बढ्दै कोसीको सतह
इटहरी : वर्षा सुरु हुनासाथ सप्तकोसी नदीमा पानी कति बढ्यो भन्ने चासो बढ्न थाल्छ। सप्तकोसीमा भएको पानी मापन गर्ने प्रविधिले कति क्युसेक पानी भारततर्फ बगेर गयो भन्ने थाहा हुन्छ। सञ्चारमाध्यममा क्युसेकको हल्लाले टाढाका मानिसमा आतंक सिर्जना गरे पनि किनारका मानिसलाई वास्तै हुँदैन।
कोसीमा बढ्ने पानीले भन्दा पानी बढ्यो भन्दै आउने खबरले धेरै त्रास थप्ने गरेको स्थानीय नवीन तिम्सिना बताउँछन्। ‘हामी कोसी छेउमै बस्नेलाई कोसीको त्यति डर छैन, पानी बढ्छ, घट्छ। तटबन्ध र स्परमा कटान भइरहेको छैन भने आत्तिनुुपर्ने हुँदैछ,’ उनी भन्छन्, ‘तर पानी यति र उति बढ्यो भन्ने हल्लासँगै नेपालभित्र र बाहिर रहेका आफन्तले फोन गर्न थाल्छन्।’ अर्का युवा राजन घिमिरे वास्तविकताभन्दा बढी हुने हल्लाले स्थानीयमा थप डर र त्रास हुने बताउँछन्।
त्यसो त कोसीमा पानीको बहावले वरपरका मानिसलाई त्रास नथप्ने त होइन। २०६५ साल भदौमा कोसीको पूर्वी तटबन्ध भत्काएर कोसी गाउँ पस्दा ३० हजार बढी मानिस प्रभावित बनेका थिए। महेन्द्र राजमार्ग भत्किँदा अवरुद्ध यातायात खुल्न लामो समय लागेको थियो। पूर्वी नेपालको अर्थतन्त्र प्रभावित बनाउने गरी आएको उक्त विपत्तिको घाउ स्थानीयको मनमा लामो समयसम्म रहिरह्यो। त्यसयता बहाव सामान्य बढ्दैमा पनि कोसी किनारका बासिन्दा पानी हेर्न नदी किनारमा पुग्छन्। बाढीले त्यतिबेला असर पुर्याएको बराहक्षेत्र– ९ का स्थानीय भीम गुरुङका अनुुसार अहिले सामान्य बाढीमै कोसीको तटबन्धमा पानी उक्लिन थाल्छ। बालुवाले घटाउँदै क्षमता ‘पहिले घरहरू नै बगाएर ल्याउने बाढी आउँदा त कोसीमा तेत्रो बाढी आउँदैनथ्यो,’ उनले भने, ‘अहिले सामान्य बाढी बाँध छेउमै पानी आइपुग्छ।’
कोसी नदी संसारमै धेरै बालुवा बोक्ने नदीमा पर्छ। धार परिवर्तन गरिरहने नदीले कोसी ब्यारेज उत्तर बालुवा थुपार्दा कोसी ब्यारेज उत्तर बाँधको पानी बोक्ने क्षमता घटिरहेको छ। पानी बग्ने तर बालुवा भने थुप्रने गर्दा ९ लाख क्युसेक पानी थेग्ने ब्यारेज अहिले २ लाख क्युसेकमै ओभरफ्लो होला जस्तो देखिने प्रकाशपुरका बाबुराम कार्की बताउँछन्। बराहक्षेत्र ९ का स्थानीय विष्णु बराल पनि कार्कीको भनाइमा सही थाप्छन्। ‘६० वर्षअघि कोसी गहिरो थियो, अहिले भरियो।’ उनी भन्छन्, ‘अहिले कोसीको सतह बढ्दै गइरहेको छ, पूर्वतिर पनि सरिरहेको छ।’ सन् १९६८ मा ७ लाख ८८ हजार २ सय क्युसेक पानी बगेको तत्कालीन कोसी योजना विराटनगरका सम्पर्क तथा भूआर्जन अधिकृत सन्तोष लिम्बूको भनाइ छ। त्यसयता त्यति धेरै पानी एकै पटक कोसीमा बगेको छैन। कोसीको पूर्वी तटबन्ध फुट्दा एक लाख ६५ हजार क्युसेक पानी बगेको थियो। यो साल २ लाख क्युसेक पानीको बहाव नाघिसकेको छ। कोसीको तटबन्ध भत्केपछि भारतले तटबन्ध मर्मतमा ध्यान दिइरहेको छ। भारतको नियन्त्रणमा पानी
२०११ सालमा नेपाल र भारतबीच भएको कोसी योजनासम्बन्धी सम्झौताले कोसी ब्यारेजको सबै अधिकार भारतलाई दिएको छ। कोसी सम्झौता हुँदा कार्यकारी अधिकार भारतीय पक्षकै हुने, सबै योजनामा उनीहरूले नै लगानी गर्ने र निर्माण गर्ने अधिकार उनीहरूलाई नै छ। परामर्श दिने र अनुगमन गर्ने अधिकार मात्र नेपाललाई छ। तत्कालीन भुआर्जन अधिकृत गोपाल कोइरालाका अनुसार बिहार डुबाउने डरले भारतले कम ढोका खोल्दा तटबन्धमा पानीको दबाब बढ्दै जाँदा सर्वसाधारण आतंकित हुने गरेका छन्। धार परिवर्तन गरिरहने नदीले बालुवा थुपार्दा कोसी ब्यारेज उत्तरतर्फ बाँधको पानी बोक्ने क्षमता घटिरहेको छ।