सानो गल्तीको भयावह दुष्परिणाम
बीपीको निधन भएको ३८ वर्ष भयो। यो अवधिमा नेपालका सबै शक्तिले सर्वाधिक रूपमा खोजेको व्यक्ति बीपी नै हुनुहुन्छ। उहाँका विचार अहिले पनि मुलुकको राजनीतिक, आर्थिक र मुलुकको अस्तित्व जोगाउन त्यत्तिकै समसामयिक देखिन्छन्। उहाँ जीवित छँदा जुन जुन शक्तिले विरोध गरे, ‘राजासँग द्वन्द्व होइन र पञ्चायतमा समर्पण हुन सक्दैन’ भन्ने नारा दिएर २०३३ साल पुस १६ गते स्वदेश फर्कंदा तत्कालीन पञ्चायत व्यवस्थाभित्र घुसेका विदेशी शक्तिका दलालहरूले उहाँलाई फाँसी दिनुपर्छ भन्ने माग गर्दै प्रस्ताव नै पारित गरे। तिनीहरू नै अहिले बीपी विचारका सर्वाधिक समर्थक बनेका छन्। बीपी जीवित छउञ्जेल सर्वाधिक विरोध गर्ने पञ्चहरू मात्र होइन, कतिपय कम्युनिस्ट पनि बीपीलाई एक राष्ट्रभक्त राजनीतिज्ञ मान्न थालेका छन्।
बीपीको निधन भएको यति धेरै वर्षपछि पनि किन उहाँको यति धेरै चर्चा हुन्छ ? उहाँको निधनपछि प्राध्यापक यदुनाथ खनालले भनेका थिए, ‘किताब पढ्ने नेता अब नेपालमा रहेनन्। उहाँ एक स्वप्नदर्शी नेता हुनुहुन्थ्यो र प्रधानमन्त्री भएर ०१६ सालमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिँदा उहाँ जसरी प्रस्तुत हुनुभयो, विश्वका ठूला नेताहरूको समकक्षमा पुग्नुभएको थियो। अब त्यो स्तरको नेता नेपालमा कोही छैन।’ प्राध्यापक खनाल उक्त महासभाको प्रतिनिधिमण्डलमा नेपालको तर्फबाट सदस्य हुनुहुन्थ्यो।
यस आलेखमा उहाँको जीवनको अन्तिम समयमा जुन घटना भयो, त्यसको चर्चा गर्नेछु। २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कंदा उहाँलाई विमानस्थलबाटै पक्राउ गरियो। त्यतिबेला उहाँविरुद्ध सात मुद्दा अदालतमा थिए। त्यसमध्ये केहीमा फाँसीसम्म हुन सक्थ्यो। त्यसपछिका अनेक उथलपुथलपछि उहाँलाई फाँसी होइन, रिहा गर्न राजा बाध्य भए। गम्भीर बिरामी भएपछि अमेरिकामा उपचार गर्न राजा वीरेन्द्रले नै अग्रसरता देखाएर उहाँको उपचार भयो।
बीपी र राजाका बीचमा मेल हुन नदिन बाह्य शक्तिले अनेक षड्यन्त्र गर्यो र विद्यार्थी आन्दोलन भयो र त्यसलाई समाप्त गर्न राजाले पञ्चायत व्यवस्थामा जनमत संग्रहको घोषणा गरे। जनमत संग्रह कसले गराउने बहस हुँदा अरू नेता राष्ट्रिय सरकारको मातहतमा हुनुपर्छ भन्नेमा रहे। तर बीपीले यसबेला राष्ट्रिय सरकारको प्रश्न उठायौं भने जनमत संग्रह नै नहुन सक्छ। ०७ सालमा राजा त्रिभुवनले घोषणा गरेका आम चुनाव नभएर ठूलो संघर्षपछि ०१५ सालमा चुनाव भएको थियो। यदि पञ्चायत नै जिताउनु छ भने जनमतसंग्रह किन भन्दै बीपी राष्ट्रिय सरकारको पक्षमा हुनुभएन। पञ्चायतले नै गराएको चुनावमा बहुदल पराजित भएर पञ्चायत नै जितेको घोषणा भयो। स्वाभाविक थियो- बहुदल हारको दोष बीपीमाथि लगाइयो। गणेशमानजी स्वास्थ्य परीक्षण गर्न दिल्ली जानुभयो। किसुनजी यसै पनि पञ्चायतप्रति नकारात्मक हुनुहुन्थ्यो। ०१७ साल पुस १ गते गिरफ्तार भएर ८ वर्षपछि बीपी गणेशमानजी छुट्दा पनि उहाँ रिहाइ हुन मान्नुभएन। अरू २ वर्ष जेल बसेर छुट्नुभयो।
बीपीलाई राजाले भेटेर उहाँको सल्लाह मानेको भए सायद जघन्य घटना हुने थिएन। भइहालेको भए पनि त्यो रहस्यमय हुने थिएन। जीवनको अन्तिम समयमा बीपीले प्रयोग गर्ने गरेको नियतिले अर्कै खेल खेल्नु थियो। त्यतिबेला बीपीलाई नभेट्ने राजाको सानो गल्तीको परिणाम भयावह भयो।
प्रजातन्त्र पराजयले तरुण विद्यार्थीमा उकुसमुकुस थियो। क्षेत्रपाटी कुसुलेचौरस्थित कमर्स क्याम्पसका विद्यार्थी बीपीलाई भेट्न आए। उनीहरू आक्रोशमा थिए। बीपीप्रति आक्रोश हुँदै प्रजातन्त्रका लागि तपाईंको पिढीले यत्रो वर्ष संघर्ष गर्नुपर्यो तर पनि सफल भएन। तपाईँले गर्दा हामीले पनि अब प्रजातन्त्रको निम्ति संघर्ष गर्नुपर्ने भयो। विद्यार्थी उत्तेजित थिए। यो झगडा गर्न कसैले पठाएको थियो। विद्यार्थी कुनै तर्क सुन्ने पक्षमा थिएनन्। बीपीले तिनका कुरा एकछिन सुनेर भन्नुभयो- अब मेरा कुरा सुन, ‘राजालाई यहाँ ल्याएर यो मेरो घर कम्पाउन्डभित्रको बकाइनुका रूपमा झुन्ड्याऊ, म केही भन्दिनँ तर मेरो एउटा सर्त छ- झुन्ड्याउने काम तिम्रो आफ्नै हुनुपर्छ। अरूले झुन्ड्याएकोमा तिमीहरूले ताली पिट्ने त्यो मलाई मान्य छैन’ जुन उग्रताका साथ विद्यार्थी प्रस्तुत भएका थिए, बीपीको कुरा सुनेपछि ती विद्यार्थी कुनै प्रतिक्रिया नजनाई हिँडे।
प्रश्न कुसुलेचौरका विद्यार्थीको मात्र थिएन, बहुदल पराजयको पीडाले देशभरका तरुण विद्यार्थी आक्रोशित थिए। अब कसरी अघि बढ्ने ? त्यतिबेला महामन्त्री परशुनारायण चौधरी बीपीसँगै चाबहिलमा बस्थे। उनीसँग परामर्श गरेर सात ठाउँमा कार्यकर्ता भेला गर्ने तय भयो। त्यस्तो भेला पूर्वाञ्चलको झापाबाट सुरु गरेर धनगढी हुँदै काठमाडौंमा सम्पन्न गर्ने। तर प्रश्न थियो- गणेशमानजी पहिल्यै असन्तुष्ट भएर दिल्ली गएर बस्नुभएको थियो। भेलालाई सम्बोधन गर्न बीपीसँगै किसुनजीको उपस्थिति अनिवार्य थियो, अन्यथा पञ्चले यसको गलत अर्थ लगाउने छन् र कार्यकर्ता निराश हुनेछन्। किसुनजीसँग कुरा गर्न परशुजीकहाँ जानुभयो। पहिलोपटक परशुजीका कुनै कुरा सुन्न किसुनजी तयार हुनुभएन। पुनः बीपीसँग परामर्श गरेर जसरी पनि किसुनजीलाई सहभागी गराउन चौधरीजी किसुनजीकहाँ जानुभयो। यसै पनि परशुजी पार्टीको महामन्त्री त्यसमा पनि बीपीसँगै चाबहिलमा खाने-बस्ने चौधरीको प्रयत्न उनको मात्र होइन, बीपीको पनि हो भन्ने सोचेर किसुनजी एक सर्तमा सहभागी हुनुहुने भयो। पूर्वाञ्चलको भेलामा सरिक हुने र त्यहींबाट फर्कने अन्य भेलामा सहभागी नहुने। यति नै भयो भने पनि किसुनजीको बहिष्कार हुने भएन। परशुजीले किसुनजीका कुरामा सहमति जनाउनुभयो।
यसैबीच बीपीको स्वास्थ्य गम्भीर हुँदै थियो। विरोधीहरूले त्यसबाट झन् उत्साहित भएर कांग्रेसमाथि अनेक किसिमका प्रहार र भ्रम सिर्जना गरेका थिए। नेताहरू पनि किंकर्तव्यविमूढजस्तै देखिन्थे। एक दिन चाबहिलमा बिहानको भेटघाट सकिएपछि हामी निस्कन लागेका बेला शिवध्वजजीले बीपीले बोलाउनुभएको छ, माथि हिँड्नुस्। शेरबहादुर देउवा, विपिन कोइराला, शिवबहादुर खड्का, रामचन्द्र पौडेल र म माथि गयौं। बीपी आउनुभयो र भन्नुभयो, ‘मेरो स्वास्थ्य एकदम ठीक छैन। डाक्टरले ६ महिनाको समय दिएका छन्। अब म जाँदै छु। धेरै ठूलो प्रयत्नपछि ०१७ साल पुस १ गतेको राष्ट्रघाती कदमपछि छिन्नभिन्न भएको पार्टी अहिले एक भएको छ। स्वदेशभित्रै सबै साथीहरू आएका छन्। अब म पछि यी तीनजना नेता गणेशमानजी, किसुनजी र गिरिजाप्रसाद फोड्ने प्रयत्न हुनेछ। त्यसबेलामा तिमीहरूले यिनीहरूलाई फुट्न नदिनू।
किसुनजी प्रजातन्त्रभन्दा एक इन्च पनि तलमाथि गर्ने कुरामा सहमत हुनुहुन्न। गिरिजा पनि ठिक्क छ। गणेशमानजीलाई तिमीहरूले सम्झाउनू। सुरुमा गणेशमानजीलाई सम्झाउन अलि गाह्रो हुन्छ, एकचोटि सहमत भइसकेपछि उहाँ जिन्दगीभर त्यसलाई छाड्नु हुन्न। मेरो जीवनभरको अनुभवले यही भन्छ। त्यसकारण तिमीहरू गणेशमानजीकहाँ जानू, त्यहाँ जस्तै अप्ठयारो र अपमानजनक व्यवहार भए पनि तिमीहरूले जान नछाड्नु। यति गर्यौ भने तीनजना नेता एकै ठाउँमा रहनेछन्। तिमीहरू नआत्तिनु प्रजातन्त्र आउँछ।’
देशका सात ठाउँमा कार्यकर्ता भेलाको कार्यक्रम गर्ने निर्णय गर्नुभयो र निर्धारित समयमा बीपी, किसुनजीलगायतका नेताहरू बिर्तामोड पुगे। त्यहाँको तयारी अनुपम थियो। पूर्वाञ्चलका १६ जिल्लाका कार्यकर्ताका लागि १६ झुपडी बनाइएको थियो। बीपी र किसुनजीका लागि अलग-अलग व्यवस्था थियो। किसुनजीसँगै परशुजी पनि बस्ने व्यवस्था थियो। बेलुकाको खानपिनमा किसुनजी र परशुजी मिल्ने। बेलुका मधुपान गर्नुपर्ने, मधुपानको व्यवस्था गर्न कार्यकर्ता तयार थिए। तर प्रश्न थियो- मधुपान गरेपछि अति गोप्यरूपमा खाली बोतलको व्यवस्था गर्ने। आयोजक सीके प्रसाईं (भरत बाबु) को व्यवस्था उहाँले निर्धारण गरेको ठाउँबाट कोही यताउता हलचल गर्न नपाउने कडा नियम थियो। मलाई भने ती सबै झुपडी र नेताहरूकहाँ जाने छुट थियो। किसुनजीले भन्नुभयो, ‘पण्डित होमनाथजी, तपाईं यहाँ बस्ने र यी खाली बोतल त्यो परको बाँसको झाडीमा लगेर कसैले थाहा नपाउने गरी फ्याँक्ने’ मैले हाँसेर शिरोधार्य भनें- उहाँहरू निर्धक्क हुनुभयो र मधुपान सुरु भयो।
बिर्तामोडको आमसभामा मानव सागर नै देखिन्थ्यो। जितेका पञ्च कुन दुलोमा थिए तर हारेका कांग्रेस नेता तथा कार्यकर्तामा ठूलो उत्साह थियो। पराजयको लेस मात्र पनि चिन्ता र विषाद थिएन। आमसभापछि पत्रकार सम्मेलनको व्यवस्था थियो। भरत बाबुको व्यवस्थापन सिलगुडीबाट पनि भारतीय पत्रकार आएका थिए। उनीहरूले बीपीलाई सोधे- बीपी, हामीले एउटा कुरा बुझेनौं। जनता कांग्रेससँग तर चुनावमा कसरी बहुदल हार्यो जनताको उपस्थिति र भारतीय पत्रकारहरूका त्यस किसिमका प्रश्नपछि किसुनजी पनि अब सबै भेलामा उपस्थित हुन सहमत हुनुभयो।
बिर्तामोडपछिको भेला मलंगवामा थियो। मलंगवामा पनि बिर्तामोडकै दृश्य देखिन्थ्यो। जनताको उपस्थिति उत्साहजनक थियो। मलंगवापछि चार दिन खाली थियो। मलंगवापछि बीपी काठमाडौं जाने र चार दिनपछि तानसेनको भेलालाई सम्बोधन गर्ने तय भएर बीपी काठमाडौं आउनुभयो अरू नेता ठाउँठाउँमा जम्मा भएका कार्यकर्तालाई सम्बोधन गरेर तानसेन पुग्ने पूर्वनिर्धारित कार्यक्रम थियो। सबै ठाउँमा सर्वसाधारण जनताको उत्साहजनक उपस्थिति देख्दा बहुदल कसरी हार्यो यो प्रश्न सबैका मनमा उठ्थ्यो।
बीपी काठमाडौंमा आउनुभयो र आफ्नो सूत्रमार्पmत राजासँग भेट गर्ने कार्यक्रम मिलाइदिन आग्रह गर्नुभयो, तर चार दिनसम्म पनि कुनै खबर दरबारबाट आएन। बीपी निराश भएर तानसेनको कार्यक्रममा सहभागी हुन भैरहवा हुँदै तानसेन पुग्नुभयो। बीपीको अनुहार मलिन थियो। खासै नयाँ कुरा गर्नुभएन। काठमाडौंबाहेक पूर्वनिर्धारित कार्यक्रम स्थगित भए।
काठमाडौंको आमसभामा बीपीले भन्नुभयो, ‘तिमी जहाँ उभिएका छौ, तिम्रो पैतालाले टेकेको ठाउँको एक मुठी माटो हातमा लेऊ। त्यसले जे भन्छ त्यही गर।’ कार्यकर्तालाई सम्बोधन गर्दा यस किसिमको निराशाजनक भनाइ बीपीको योभन्दा पहिले कहिल्यै हुँदैनथ्यो।
बीपी निराश हुनुमा राजाको व्यवहार र क्यान्सर रोगले च्याप्दै ल्याउनु अनि डाक्टरद्वारा अब तपाईंको धेरै समय छैन। जेजे गर्नुपर्छ गरिहाल्नुहोस्। बढीमा तपाईंसँग ६ महिनाको समय छ भन्ने भनाइ थियो। यो निराशा र हतास मनस्थितिमा एकपटक भारतीय डाक्टरहरू जसले सुरुदेखि उहाँको स्वास्थ्य परीक्षण गर्ने र उपचार व्यवस्था गर्ने गरेका थिए, उनीहरूसँग सल्लाह लिन बीपी भारत