिरा कुद्, तेरा घरमा चोर पसो.....' भन्दै जोडले कराउँथ्यौं। साँझपख घरका सिकुवामा बसेर मख्ख पर्दै झ्याउँकीरीको झङ्कार सुन्थ्यौं।
बिहानको मिर्मिरेदेखि मेलापात हिंडेका घरका ठूला मान्छेहरु झमक्क साँझ परेपछि मात्र घर आउँथे, वस्तुभाउ गर्थे अनि मात्र चुह्लो बल्थ्यो घरमा। कति मीठा हरिया मकै र फर्सीका मुन्टा। खेतबारीमा हरिया मकै हुञ्जेल बिहानदेखि बेल्कासम्म अँगेनाले फुर्सदै नपाउने। थाकेर लखतरान भए पनि ज्यानले कहाँ धर पाउँथ्यो र राति अबेरसम्म कुपी बालेर मकै सर्याउनुपर्ने। ठूला र सग्ला जति सर्याइन्थ्यो। साना र पुड्का जति नङ्ग्याइन्थ्यो। मकै सर्याउँदा बा-आमैहरु शिलोक भन्थे। कथा-कुथुङ्ग्री भन्थे। हामी उत्सुकतापूर्वक सुन्दै मकैका झुत्ता गन्थ्यौं। खोसेलाहरु एक ठाउँमा थुपाथ्र्यौं र त्यसमाथि लडी- बुडी गथ्र्यौं। निद्रा लागे त्यतै-कतै निदाउँथ्यौं।कति रमाइलो हुन्थ्यो रोपाइँ।
लोग्ने मान्छेहरु बाउसे गर्थे। फ्याउरी लाउँथे। गोरु कुदाउँथे। दिदीबहिनी गरा-गरा बाँडिएर छुपुछुपु धान रोप्थे। कोही बीउ काढ्थे। कोही बीउ ओसार्थे।
दाँदेमाथि चढेर गोरु कुदाउँदा निस्केको आवाज, फ्याउरी लाउँदा सोहोरिएको हिलोको आवाज र समाहाबाट झरेको पानीको आवाज सबै संगीतमय। सबै गीतिमय। त्यहाँमाथि असारे गीतको रन्कोले त पहाडी खेत, गाउँबस्ती पूरै गुञ्जायमान।
छुपु है छुपु धान है रोपें हातैको मर्मैले
झ्यालैमा बस्ने जीउ मेरो थियो दिएन कर्मैले।
सानोमा सानो बाखरी पाठो मासु त मनैको
पञ्चै र बाजा आलीमा राखी स्वर सुन सनैको।
रोपाहारहरु असारे घन्काउँथे। खेतका गरा-गरा तरङ्गित पार्थे। गीतले लट्ठ भएर फ्याउरी लाउनेहरु, फ्याउरी टेकेर सुन्थे। बाउसेहरु कोदालो बिसाएर सुन्थे। साउनेहरु गोरु रोकेर सुन्थे। वर-पर खेतमा काम गरिरहेका सबै आवाज आएतिर कान ठाडा पार्थे।
खेतमा काम गरिरहँदा पानी परे पनि झरीमा निथुरक्क रुझ्दै कोही अझ हौसिएर मेलो सक्नतिर लाग्थे। कोही घुम ओढेर, कोही बोरा र प्लाष्टिक ओढेर हिलोमा छप्लङ-छप्लङ गर्दै काममा तल्लीन हुन्थे। मानौं यो किसानको महा-उत्सव हो। मानो रोपेर मुरी उब्जाउने पर्व हो।
साउने संक्रान्ति
झरीले गलेका र कामले लखतरान भएका किसानको ज्यानले मीठो मसिनो खोज्नु स्वभाविकै हो। असारको आखिरीतिर नेपाली किसानको रोपाइँ कर्म करिब-करिब सिद्धिन लागेको हुन्छ। मैजारोतिर प्रवेश गरेको हुन्छ। ठीक यसैबेला असारलाई बिदा गर्दै आउने साउनको पहिलो दिन साउने संक्रान्तिको नामले प्रसिद्ध छ। यसले ग्रामीण बस्तीहरुमा एउटा छुट्टै उमङ्ग लिएर आएको हुन्छ। खुसी लिएर आएको हुन्छ।
साउने संक्रान्तिको दिन बेलुका गाउँलेका घरमा प्रायः मासु पाक्ने दिन हो। गाउँले मिलेर जात अनुसार कोही खसी काट्थे। कोही राँगा-भैंसी र सुँगुर काट्थे। ऊ बेला अहिले जस्तो कहाँ थियो र ? मासु खान महिनौ कुर्नुपथ्र्यो।
कुनै-कुनै बेला गाउँमा कसैले खसी काट्यो भने हारालुछ नै हुन्थ्यो। टाठा-बाठा र बलिया-बाङ्गाहरुले मात्र भेट्थे। सोझा सिधा र निर्धा निमुखा निन्याउरो अनुहार लाएर रित्तै फर्किन्थे। मासु कतिखेर आउला र खाऊँला भनेर आसले पर्खिरहेका घरका बुढाबुढी र केटाकेटी हिस्रिक्क पर्थे।
हुन त त्यो बेलासम्म रोपाइँ सकिएको भए हुने खाने खेतीवालाले संक्रान्तिको दिनलाई भनेर घरमा छुट्टै शिकारको जोहो गर्थे र मैजारो मनाउँथे। धेरैजसो भने गाउँमा कसैले काट्लान् कि भनेर पर्खन्थे। फलानाकोमा यस्तो पालेको छ, यो बेला मार हान्ने अरे भनेर गाउँमा खुब चर्चा चल्थ्यो।
संक्रान्तिको दिन बेलुका लुतो फाल्ने र मासु-भात खाने भनेर बिहानैदेखि घर-घरमा रौनक छाएको हुन्थ्यो। जङ्गलतिर गएर भलायोको पात, लुते सहरो (बेसारको जस्तै बोट), कुकुरदाहिनाको लहरो, कुरिलो, पानी अमला, दानैसँगको दारिमको हाँगो खोजेर ल्याउँथे बुढापाका। त्यसदिन खेतको मेलो भए अलि चाँडै सकेर लुतो फाल्न र खानेकुराको तयारी गर्न घर फर्किन्थे गाउँलेहरु। हामी केटाकेटीहरु खुसीले रमाउँथ्यौं।
साँझ परेपछि आँगनको डिलमा हल्लुँड, जोतारो सहित हलो-जुवा तेर्साइन्थ्यो। भलायोको पातका दुना गाँसेर तिनमा सतबीउ-पलबीउ हालेर हलो, जुवाको वल्लो छेउदेखि पल्लो छेउसम्म राखिन्थ्यो। अनि कुरिलो, लुते सहरो, कुकुर दाहिनो, पानी-अमला, जरैसँगको सिरु, दानैसँगको दारिमको हाँगो, घोगैसँगको मकैको बोट, सल्केका दाउराका अगुल्टा लहरै राखिन्थ्यो र ती समेत गरी राँके देउतालाई पूजा गरिन्थ्यो। बाती सल्काइन्थ्यो। भलायोको दुनामा आगोको कोइला राखेर दुबोले तेलको धूप हालिन्थ्यो। त्यसैलाई 'अड्को-पड्को तेलको धूप' भन्ने चलन छ। त्यसपछि सल्केको भर्मराउँदो अगुल्टोमा पटट-ट कुरिलो पड्काइन्थ्यो।
पूजा, धूप गरिसकेपछि चारै दिशातिर 'लुतो लैजा फलानो' भन्दै ठूलो आवाजमा ती पुजेका झर्झराउँदा अगुल्टा मिल्काइन्थ्यो। हामीहरु सेरा खोला पारिका कटुवाललाई लक्षित गर्दै 'लुतो लैजा सेराली गाँडा' भन्दै जोड-जोडले त्यतैतिर अगुल्टो फाल्दै कराउँथ्यौं भने सेरालीहरु 'लुतो लैजा भट्वासे' भन्दै हाम्रो गाउँतिर अगुल्टो मिल्काउँथे। यसरी हेर्दा जताततैबाट फालिएका अगुल्टा र तिनका झिल्काले आकाशमा आतसबाजी गरेझैं देखिन्थ्यो।
ठीक त्यसैबेला घरका महिला कोही ढिक्की कुट्थे। कोही जाँतो पिँध्थे। कोही नाङ्लो ठटाउँथे। घरमा मादल हुनेहरु मादल बजाउँथे। धामीको घर भए ढ्याङ्ग्रो ठोक्थे। यी सबै गरी घरका सबैजना तुरुन्त घरभित्र पसी भित्रबाट ड्याम-डुम्म दैलो ढप्काइन्थ्यो र एकछिन पछि उघारिन्थ्यो। यी सब गतिविधि र दृश्यले हामी रोमाञ्चित हुन्थ्यौं।
झरीमा रुझी-रुझी खेतको हिलोमा काम गर्दा शरीरमा घाउ-खटिरा आउने, लुतो आउने हुँदा साउने संक्रान्तिमा परम्परागत विधि-विधानसहित लुतो फाल्दा घाउ खटिरा निको भएर शरीर तन्दुरुस्त हुने, झरीले रुझेको र कामले लखतरान भएको किसानको ज्यान मासुको झोलले तङ्ग्रिएर शरीरमा स्फूर्ति आउने अनि राँके देउतालाई पुज्दा राँके देउता खुसी भएर पहेंले (डडुवा) लागेर बालीनाली मर्ने रोगबाट किसानले मुक्ति पाउने र साउने संक्रान्तिको राति पानी परेर बिहान उठ्दा पूजा गरेका भलायोका दुना पानीले भरिएका छन् भने त्यस साल बालीनाली राम्रो भइ सह पर्ने जन विश्वास छ। त्यसैले राँके देउता पुजेको भोलिपल्ट खेतबारीमा पस्नुहुँदैन र बालीनाली छुनुहुँदैन भनी त्यसलाई कडाइका साथ पालन गर्ने चलन छ। यी सबै कारणले साउने संक्रान्तिलाई चाड विशेषको रुपमा मान्ने गरिएको हो।
साउने संक्रान्ति प्रकृति पूजक चाड पनि हो। आँगनको डिलमा राखेर हलो-जुवा पूजा गर्ने, आगो पुज्ने, आगोसँगै घाउ-खटिरा जाउन् भनेर अगुल्टो फ्याकेर रमाइलो गर्ने, कुरिलो, भलायो, कुकुरदाहिना, सिरु, पानी-अमला, लुते सहरो जस्ता जङ्गलमा पाइने बोट-बिरुवा र जडिबुटीलाई ल्याएर पूजा गरी मानव जीवनमा तीनको महत्व अर्थात मान्छे र वनस्पति अनि मान्छे र खेतबारीबीचको अन्योन्याश्रित सम्बन्ध स्थापित गर्न यसको विशेष महत्व रहेको पाइन्छ।
सूर्य दक्षिणायन हुने अर्थात सूर्य कर्कट राशीमा प्रवेश गर्ने हुँदा साउने संक्रान्तिलाई कर्कट संक्रान्ति पनि भनिन्छ। यस दिन कति घरमा सत्य नारायणको पूजा पनि लगाइन्छ। 'माघे संक्रान्ति मान्नू मरिन्छ कि भनेर, साउने संक्रान्ति मान्नू बाँचिन्छ कि भनेर, यो भनाइ नेपाली समाजको एउटा विश्वासको रुपमा रहेको छ। यस भनाइमा साउने संक्रान्ति प्रति आशावादी जीवनदृष्टि पाइन्छ।
हुन पनि हो वर्षायाममा किसानले वर्षभरिका लागि खेतबारीमा बाली रोप्छन्। खेतमा अगाडि रोपेका मकै भित्र्याएर धान रोप्छन्। धान रोपीसकेपछि बारीमा कोदो रोप्छन्। यी बालीसँगसँगै उनीहरुले आफ्ना सपना र खुसीहरु पनि रोप्छन्। साउने संक्रान्तिपछि तीज, कृष्ण जन्माष्टमी, गाइजात्रा, कुशे औंसी (बाबुको मुख हेर्ने दिन), सोह्र श्राद्ध हुँदै दसैं, तिहार, छठ जस्ता ठूला-ठूला चाडबाड आउँछन्।
यसरी साउने संक्रान्ति आफू मात्र आउँदैन आफूसँग अरु थुप्रै चाडहरु पनि लिएर आउँछ र यी चाडहरुले मनभरि खुसी बोकेर आउँछन्, उमङ्ग छर्दै आउँछन्। राम्रो लाउने, मीठो खाने, नाता-गोता आफन्तसँग भेटघाट गर्ने, रमाइलो गर्ने अवसर लिएर आउँछन् अनि वर्षभरि दुःख गर्ने किसानलाई केही फुर्सदको क्षण पनि बोकेर आउँछन्।
यसरी नेपाली समाजमा साउने संक्रान्तिको एउटा छुट्टै र विशिष्ट स्थान रहेको छ। कृषि कर्मसँग जोडिएको संस्कृति र मौलिक चाडको रुपमा नेपाली जनजीवनमा यसको अविच्छिन्न अस्तित्व रहिरहनेछ र सधैं रहनुपर्छ। साउने संक्रान्ति र यसका मौलिक पक्षलाई जीवन्त राख्दै भावी पुस्तामा सुरक्षित तवरले हस्तान्तरण गर्ने कुरामा हामी सधैं चनाखो रहनुपर्छ।