सिन्धुली अस्पतालमा थप ९ बेडको प्रसूति वार्ड सञ्चालनमा
सिन्धुली : अस्पतालमा सुत्केरी गराउने महिलाको चाँप बढेपछि सिन्धुली अस्पतालमा नयाँ प्रसूति वार्ड निर्माण गरिएको छ । पाँच बेड भएको अस्पतालमा दैनिक दश जना बढी गर्भवति महिला सुत्केरी हुन आएपछि अस्पतालले २० दिनमै थप ९ बेडको प्रसूति वार्ड भवन तयार पारेको हो ।
सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलका अनुसार अस्पतालमा सुत्केरी हुन आउने महिलाको संख्या बढेको र अस्पताका अन्य बेडहरु कोरोना संक्रमित राख्न आइसोलेसन बनाइएपछि नयाँ भवन बनाइएको हो ।
'कुल २६ लाख २० हजार रुपैयाँको लागतमा 9 बेडसहितको वार्ड २० दिन लगाएर निर्माण सम्पन्न गरिएको हो । उक्त भवन बुधबारबाट संचालनमा आइसकेको छ।स्वास्थ्य मन्त्रालयको १३ लाख, स्वर्गीय मोहन विक्रम थापाकी जीवन संगिनी उर्मिला थापाबाट २ लाख, सामुदायिक वन उपभोक्ता महासंघ सिन्धुलीबाट १ लाख र नेपाली कांग्रेसका युवा नेता विजय कुवरबाट सहयोग २० हजार रुपैयाँसहित १६ लाख २० हजार रुपैयाँ लागतमा भवन निर्माण गरिएको हो ।
'उक्त भवनमा गर्भवतीलाई शल्यक्रियापछि राख्नेगरी कमलामाई नगरपालिकाले १० लाख रुपैयाँमा ७ वटा वेडलगायतका स्वास्थ्य सामाग्री समेत सहयोग गरेपछि उक्त प्रसूति वार्ड संचालनमा आएको हो,' पोखरेलले भने ।
नवनिर्मित भवनमा सुत्केरी महिलालाई राख्ने गरिएको छ । यसअघि ५ वेड भएको प्रसूति कक्षमा ठाउँ अभावका कारण बिरामीलाई जिल्ला बाहिरका अस्पतालमा पठाउनुपर्ने बाध्यता थियो । अस्पतालमा ३ वेड आइसीयु र दुईवटा भेन्टिलेटर समेत संचालनमा रहेको छ ।