जानुहुने तय भयो। उहाँलाई बिदा गर्न त्रिभुवन विमानस्थलमा किसुनजी, वासु रिसाल र अन्य सीमित कार्यकर्ता पुगेका थिए। विमानस्थलमा पुगेपछि थाहा भयो- एक घन्टा ढिलो छ विमान उड्न। बीपीले भन्नुभयो, ‘मलाई कफी खान मन लाग्यो, कसले खुवाउँछ ? किसुनजीले भन्नुभयो, ‘होमनाथजीले खुवाउनु हुन्छ। हिजोआज उहाँको पत्रिका धेरै बिक्री हुन्छ। उहाँसँग पैसा छ।’ मैले भनें, ‘हो, सान्दाजु, मसँग पैसा छ। कफी खाऊँ। म पैसा तिर्छु।’ हामी कफी सपभित्र पस्यौं।
शिवध्वज बस्नेतलाई बीपीले भन्नुभयो, ‘अरूलाई भित्र आउन नदिनू। कुर्सीमा बस्नासाथ बीपीले भन्नुभयो, ‘होमनाथजी, हिजोआज पार्टीमा म एक्लै छु।’ किसुनजीले तुरुन्त भन्नुभयो, ‘होइन बीपी, हामी सबै सँगै छौं। तपाईं एक्लै हुनु हुन्न।’ कफी आयो। सबै कफी खानमा लाग्यौं। त्यसपछि कुनै कुरा भएन। एकछिनपछि विमानका कर्मचारी आए। समय भयो, जाऊँ भने। बीपी पटना उड्नुभयो। मलाई नै सम्बोधन गरेर बीपीले भनेको कुराले मेरो दिमागमा उथलपुथल भइरहेथ्यो- बीपीले किन त्यसो भनेको होला ? किसुनजी र वासु दाइ कुपण्डोल जाने ट्याक्सीमा म पनि चढें। ट्याक्सीमा चढेको मात्र थिएँ, खल्तीबाट कागज झिकेर ‘ल पढ’ भनेर किसुनजीले दिनुभयो। त्यसमा लेखिएको थियो, ‘अहिलेको अवस्थामा पार्टीले राष्ट्रिय पञ्चायतको चुनावमा भाग लिने भयो भने म पार्टीको कार्यवाहक सभापतिबाट राजीनामा दिएर अलग भएर बस्नेछु।’ पत्र फिर्ता लिनुभयो। त्यसपछि केही कुरा भएन। म बीचमा ओर्लिएँ। उहाँहरू कुपण्डोल जानुभयो। बीपी र किसुनजीका बीच किन यस्तो भइराखेको छ भन्नेबारेमा कसैसँग सोध्ने कुरा थिएन।
बीपीले राजालाई किन भेट्न खोज्नुभएको थियो ? अनि किन किसुनजी त्यति कठोर निर्णयमा पुग्नुभएको थियो कि पार्टीबाटै अलग हुने ? बीपीले राजालाई भेटेर भन्न खोज्नुभएको कुरा थियो, ‘मैले जनमतसंग्रहको परिणाम स्वीकार नै गरिसकें। संविधान संशोधन पनि भइसक्यो। त्यसमा अब मेरो कुनै भनाइ छैन। एउटा सानो कुरा मात्र भयो भने पनि मेरा कार्यकर्ताले चुनावमा भाग लिनेछन्, संविधान संशोधन गर्नु पर्दैन र ऐन कानुनमा पनि संशोधन होस् म भन्दिनँ। राष्ट्रिय पञ्चायतको उम्मेदवार हुन वर्गीय संगठनको सदस्यता अनिवार्य रूपमा लिनुपर्ने, जसमा लेखिएको थियो, ‘निर्दलीय व्यवस्थाप्रति मेरो आस्था र विश्वास छ आदि अपमानजनक जुन कुरा छन्, त्यो हट्यो भने कांग्रेसले आगामी निर्वाचनमा भाग लिनेछ।
अहिले सडकमा चलिराखेको राजनीतिक द्वन्द्व त्यसपछि सदनमा पुग्नेछ, जसरी बेलायतमा संसद्बाटै लेबर र कन्जरवेटिभ भएर पार्टीको जन्म भयो। नेपालमा पनि राजाकै नेतृत्वमा सदनबाट पार्टीहरूको जन्म हुनेछ। अन्यथा मुलुकको राजनीतिमा बाह्य शक्ति हावी हुनेछन् र द्वन्द्वले को कहाँ पुग्छ र मुलुकको अस्तित्व नै रहन्छ कि रहँदैन ? अब मेरो धेरै दिन छैन। डाक्टरले मलाई ६ महिनाको समय दिएका छन्।’ राजासँग भन्ने बीपीका कुरा यति थिए। यही कुरा बाह्य शक्तिलाई मान्य थिएन। पञ्चायत जिताएको उन्मादले सूर्यबहादुर थापा मैमत्त थिए। निर्वाचन आयोगमा उनका मित्र थिए सूर्यबहादुरको नै खेल थियो- वर्गीय संगठनको सदस्यता अनिवार्य लिनुपर्ने। बीपीको राजनीतिक अस्तित्व समाप्त गर्ने प्रपञ्चमा पहिल्यैदेखि नै सूर्यबहादुर थिए।
राजासँग भेट्न नपाएपछि नै बीपी अत्यन्त निराश हुनुभएको थियो। आठ वर्ष जेल र आठ वर्ष नै बाहिर बस्दा नभएको नैराश्य बीपीमा आएको थियो। त्यसपछि नै उहाँ नियतिको खेल भन्न थाल्नुभएको थियो।
बीपी त २०३९ साल साउन ६ गते जानुभयो, तर नियतिको खेल बाँकी थियो। त्यही नियतिले २०५८ सालमा नेपालमाथि नै क्रुर खेल खेल्यो। राजा वीरेन्द्र, रानी ऐश्वर्य, छोरा दीपेन्द्र र नीराजन, छोरी श्रुतिलगायत सबैको त्यही राति रहस्यमय हत्या भयो। यो भयावह हत्या कसले गर्यो ? तत्कालीन प्रधानसेनापति प्रज्वलशमशेरले भने- राजदरबारको सुरक्षाको जिम्मा सेनाको होइन।
सरकारले तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाटको दुई सदस्यीय छानबिन समिति बनायो, तर समितिले यो हृदयविदारक हत्या कसले र किन गर्यो केही पत्ता लगाएन। एउटा साधारण व्यक्तिको हत्याजस्तै यो घटना भयो। अहिलेसम्म यसको रहस्य पत्ता लागेको छैन। दरबार हत्याकाण्डपछि सेनाका दुईजना उच्च पदाधिकारी राजा वीरेन्द्रका सैनिक सचिव विवेकविक्रम शाहले मैले देखेको दरबार र दीपेन्द्रका एडीसी सुन्दरप्रताप रानाले पुस्तक लेखे तर यिनीहरूले पनि यो सनसनीपूर्ण हत्याको रहस्यको कुनै जानकारी दिएका छैनन्।
नेपालको मात्र होइन, विश्वकै निम्ति सनसनीपूर्ण यो हत्याको रहस्य अहिलेसम्म खुल्न सकेको छैन। यसमा बाह्य शक्तिको खेल रहेको धेरैको आशंका छ। बीपीलाई राजाले भेटेर उहाँको सल्लाह मानेको भए सायद यत्रो जघन्य घटना हुने थिएन। भइहालेको भए पनि त्यो रहस्यमय हुने थिएन। षड्यन्त्रको भण्डाफोर हुने थियो। मुलुकको राजनीतिक द्वन्द्व सदनमा पुग्ने थियो। बाह्य शक्तिले सदनभित्रै खेल खेल्ने थिए। बीपी छँदै मुलुकको जटिल राजनीतिको निकास निस्कने थियो। जीवनको अन्तिम समयमा बीपीले प्रयोग गर्ने गरेको नियतिले अर्कै खेल खेल्नु थियो। त्यतिबेला बीपीलाई नभेट्ने राजाको सानो गल्तीको यत्रो भयावह परिणाम भयो। सायद नियतिको खेल भनेको यही होला।