कालिकोटमा विद्युत सेवा अवरुद्ध
कालिकोट : पहिरोका कारण कालिकोटमा विद्युत सेवा अवरुद्ध भएको छ । जिल्लाको रास्कोट नगरपालिका र सान्नीत्रिवेणी गाउँपालिकाको सीमाना सान्नीगाड खोलामा रहेको पोत्मारा साना जलविद्युत आयोजनाको क्यानेल शुक्रबार बिहान पहिरोले भत्किएपछि विद्युत सेवा अवरुद्ध भएको हो ।
नेपाल विद्युत प्राधिकरण कालिकोट वितरण केन्द्रका प्रमुख मेगराज जोसीले पहिरोका कारण पोत्माराको विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको जानकारी दिए । उनले पोत्मारा साना जलविद्युत आयोजनामा विद्युत उत्पादन बन्द भएसँगै कालिकोटमा अनिश्चितकालका लागि विद्युत सेवा अवरुद्ध भएको बताए ।
उनका अनुसार अबिरल वर्षाका कारण शुक्रबार बिहान ४ बजेतिर पोत्मारा विद्युतको क्यानल माथिबाट ठूलो पहिरो खस्यो । करीब ३० मिटर क्यानल भत्काएको छ । विद्युत उत्पादन बन्द भएपछि कालिकोट अन्धकार भएको छ ।
जिल्ला सदरमुकाम मान्मदेखि करिब १३ कोष पश्चिममा रहेको पोत्मारा साना जलविद्युत आयोजनाको उत्पादनले जिल्लाको रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र जिल्ला सदरमुकाम समेत रहेको खाँडाचक्र नगरपालिकामा विद्युत सेवा विस्तार गरिएको थियो ।
सेवा अवरुद्ध भएपछि नेपाल विद्युत प्राधिकरण कालिकोट वितरण केन्द्रका प्रमुख मेगराज जोसीसहितको प्राविधिक टोली सदरमुकामबाट विद्युतगृहतिर गएको छ । पोत्माराकै विद्युतको भरमा रहेको जिल्लाका सञ्चारमाध्यम, टेलिफोन सेवा, सरकारी कार्यालयको काम समेत प्रभावित भएको छ ।
सान्नीगाड पोत्मारा साना जलविद्युत आयोजना २०६५/०६६ बाट नियमित संचाललनमा आएको थियो । २०७० साल असार ३ गते आएको बाढीले एक वर्षसम्म सेवा अवरुद्ध भएको थियो । त्यतेबेला पहिरोले एकजना प्राविधिकसहित ११ जनालाई बगाएर बेपत्ता बनाएको थियो।
त्यसपछि पनि पटकपटक पहिरोको सिकार भएको उक्त आयोजना पुन : पहिरोले अवरुद्ध भएको छ। नेपाली कांग्रेसका प्रदेश युवा नेता दमनबहादुर शाहीले पोत्मारा साना जलविद्युत आयोजनाको विकल्प नखोजिँदा कालिकोट पटकपटक अन्धकार बन्न बाध्य भएको बताए ।