सडक निर्माणमा लापरवाही गरेको भन्दै प्राविधिकलाई स्थानीयले थुनिदिए
विराटनगर : मोरङको धनपालथान गाउँपालिकामा निर्माणाधिन सडकको नापी गर्न पुगेका प्राविधिकहरुलाई काममा ढिलाइ गरेको भन्दै स्थानीयले थुनिदिएका छन् ।
बजेट अनुसारको कालोपत्रे गर्ने कामको रकम फ्रिज गर्न लागिपरेको भन्दै आक्रोशित बनेका स्थानीयहरुले तीन प्राविधिकलाई थुनेर काम सम्पन गराउने सहमति गराएका हुन् । प्राविधिकहरु अनिल सिङ, दिनेश मण्डल, राजेश गीरीलाई स्थानीयले थुनेका हुन् । तर आफूमाथि दुव्र्यवहार भएको भन्दै प्राविधिकहरुले उजुरी दिएका छन् ।
कार्यकारी अधिकृत मनोज कुमार साहको कमिसन मोहले निर्माणधिन सडकको कालोपत्रे गर्न आएको बजेट अनुसार काम सम्पन गर्न नदिने षड्यन्त्र गरेको स्थानीयले आरोप लगाएका छन् ।
प्रदेश सरकारको सशर्त अनुदान र गाउँपालिकाको साझेदारमा दादवैरिया चौकदेखि पुटानी चौकसम्मको २५ सय मिटर कालोपत्रे सडकको नापी गर्न पुगेका प्राविधिकहरुले कार्यकारीको निर्देशनमा पैसा फ्रिज गर्न लागेको आरोप स्थानीयको छ ।
लकडाउनको बेला काम नभएकाले दुई सिफ्टमा काम सञ्चालन गरेर सडक निर्माणको काम ठेकेदारले गरिरहेका बेला कार्यकारी अधिकृत साहले बेलुका ७ बजे तीन जना प्राविधिकलाई पठाएर कालोपत्रे भएको सडकको मात्र नापी गर्र्न लागाएपछि स्थानीय आक्रोशित बनेका थिए ।
कालोपत्रे गर्नु भन्दा पहिले प्राइमकोट पूरैमा सम्पन भएता पनि प्राविधिकले प्राइमकोटको नापी नगर्ने निर्देशन रहेको स्थानीयहरुलाई सुनाएका थिए । प्राविधिक अनिल सिङले अचानक भइरहेको कामको नापी गर्न निर्देशन नरहेको भन्दै काम बन्द गराएपछि स्थानीयहरु आक्रोसशत भएका थिए ।
जनप्रतिनिधिहरुका अनुसार मिटिङमा चलिरेका बेला प्राविधिकहरुले विना जानकारी निर्णय विपरीत नापी गर्न र चलिरहेको काम बन्द गर्न भनेपछि स्थानीयहरु आक्रोशित बनेका थिए । उक्त सडक निर्माणको काम रामा विल्ड्स प्रालि राजविराज ४ ले गर्दैआएको हो । गाउँपालिकाको २० लाख सहित सो सडकको कालोपत्रे कामको लागि ५० लाख बराबरको बजेट छुट्याइएको थियो ।
तर कार्यकारी अधिकृत स्वयंले कामको अनुगमन नगरेको पनि स्थानीयको गुनासो छ । साथै उनले समयमा भुक्तानी नदिँदा पनि काम ढिलो भएको उनीहरु बताउँछन् । कर्मचारीहरुप्रति स्थानीय आक्रोशित बनेपछि प्रहरीको रहोवरमा गाउँपालिकाका सबै पदाधिकारीहरु बजेट अनुसार काम गर्ने भन्दै सहमति गरेर राति ९ बजे स्थिति सामान्य बनेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !