साउन महिनाको चहलपहल सुरु (फोटो फिचर)
काठमाडौं : आज साउनको पहिलो सोमबार। महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ। सोही विश्वासका आधारमा साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ।
यस दिन विभिन्न शिवालयमा भक्तजनको घुँइचो लाग्ने गर्छ।विशेषगरी हिन्दु नारीहरु हरियो पहिरनमा सजिएर सोमबारको ब्रत बस्ने गर्छन्।पछिल्लो समय हातमा मेहन्दी, नाँडीभरी चुरा र पहेलो र हरिया रङका पोते र हरिया रङका पहिरनमा सजिनु साउने फेसनजस्तै भएको छ।
साउनको सोमबार शिवालयमा दर्शनार्थीको भीड लाग्ने गर्थ्यो। तर यस वर्ष भने कोरोना महामारीका कारण धेरैजसो शिवालय सुनसान छन्। पशुपति मन्दिर पनि सुनसान छ। मन्दिरमा रातीदेखि नै दर्शनार्थीको भीड लाग्ने गर्दथ्यो। कोरोनाभाइरसका कारण पशुपति क्षेत्र विकास कोषले मन्दिर प्रवेशमा रोक लगाएको छ।
भक्तजनहरु पशुपति मन्दिर बाहिरबाटै दर्शन गरी फर्किरहेका छन्। यस वर्ष साउनमा चार सोमबार परेका छन् । पहिलो पटक सोमबारको ब्रत लिनेहरुका लागि यो वर्ष भने शुभ छैन। पाँचवटा सोमबार परेको साउनबाट मात्रै नयाँ व्रतालुले साउने सोमबारको व्रत सुरु गर्छन्। साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ।