मुख्यमन्त्री र मन्त्रीहरूबीच करार सम्झौता
हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफ्ना मन्त्रीहरूलाई कार्यसम्पादन करारनामा गराएका छन्। आर्थिक वर्ष २०७७/७८ को कार्य सम्पादनका लागि बिहीबार ६ जना मन्त्रीहरूलाई करारनामा (प्रतिवद्धता) गराइएको हो।
प्रदेश सरकारको नीति तथा कार्यक्रम र योजना पूरा गर्न मातहतका मन्त्रीहरूलाई नैतिक दवाब रहने विश्वासका साथ अभियानका रुपमा करारनामा गरिएको मुख्यमन्त्री पौडेलले बताए। ‘एक आर्थिक वर्षभित्र सरकारले गर्न चाहेको कामहरू पूरा गर्छु भनेर करारनामा गराइएको हो’, उनले भने, ‘यसले राम्रो परिणाम दिनेमा म विश्वस्त छु।’
अब कार्यतालिका बमोजिम आफ्ना जिम्मेवारीमा रहेका काम मन्त्रीहरूले पूरा गर्ने मुख्यमन्त्री पौडेलले विश्वास व्यक्त गरे। मन्त्रीहरूले आफ्ना मन्त्रालयका सचिव, महाशाखा प्रमुखलाई कार्य सम्पादनका लागि करारनामा गराउने कार्यक्रम रहेको छ।